जिन्दगीका बाटाहरु – विद्या चापागाई

जिन्दगीका बाटाहरु – विद्या चापागाई – बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको रस पाएर हुर्केका साग । बुवाले दूध बेचेर र आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो ।

जग्गा जमीन प्रशस्तै थियो । शहर नजिकै थियो । तर खै किन हो हाम्रो काँठ असाध्यै पछि परेको थियो । मेरो जिन्दगीका आदिम बाटाहरु बुवा दूधको क्यान बोकेर तर्ने वागमतीका घाटहरु थिए । अनि थिए आमाले साग बेच्ने बौद्धका गल्लीहरु । हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार त काठमाण्डूको आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि नक्सामा थिएन ।

***

बुवा अहिले ७८ वर्षको हुनु भयो । केही दिन पहिले मात्र अस्पतालको ५ दिने बसाई पछि आफैंले एम्बुलेन्समा भाँ पुँ भाँ पुँ गर्दै घर पुर्याएको थिएँ । जब माइतीबाट फोन आउँछ मन चिसो हुन्छ: कतै मेरा बा चिसा भए कि ?

***

खै कस्तो कस्तो लाग्छ । हाम्रो समाज राजनीति र अर्थव्यवस्थासँग हामी गाँसिएको जिन्दगी देख्दा ।

जुम्लामा अघिल्लो वर्ष एकाविहानै एकजना जर्मन पर्यटक भेटिएका थिए । हामी विहानीका खाजामा फापरको रोटी खाँदै थियौै । ती पितृ उमेरका वृद्ध एक जना कलिला भरियालाई साथी बनाएर ताप्लेजुङदेखि हप्तौं लगाएर हिँड्दै आएका रहेछन् । उमेर चाहिँ मेरै बाको आसपासको । मेरा बा जसलाई मैले केही दिन अगाडि भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्समा पाटन अस्पतालदेखि बौद्ध घर पुर्याएकी थिएँ । ती जर्मन बा दार्चुलासम्मको यात्रामा हिँडेका थिए । उनको आजको बास गुगल म्याप्सले समेत नदेखाउने पहाडको कुनै कन्दरा थियो । उनी होटलका साउजीसँग ७ मिनेट जति ढिलो गरिदिएकोमा गुनासो गर्दै थिए ।

***

हामीलाई बाँच्नको लागि वहाना मात्र चाहिने हो त?  हामी आफ्ना भूगोल राजनीति र सामाजिक परिवेशलाई दोष दिएरै आफ्ना जिन्दगीका असफलताहरुलाई स्वीकार गरिरहेका छौं त ? यो प्रश्नले मलाई भित्र छातिमा हान्यो जब मैले चन्द्रवीर ओलीलाई भेटेँ ।

***

नाम नै मन पर्यो
अगाडि चन्द्र पछाडि वीर । क्या सुन्दर नाम उनको । थरमा नजाउँ होला । फेरि राजनीतिक सुगन्ध आउला ।

कस्सम । मलाई उनी चन्द्रमा जस्तो पनि लाग्यो, वीर त उनी थिए नै ।

उनकै सेरोफेरो उमेरका मेरा बा लाई म भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्समा घर लाँदै थिएँ । उनी भीरका ढुङ्गा घनले ड्वाङ ड्वाङ हानेर फुटाउँदै थिए ।

***

मेरा बा महान् हुन् । उनले मलाई पढाए ।

दूध बेचेरै पढाए । काठमाण्डूसँगै टाँस्से पनि हाम्रो काँठ भनेको असाध्यै पिछडिएको ठाउँ हो । पत्रकार किरण भण्डारीका काँठका टीप्पणीबारे छुट्टै एउटा कथा लेखौंला कुनै दिन ।

तर मेरा बा, म हुर्केको परिवेशका क्रान्तिकारी नै हुन् । त्यो परिवेश जहाँ छोरीको न्वारनमा राख्ने नाम भन्दा पहिला उसलाई दिने दाइजोको चिन्ता हुन्छ बा-आमालाई । त्यही परिवेशका बाले मलाई म क्याम्पस पढ्न जाँदा झिसमिसेमै वागमतीको पुल कटाइदिन्थे । म क्याम्पस जाने बस पकड्न जान्थेँ । बा पानी मिसाएको दूध बेच्न शहरियाहरुको ढोकामा जान्थे ।

मैले मेरी आमाबारे किन केही लेखिन ? मेरी आमा यति महान् छिन् कि उनलाई बासँगै लेखियो भने उनीमाथि अन्याय हुन्छ । आमाबारे मात्र अर्को कथा लेख्छु ल एकदिन?

