लडेको मान्छे उठ्न सक्छ कि सक्दैन ? जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ कि सक्दैन? निराशाले फतक्क गलेको मान्छे फेरि सपना देख्दै मुर्झाउन सक्छ कि सक्दैन ? यो आशाको कथा हो ।
रोमनका शरिरभरि खोपिएका किरिमिरिङ ट्याटुहरु, केवल नमेटिने मसी मात्र होइनन्, ती त नमेटिने सम्झना पनि हुन् ।
आजभन्दा ३०-४० वर्षअगाडिको धरान । चारकोसे झाडी छेउ भर्खर बिस्तार हुँदै गरेको बस्तीमा खोटाङतिरबाट एउटा इन्डियन लाहुरेको परिवारले खाँबो गाडेको थियो । त्यही परिवारका प्रिय छोरा थिए रोमन राई ।
कलिलो स्कुले जीवनमै रोमन लागु पदार्थको कुलतमा फसे । लाहुरे बुबा परदेशमा पसिना बगाउँदै थिए । आमा घरमा आँशु बगाउँदै थिइन् ।
आमा जङ्गीशोभालाई अहिले पनि विगत सम्झिन मन लाग्दैन ।
नशाकै सुरमा रोमनले आशालाई बिहे गरे । रोमनको जिन्दगीमा आशा लिएर आउने आशा ।
आशा गर्भवती थिइन् । रोमन नशामै थिए । आमाको माया र आशाको आशाले रोमनलाई सुधार गृह पुर्यायो ।
रोमन त सुध्रिए तर आशालाई मनको रोग लाग्यो । कलिलो उमेरमा बिहे गरेर आमा बनेकी । लागु पदार्थ प्रयोग गर्ने श्रीमान्ले विगतमा दिएका हैरानी । अदृश्य चोटहरुले आशालाई डिप्रेसनको बिरामी बनायो ।
रोमन र आशाको जिन्दगीको उतारचढाव यत्तिमै सकिएन । रोमनलाई एच आइ भि संक्रमण देखियो ।
बितेका २ दशक यी जोडिले जिन्दगी बाँच्न सिके । हार्न होइन जित्न सिके ।
कुनै समय नशाको तालमा खुकुरी नचाउँदै हिँड्ने सडकमा रोमन मजदूर भएर ठेला ठेल्दै हिँडिरहँदा उनका अहम् हरु शुन्यमा बिलाए ।
अहिले रोमन धरानमा सम्मानित नाम बनेका छन् । उनी एच आइ भि एड्स संक्रमित र लागु पदार्थ दुर्व्यसनीहरुको लागि काम गर्ने संस्था चलाउँछन् ।
कुनै समय कलहले गाँजेको यो परिवार यतिखेर खुसी र सुखी परिवार भएको छ । आशाले डिप्रेसनलाई जितेकी छिन् । बाँच्ने रहरहरु बढ्न थालेका छन् ।