कथा खोज्दै हिँडेका हामी केही दिन यता धनकुटामा छौं । धनकुटा सुन्दर छ ।

असाध्यै गर्मी हुने – समुद्री सतहबाट २५० मिटरको उचाईका बगर र चैते धान फल्ने – ताता फाँटहरुलाई तमोर नदीका छालहरु जिस्काउँदै ओरालो लाग्छन् । कहिल्यै गर्मी नहुने लगभग २२ सय मिटरका टाकुराहरु बङ्गालका खाडीबाट आएका बादललाई बाटो देखाउँछन् ।

***

भानु चोकका भानुभक्त उखरमाउलो गर्मीमा ‘बधु शिक्षा’ र छाता-साता हुर्याइदिएर बाटैबाटो उकालो लाग्छन् । पुग्छन् भेडेटार र बनिदिन्छन् ईमानसिंह चेम्जोङ । अनि उभिन्छन् बिच सडकमा बादल ओढेर ।

विराठनगरका माडेहरु, विहारका व्यापारीहरु, भोजपुरबाट गरिबीले लखेटेका चेलीहरु, पेट्रोल धुवाउँदै धरान भेडेटार गर्ने मारुती कम्पनीका डब्बाहरु, भेडेटारमा ठमेल जस्तै छ्यास्छ्यास्ती खुलेका चम्किला होटेलहरु अनि जिन्दगीका गर्मी र चिस्याहनरुको कहिँ कतै सम्बन्ध पो छ कि? त्यो चाहिँ पिएचडि एसोसिएसनको कार्यसमितको जिम्मामा भो ।

***

भेडेटारबाट बाटोलाई कता जाउँ कता जाउँ हुन्छ । बाटो जतनले भाँचिन्छ ।  एउटा बाटो लागिदिन्छ पश्चिम महाभारततिर – गुराँसका हाँगा समाउँदै । अर्को बाटो लागिदिन्छ पूर्व राजारानी, बादललाई पछ्याउँदै । अर्को बाटोचाहिँ बाटैबाटो ओरालो लाग्छ मुलघाटतिर । जहाँ भेटिन्छ तमोर । जहाँ भेटिन्छन् तमोरका बेस्ट फ्रेन्ड सङ्गीनीहरु बारै याम बटुवालाई फलाहार बेचिरहेका । याम अनुसारको सुन्तला उखु आँप अम्बा गोलभेडा गाडीका झ्यालसम्मै ‘होम डेलिभरी’ हुन्छन् । मन लागे किन्नुस् । नलागे तमोरका सङ्गीनीहरुको हिउँजस्तै मुस्कान सित्तैमा लानुस् ।

अनि एकछिन उकालो लागेपछि पुगिन्छ धनकुटा बजार । धरानदेखुन् नै बाटो सिनित्त चिप्लो छ । ब्रिटिशले बनाइदिएका रे । पूर्वका बलिया पाखुराका कमला मुटुहरु ओसार्न । जसरि ओसार्थ्यो रे धरानका ढुङ्गाहरु कुनै जमानामा छुकछुके रेलले कोशी ब्यारेज बनाउन ।

***

धनकुटा बजार रङ्गीन छ । रङहरुमा पनि उत्कृष्ट रङ सेतो । जसरी विद्यालयमा विज्ञान पढाउने ठाकुर सरले सातै रङका धर्काहरु भएको यन्त्र घुमाउँदा देखिन्थ्यो सेतो । जसरी हिउँ हुन्छ सेतो । जसरी विधवाले जिन्दगीभरको प्रेम बोक्छिन् सेतो । जसरि धनकुटा वरपरका गाउँमा डल्लै भेटिने आठपहरिया जातिका आइमाइहरुले लगाउँछन् सेतो । जसरी रङ फ्याक्ट्री भन्दा पहिले माटो बनिदियो सेतो र भइदियो कमेरो । 

त्यस्तै कमेरोले पोतेका घरहरुले तेर्सै ढाकेको डाँडा थियो धनकुटा सर्लक्कै । यो लगभग ५ वर्ष अगाडिको कुरा हो । जतिबेला म पहिलोपटक आएको थिएँ धनकुटा । 

अझै खत्तम त भइसकेको छैन । तर यहाँका पुराना बजार पुराना मान्छे पुराना घर सप्पै बिस्तारै मक्किसके । काठका सेताघरहरु भत्किँदैछन् । बजारका पुराना नेवारहरु बसाइँ सर्दैछन् । 

टिलिक्क टल्किने निला सिसा राखिएका सलाइका डब्बाजस्ता घरहरु ठडिन थालेका छन् । अनि पहिलो तलामा चाइनिज कपडाका फेन्सी पसल । दोस्रो तल्लामा कतारबाट आएको रेमिटेन्सको दलाली गर्ने बैंक । तेस्रो तलामा रेष्टुेरेन्ट एन्ड बार एन्ड होटेल एन्ड लज । 