***

थाछ मलाई म धेरै बहकिँदै छु । मैले लेख्न खोजेको विषय ‘चन्द्रवीर ओली’ हो । जो चन्द्रमा जस्तै हँसिलो थ्यो र जो वीर थियो ।

***

चन्द्रवीर ओलीका पछिल्ला सम्झनामा रोल्पा आउँछ । उनी जन्मेको ठाउँ । त्यसो भन्दै गर्दा पनि हामीले धेरै खोतलेनौं उनका भीराला रोल्पाली विगतहरु । फगत उनले आमाको मात्र नाम लिए : ‘आमा वाहिरको काम गर्नुहुन्थ्यो । खाना पकाउने घरको काम गर्ने म गर्थेँ । ‘ हामीले कोट्याउँदा पनि कोट्याएनौं त्यतिखेर उनका बा के गर्थे भनेर ।

उनी गए इन्डिया । पहाडै पहाडको देशबाट उनी गए इन्डिया र इन्डियामा झेले अनगिन्ति पहाडहरु । अरे बाबा बीस एक्काइस वर्षको उमेरमा इन्डिया गएको मान्छे ४८ वर्षसम्म उतै हरायो । गौतम बुद्ध ज्ञानको खोजिमा कति वर्ष पो इन्डिया गएथे कुन्नि?

यहाँका पहाडहरुमा पहिरो खस्थ्यो?  यहाँका पहाडहरुमा जिन्दगीलाई डोर्याउन साध्यै गाह्रो हुन्थ्यो । त्यहिँ पर भारतका पहाडहरुमा स्याउका बोटहरुसँग मित लगाएर उनले जिन्दगीका उर्बर ३ दशक बिताइदिए ।

पहाडले पनि कस्तो विभेद गरेको होला !

***

भारतमा स्याउका बोटहरुसँगको एउटा लामो प्रेम कथालाई उनले एकदिन चटक्कै बीट मारिदिए । फर्की आए आफ्नै देशका उजाड पहाड । र त्यै उजाड पहाडकी ‘फूल जस्ती’ खुमालाई बिहे गरे ।

४८ वर्षको बुढाले २० वर्षकी खुमालाई विहे गरे । खुमा अन्धी थिइन् । बाले अर्की स्वास्नी ल्याए पछि हेलाँ गरेका थिए । मामाघर बस्थिन् । आँखा नदेख्ने भएकाले काम सघाउन नसक्ने । आफन्तले चन्द्रवीरको ‘टाँसो लगाइदिए’ ।

***

फेरि मेरै घरको कथा

फर्की आएँ म आफ्नै घरमा ।

मेरा बा काँठका । मेरी आमा मधेसकी । पछिसम्म पनि मेरी आमालाई गाउँलेहरुले ‘मदिसिनी’ भन्थे । आमा रौतहटकी हुनेखाने घरकै थिइन् अरे । यता बाका पहिलेकी श्रीमतीबाट वच्चा नभएपछी अर्की बिहे गर्न खोज्दै रैछन् । खै कताकताबाट के कनेक्सन भयो । मेरी आमालाई रौतहटका जिमिन्दारहरुले काठमाडौं पठाइदिए । १४ वर्षकी मेरी आमाको ३४ वर्षका मेरा बासँग बिहे भयो:  वच्चा पाइदिनको लागि । अनि १४ वर्षकी मेरी कलिली आमालाई एउटा बिहे भइसकेको मान्छेसँग बिहे गरिदिने कारण चाहिँ दाइजो धेरै दिन नपरोस् भनेर रैछ ।

***

खुमाले खुलेर बताइन् बाध्यताले बिहे गरेकी हुँ चन्द्रवीरलाई भनेर । चन्द्रवीर हाँसेर सुनिरहे ।

***

लगभग ३ वर्ष अगाडि चन्द्रवीरले अनौठो सपना देखे । जिन्दगीले ७२ वर्ष काटिसकेको थियो । खुमाले जन्माएका सबै सन्तान अन्धा थिए कान्छो बाहेक ।

***

बाटोको कथा
होलसेलमा खमारी भन्छन् त्यो गाउँलाई । तर चन्द्रवीरको घर भएको भित्तोको कुनै नामै छैन । गाउँ भए पो नाउँ हुन्छ ।
चन्द्रवीरको घर जाने ठाउँ खोज्दै हामी दुइ फेर राजमार्गमा ओहोर दोहोर गर्यौं । जंगलको माझमा गाउँ होला जस्तो ठावैं थिएन । सोधखोज गरी पत्ता लगायौं । एउटा ताजा बाटोबाट जंगलभित्र छिर्यौं ।

***

त्यो बाटोमा केही महिनाअघि मात्र डोजर लागेको रहेछ । चन्द्रवीरले एक्लै खनेको बाटोमा ।

