डाक्टर खेमराज नेपालका बाजेहरु संखुवासभाको चैनपुरबाट भारतको असम पुगेका थिए । नामको पछाडि झुन्डिएको नेपालबाहेक नेपाल देशसँग खेमराजको नजिकको साइनो छैन ।
खेमराज जस्तै मूल थलो नेपाल भएका मान्छेहरु असम पुगेको एउटै समय छैन र एउटा मात्र कारण छैन । जो जहिले पुगेपनि दुःखबाट भागेर सुख खोज्दै हिँडका कथाहरु भेटिन्छन् ।
सुन फल्ने देशमा …
आकारमा नेपालभन्दा आधा सानो असमलाई विशाल ब्रम्हपुत्र नदीले झन्डै बिचबाट चिरेको छ । यही ब्रम्हपुत्रले बनाएका उर्बर फाँटहरुमा नेपालीभाषीहरु कुना काप्चासम्म छरिएका छन् ।
निकासी 📍
उत्तरी असमको भुटानसँग सिमाना जोडिएको निकासी भन्ने सानो बजार पुग्दा मान्छेहरु नेपाली नम्बरको गाडी देखेर रमाइलो मान्दै गफिन आइपुगे ।
नेपालीभाषी बाहुल्य रहेको यो भेगमा यहाँका आदिवासीहरु समेत नेपाली भाषा र चालचलनमा मज्जाले भिजेका रहेछन् ।
यो ठाउँको नाम डाँडागाउँ । पारि भुटानका डाँडाकाँडा वारि चाहिँ भारत । दिरिङ खोलाको किनारमा वनभोज खानेहरुको भीड थियो ।
विश्वनाथ चारीआली 📍
विश्वनाथ चारीआली बजारभन्दा अलिक पर बालिपोखरी भन्ने गाउँ छ । यही गाउँमा बस्छन् डाक्टर खेमराज नेपाल । ३० वर्ष हाइस्कुल पढाएर अवकाश भएका डाक्टर नेपालले हामीलाई उनको गाउँ डुलाए ।
लोख्रा 📍
तेजपुर शहरबाट उत्तर, अरुणाचल प्रदेशको छेउछाउ लोख्रा भन्ने ठाउँमा असम राइफल्सको क्याम्प छ ।
यो ठाउँ चाहिँ लाहुरेहरुको गाउँ भनेर चिनिन्छ । लाबरघारीमा भेटिए दिपक मुखिया । गएको वर्षमात्र स्कुले शिक्षकको जागिरबाट अवकाश पाएका दिपक मुखियाको लागि नेपाल भन्ने देश कुनै एउटा विदेश मात्र हो । उनकी पत्नी मिनाको लागि भने माइतीघर ।
मिनाका बुबा सानै छँदा सिन्धुलीबाट अरुणाचल आएछन् । सरकारी जागिर पाएछन् । अधिकांश जिन्दगी यतै बिताएर नेपालै फर्केछन् ।