जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।
नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।
उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।
त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, त कोही तराई झरे ।
तराइ र उनको जहानलाई घर छोड्न मन थिएन । तर रोगले थलिदै गएकी श्रीमती र गल्दै गएको उनको शरीरले हार खाए त्यसपछि चरा जस्तै गुँड छाेडेर छोराछोरी पछ्याउँदै उनीहरू पनि तराई झरे ।
बिहे गरेकी कान्छी छाेरी उर्मिला अचेल गाउँदेखि टाढा बस्छिन् । उनी सपनामा मात्र माइत पुग्छिन् ।
“खालि सपनामा माइत पुगेकाे देख्थें । फाेटाे हेरर छक्क परें । अब त आफू हुर्केकाे खेलेकाे घर बाघ भालु बस्ने ठाउँ भएछ ।” उर्मिलाले माइत घरकाे फाेटाे सुम्सुम्याउदै तप्प आँशु खसालिन् ।
कहिल्यै मामाघर नपुगेका छोराछोरीलाई उर्मिलाले फाेटाेबाटै मामाघर चिनाइन् ।
‘तराइ’ले गाउँका आफन्तलाई “घर कस्तो छ ?” भनेर सोधिरहन्थे रे । अनि आफन्तले खिचि पठाएको फोटो हेरेर भक्कानिन्थे रे । घर छोडेकाे दशकपछि तराइ तराईमै बिते ।
No responses yet