चन्द्रवीरले एक्लै खनेछन् बाटो । विल्कुल एक्लै । अनि हरेक दिन दुई वर्ष लगाएर खनेछन् पहाड र बनाएछन् बाटो । घरका अन्धा सन्तानहरु सजिलै हिँडडुल गर्न सक्लान् भने र

दाह्री काँसका फूल जस्ता छन् । दाँतहरु पहिरो गइसके । ओहो मुस्कान चाहिँ सुनाखरी जस्तो । अझै पनि दिनदिनै बाटो रेखदेख गरिरहन्छन् । खसेका ढुँगा माटा पन्छाइरहन्छन् ।

***

मलाई कहिले काहिँ लाग्छ हामी असाध्यै भौतिक भयौं । असाध्यै केन्द्रीकित भयौं कि ।

रानीपोखरीको संरचना कुन स्वरुपमा बनाउने ? काष्ठमन्डपमा कस्ता काठ हाल्ने ? काठमाडौंका बाटाघाटाका खाल्डाखुल्डी कसले पुर्ने । यहाँको प्रदूषणबाट बच्न कुन गुणस्तरको कस्तो मास्क प्रयोग गर्ने? मधुमेहका रोगीले कुन समय मर्निङ वाक गर्ने ? सडक विस्तार गर्दा छेउका शिरिषका रुखहरु काट्ने कि नकाट्ने?

यस्ता वहसहरु भइराख्दा चन्द्रवीर ओली के गरी बसेका होलान् ?  शुक्रबारको साँझमा मातेका ट्वीटहरु टाइमलाइनमा आइरहँदा चन्द्रवीर ओली घर आइसके होलान् कि जंगलमै होलान् । वरपरको निर्जन जंगल र विहानदेखि वेलुकासम्म एकोहोरो कराउने चरा र बास्ने रातेका आवाजहरु उनलाई काठमाडौंको प्रदूषण जस्तै पो लाग्छन् कि !

***

ग्रहदशा ठीक छैन भन्थे चन्द्रवीर । उनका जिन्दगीका केही महत्वपूर्ण बाटाहरुलाई यस्तै ग्रहदशा बताउनेहरुले मोडिदिएका थिए । उनी पनि खुशि थिए आफू हिँडेको बाटोमा । ‘७५ सालमा मरिन्छ कि क्या हो’ भन्ने चन्द्रवीरलाई ७५ सालको अन्तिमतिर एक फेर भेट्न जान मन छ ।

***

उनको आँगनसम्म भाँ पूँ भाँ पूँ गर्दै एम्बुलेन्स पनि पुग्दैन होला

***

मेरा बा । चन्द्रवीर ओली ।

34 thoughts on “जिन्दगीका बाटाहरु – विद्या चापागाई”

  1. Sarhai ramaro di
    Great job
    Keep it up
    Dd le bbc kin xodnnu vayo hola jasto lagthyo?
    Jhan man xune programme din po rahex
    Its awesome di.

    Reply
  2. अत्यन्तै मार्मिक जिबनी समेट्नु भएको छ दिदी बाकि पनि शेर गर्दै जानू होला ।

    Reply
  3. नारायन श्रेष्ठले बिबिसि छाेड्दा र बिध्या चापागाइ अाउदाका खल्लाेपना अाज सम्म अाईपुगदा याे परेर मात्र मान्छे मान्छे भईन्ने रहेछ दुबै याेद्धाबाट सिकेकाे छु राम्राे

    Reply
  4. मुना मदन का जस्तै तपाईंका ती वास्तविक गहिराई मा ती सेता कोरा कागज मा कोरिएका हुन या ती भिडियो सारै मन पर्ने।।
    हाल ती साना ठुला सपना पूरा गर्न खाडि दुबै देखि।

    Reply
  5. हजुर याे कार्यक्रम म सधै youtube मा हेर्ने गर्छु । एकदम राम्राे लाग्छ । जति latest भयाे त्यतिनै राम्राे । अझै अाउने दिनमा यस्तै कथा ल्याउँदै गर्नुहाेला । तपाइहरुलाइ थप कार्यसफलताकाे सुभकामना छ ।