सरकारी कार्यालयहरु पुरानै स्वरुपमा छन् प्राय । कारागारले पनि पुरानै रङ्ग ढङ्ग थुनेर राखेको छ अहिलेसम्म । थाहा छैन कहिले उन्मुक्तिछन् ती रङहरु । अनुदान र हतारको बाध्यतामा देशैभरि बनिरहेका प्रहरी र न्यायालयका भवन त सलाईकै डब्बाको स्वरुपमै पो हुन् कि । 

यो नगरपालिकाको चलनले पनि पहाडलाई त गर्नुसम्मै गरेको छ । घन्टौं हिँडेर जानुपर्ने गाउँ नगर । पाखाबारीमा लगाएका मकै जोगाउन दिनभरि गुलेली बोकेर बाँदर रुङ्नुपर्ने ठाउँ नगर । बगर भए नगर । भीर भए नगर । अत्ति नगर न नगर, प्लीज । 

यही धनकुटा नगरको एउटा गाउँ पुगेका थियौं । दिउँसो ३ बज्नै लागेको थियो । चिउरीबोटे माइला पेरुङ्गोमा सुङ्गुरको पाठो बोकेरे असिनपसिन गाउँ झरिरहेका थिए । बिहीबारे हाटमा गएका थिए । विहान ३ बजे उठेर । पाठो बिक्री भएन । खल्तीमा सुक्को आम्दानी भएन । पसीनाले नुहाउँदै निधारमा पेरुङ्गोको नाम्लो लगाएर उनी फर्किए । अंश लिएर तमोर छेउतिर घरजम गरिसकेका थिए । बाटोमा अर्का भाइसँग बस्ने आमाको घर थियो । विहान ३ बजेदेखि दिउँसो ३ बजेसम्मै भोकै चिउरीबोटे माइलाले आमा सम्झिए । आमासँग जाँड मागे । आमाले स्नेहको जाँड दिइन् । माइलाको पसिना ओभायो । अनि उनी तमोर ताकेर ओरालो लागे । 

***

धनकुटमाथि हिले छ । हिले अझै हिलो छ । असारे अलकत्राले सबै बाटोलाई निगाह गर्न पाएका छैनन् । बाटो छेउका अम्रिसो घारी ओसिला छन् । बादलको आइजाइ भइरहन्छ । मानौं हिलेले कुनै जमानामा बादलसँग प्रेम गरेर धोका दिएको थियो । बादल आइरहन्छ हिलेलाई छोप्न । कहिलेकाहिँ रोइदिन्छ । पानी पर्छ । अम्रिसो घारीहरु कराउँछन् । झ्याउँकिरी कराउँछन् । हिले हिलो भइदिन्छ । तोङ्बा चोक छेवैकै सुब्बा होटलको काठको धुरीबाट बङ्गुरका सेकुवा पोेलेका धुवाँ पुत्पुताउँछन् । तल तोङ्बाबाट बाफ आउँछ । वर्ल्डकपमा कसले जित्छ कसले हार्छ । सुब्बा दाइ चुलोमा असाध्यै मीठो सेकुवा पोलीबस्छन् । माथि टिनको छानामा असार मादल बजाइरहन्छ ।  

हिलेबाट हेर्दा – धनकुटा
सुब्बा सेकुवा हिले धनकुटा

हिलेमाथि जोरपाटी, सिधुवा । जतिपटक यात्रा गरे पनि कहिल्यै धीत नमर्ने ठाउँ । दायाँ बायाँ आकाश । पाखा बारीहरु । पहाडको टुप्पा टुप्पा हिँडेको बाटो । छिनछिनमा बाटो ढाक्ने बादल ।  दायाँ बायाँ इलमीहरु आलु खनिरहेका काउली रोपिरहेका हलो जोतिरहेका । तरकारी ओसारिरहेका बुलेरो गाडीहरु । क्यानका क्यान  दुध ओसारिरहेका खच्चडहरु । 

***

आज शनिबार । धनकुटा बजार कर्फ्यु लागे जत्तिकै सुनसान हुँदो रहेछ । पसल दुकान सबै बन्द । बाटोमा अलिअलि मान्छेहरु । कारागारको पुरानो सेतो घरको ढोकामा सेन्ट्री बसेर मायालुसँग मोबाइलमा माया साटिरहेका प्रहरी जवानहरु । अदालत अगाडि नेपाली कागजमा लेखिएको व्योहोरा पल्टाइरहेका एउटा मगज खुस्केको भूतपूर्व लेखनदास । सेता पुराना घरहरुमा छिर्ने बित्तिकैको फराकिलो कोठामा बत्ती कातिरहेका कपासजस्तै केश भएका बुढी आमाहरु । अनि बजार तन्किँदै जाँदा दायाँ बायाँका बाटो च्याप्प समातेर बनेका नयाँ सिमेन्टीका चम्किला घरका सटरमा भट्टी खोलेर बसेका चेलीहरु मोबाइल खेलाउँदै । जसलाई लखेट्यो गरिबीले र बोलायो धनकुटाले । जसका प्रेयसीलाई लखेट्यो गरिबीले र बोलायो कतारले । 

केही स्थिर चित्रहरु – धनकुटा

Join the Conversation

1 Comment

  1. आफैलाई पढ़ेको अनुभव गर्न पाइयो, धन्यवाद सर

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply