के हिउँद,के बर्खा ?
कहिले शहर, कहिले खर्क,
समय दौडिरहेछ, तिमी नपर्ख !
उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ ।
जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् ।
सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् ।
घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे जाउलाे खाएर उनीहरू घरबाट निस्किए ।
उनीहरूका गुरु हरि रोकाया र साथीहरू मैदानमा आईसकेका छन् ।
मैदानबाट टोलि बाँडियो । कोही उर्थु पुग्ने गरि दौडिए । कसैले राजासिम मैदानमा फन्को लगाए ।
टाेलिमै मिसिएर दाैडिरहेका गुरु हरि राेकाया एकैछिन् राेकिए -‘जाडाे गर्मी दुवै माैसममा ट्रेनिङ दियाे भने उनीहरु जस्ताे समयमा पनि दाैडिन सक्छन् । त्यै भएर यहाँ हिउँ परेकाे ठाउँमा दाैडाएकाे ।’
आफैं दौडन आएका प्रकाश कठायतले साथीहरुलाई कसरत पनि सिकाउँछन्। दौडिनकै लागि उनी घर छोडेर सदरमुकाम बस्छन् ।
राममायाकी दिदी सुनमाया बुढा अन्तर्राष्ट्रिय धावककाे रुपमा चिनिन्छिन् । दिदी दौडिएर देश विदेश पुगेको देख्दा उनलाई पनि दौडिने साहस जाग्यो । त्यही साहसले उनी देशभरि विभिन्न प्रतियाेगितामा सहभागी भईन् । उनको पोल्टामा सुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका जीतहरुको तक्मा छ ।
छाेरीहरु राममाया र सुनमायाले विजयको प्रमाण पत्र बाेकेर घर फर्किँदा आमा खुसी नहुने कुरै भएन।
‘याे दगुड्न्या काम राम्माे हाे कि नराम्माे हाे माेकन था नाई । त्यइपुनि छाेरीहरुले गाउँकाे, आमा-बुबाकाे, गाविसकाे संसारैभर नाउँ राखिन् भनेर खुसी भयाँ हुँ ।’-आमा मुनकली बुढा उज्यालाे अनुहारमा खुसी पाेख्छिन् ।
No responses yet