    Reply
  6. दिदी हजुरको लेख सबै पढ़ें सानो भिडीयो रेकर्ड सबै हेरें चन्द्र बहादुर त एक उदाहरण र साहसी पात्रमात्र हुन यस्तै पिडा बेदना ग़रीबी र बेथितीमा रूमलिएका दिन हिन पात्रहरू धेरै पाँउछन समाजमा तर कस्ले बुज्ने ती दुखि मनहरूको पिडा बेदना अनि कस्ले लगाउने चहराइरहेको ति पिडीत र दुखि आत्माहरूको घाउमा मल्हम, अनि कस्ले दिने प्रोत्साहन, हौसला अनि सम्मान ती साहसी आत्माहरूलाइ हो सबै आ आफ्नै पिडा र आ आफ्नै यथार्थ लुकेका हुन्छन तर पनि जब मानिस केहीमात्र सिँढी चढ्छ त्यसपछी आँफुलाइ आफ्नो धरातललाइ बिर्सिन्छ सायद यसैको पराकास्ठा भित्र रूमलिएका छौ हामी नेपाली त्यसैले प्रत्येक कुना कुनालाइ बुज्नु र पढ्नु आजको आबस्यकता हो र त्यहाँ रहेका बिबिधता र मानबिय दैनिकीको यथार्थ बस्तुस्थिति बुज्नुपनि ल !!!
    खुशीलाग्यो म धेरै टाढा छु हजुरका प्रोग्रामहरू अन्य सबैका ज्ञान गुन र राजनितीका कुराहरूको अध्ययन र प्रतिकृया दिने पनि र कहिले काँही आँफुलाइ पनि मजाक यात्रा र पात्र सम्झी टुइटरमा पनि रमाउने गर्छु

    Reply
  7. मन छोयो । आँशु आयो । यो निर्दयी संसार । thank you for sharing.

    Reply
  8. ज्यादै सरल भषामा तर अति मार्मिक शब्दाहरुले भरिएको तथ्य कथा । म त कता कता भावुक नै भएछु भन्या अनायसैमा । धन्यबाद प्रस्तोता बैनीलाई ।

    Reply
  9. Bidhya Didi, how can u be soo flawless. Tapai ko kaam haru here padhhe paxi malai xuttai jaaagar aauxa… ma nikai prabhabit chu haru dekhi. Tapai maa ma aafulai dekhxu. You are my inspiration.

    Reply
  10. Hajurka maankari kiranharu durdarajka alpak dhokaharu sammako yatrama nirantar ta rahirahos ! Dd prati suvekshya prakat gardaxu!! Sabai katha saga yee nayanharuko vet vayo katha vitra ka real character pauda maan kata kata bechain ko mahasus gardaxa!

    Reply
  11. विद्दया चापागाइँलाइ धेरै धेरै धन्यवाद । म अाफुले सकेको सहयोग गर्न चाहन्छु उहाँको परिवारलाइ । कृपया उहाँहरुसँग सम्पर्क गर्नको लागि सहयोग गरिदिनुहुन्छकी ?

    Reply
  12. हिजो भिडियो हेरेँ। प्रेम, खुशी, साथ, समर्थन, वाध्यता, गरीबी, समर्पण, योजना, चिन्ता, दूरदर्शी.. मैले त अनेक भेटें। हेर्लान् जस्ता नजीकका साथीहरूलाई फर्वाड गरेँ। चचन्द्रवीरका बारे ऊसँग लामै छलफल गरेँ र हामी आँफैलाई दाज्यौँ। हामीलाई असफलल र भौतिकवादी पायौँ। आज फेरी ट्वीटरमा नोटिफिकेसन आयो। यो कथा उठ्ने बित्तिकै मोबाइलमा पढेँ। गलत हो तर फेसबुकमा पनि अडियो लाईभ गरेँ।

    https://www.facebook.com/rupranoo/videos/10211604867658084/

    Reply
  13. अतिनै गहकिलो प्रस्तुति। गर्व लाग्छ मेरो पहिलेको विद्यार्थी सहपाठी देखेर। पहिले देखिकै स्पष्ट बोल्ने र बक्तृत कला भएको साथी लाई आज धेरै सफलता को कामना।

    Reply
  14. Speechless !!!
    दिदी, सम्बाेधन सायद यही ठीक हाेला ।
    पत्रकारको मन कति कठाेर हुँदाे रहेछ है, अाँफुले कथा देखाएर, हेर्नेलाइ रूवाएर, अाँफु हाँसेरै अन्तर्वार्ता लिनुभो है… चन्द्रवीर स्यालुट !!!

    Reply
  15. धेरै चाख लाग्दो कथा, हाम्रो जस्तो समाज जहाँ अझै पनि अन्धविश्वास र भाग्यवादमा नै चलिरहेको छ । यस्ता चेतनामा रमाउने समाजका लागि चन्द्र वीर बा को साहस एकदमै प्रेणादायी बन्नेछ ।

    Reply
  16. जब कथा हेर्छू हेरेको हेरेइ हून्छू।ढक ढक गरेको मूटू ले पनि कथा हेरिरहेको झै लाग्छ।

    सफलताको जिज्ञासा भेटियोस तर नमेटियोस।
    शिबराम आचार्य , दक्षिण कोरिया

    Reply

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply