स्कटल्यान्डको राजधानी एडिनबराबाट झन्डै ५० किलोमिटर टाढा किर्कल्डी भन्ने बजार छ । त्यहाँ नजिकै कोलटाउन अफ विम्स भन्ने चिटिक्क परेको गाउँ छ ।
एकै नासका ससाना घरहरु, एउटा पुरानो स्कुल, चर्च, हुलाक सहितको सानो पसल अनि गाउँसँगै जोडिएका – टाढाटाढासम्म फैलिएका फाँटहरु । यी फाँटमा कहिले गहुँका बाला झुल्छन्, कहिले तोरी फुलेर पहेँलपुर हुन्छन् । कतै कतै हरिया चौरमा गाइवस्तु चरिरहेका देखिन्छन् ।
स्कटल्याण्डका गोठालाहरु
विलियम लार्ड ६५ वर्षका भए । उनको पुर्ख्यौली पेशा किसानी हो ।
विलियमले हामीलाई भर्खरै जौ काटेको खेतमा लिएर गए । त्यहाँ थिए विलियमका दाजु डोनाल्ड । डोनाल्डका बाउ-छोरा मिलेर ठूलो मिसिनले जौको छ्वाली पलास्टिकले बेर्दै थिए ।
विलियमका दाजु भाइले झन्डै ९ सय विगाह जग्गा्मा खेती र पशुपालन गर्छन् । अनि यत्रो काम सम्हाल्ने चाहि जम्मा ४ जना । यी किसान परिवारको आफ्नै जग्गा भने छैन । उनीहरुले यी सबै जग्गा भाडामा लिएका हुन् ।
डोनाल्डको जिम्मामा भएको खेती देखाएपछि विलियमले हामीलाई उनका गाइवस्तु फारमतिर लिएर गए ।
ठाउँ ठाउँका फराकिला चौरमा खुला छाडिएका गाई गोरुहरु ।
विलियमले सन् २०१० सम्म दूध पनि उत्पादन गर्थे । तर त्यसमा फाइदा नभएपछि उनले मासुको लागि मात्र गाई-गोरु पाल्न थालेका छन् ।
विलियमले गधा पनि पालेका छन् । ठाउँ ठाउँमा हुने प्रदर्शनीमा दाम्लोले बाँधिएका गाइगोरु बाटो लगाएर हिँडाउने काम यी गधाले गर्छन् ।
विलियमले यहाँबाट अझै १ घन्टा टाढा रहेको अर्को गाउँमा हामीलाई लाने भए – टेलिराई नामको गाउँमा उनका भेडावाल साथी भेटाउन ।
ससाना गाउँ र सुन्दर फाँटहरु छिचोल्दै हामी थुम्काथुम्की परेको टेलिराई गाउँ पुग्यौं । गाउँभन्दा माथिका ९ सय बिगाहा पाटनको मालिक चाहिँ मार्क थम्प्सन ।
मार्कका ४ सय जति माउ भेडा अनि २०० जति गाई छन् ।
विलियमको जस्तो मार्कको जमिन चाहिँ भाडाको होइन । उनीसँग ९ सय बिगाह पुर्ख्यौली जमिन छ ।
