जुलाई महिनाको घमाइलो दिन, लन्डन शहरको पूर्व तिरको एउटा कुनो सुनसान छ । मान्छे र मोटरका हल्लाखल्ला खासै सुनिँदैन । यो आवासिय क्षेत्रको एउटा घरमा नेपालबाट फरक संयोग र फरक समयले डोर्याएका सपनाहरु बास बस्न आइपुग्छन् ।
सिराहाका जयनारायण यादवका बुबा छोरो पढाउन पनि नसक्ने गरिब थिए । जसोतसो १२ सम्म पढेका जयनारायणको मनमा डाक्टरी पढ्ने रहर थियो बुबाको मनमा साउदी अथवा कुवेत ।
ऋण बोकेर बेलायत आएको एक महिनामै जयनारायण कानुनले तोकेभन्दा धेरै काम गरेको अभियोगमा नेपाल फर्काइने भए । तर जयनारायणले कानुनी लडाइँ लडे र जिते पनि ।
इटहरी बसेर मास्टरी गरिरहेका उदयपुरका रमेश कटुवालले एक दिन चटक्कै देश छोड्ने निधो गरे । एक वर्ष भयो यता आएको । कहिल्यै विदेश जाँदिन भनेर बसेका उनलाई अन्ततः निराशाले लखेट्यो ।
निला आकाशमा सेता धर्का बनाएर उडिरहेका हवाइजहाज हेरी टोलाइरहँदा मन उडेर पुगिदन्छ उदयपुरको हँडिया गाउँमा ।
दोलखाका रेज्याक खड्का आएको ४ महिना हुँदैछ । भर्खरै दोकानबाट राइस कुकर किनेर आउँदै थिए ।
ललितपुरको वालकुमारीमा डान्स स्कुल चलाएर बसेका रेज्याक उनकै शब्दमा भविष्य बनाउन युके आएका हुन् ।
पासपोर्टमा पढ्ने भिसा लगाएर नेपालबाट आएकाहरु लन्डन शहरमा जताततै भेटिन्छन् – लगभग उस्तै उस्तै कथा बाँचिरहेका । झिलिमिलि शहरमा, अलिअलि थकान, अलिअलि निराशा र अलिअलि सपना बोकेर हिँडिरहेका मनहरु ।