हरेक मान्छे एउटा कथा – विद्या चापागाई – एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो । सिन्धुपाल्चोक सेलाङका गुरुङबा मरेर गए । गाउँमा विजुली बालेरै छोड्छु भन्थे । आजकाल गाउँ झलमल्ल छ । गुरुङबाको त्यो सपना कत्ति मिठ्ठो । सिराहामा भेटिएकी थिइन् सानी नानी । साउदी पुगेका बाबाले रंगीन टिभी ल्याउँछन् भन्थिन् । त्यो आश कत्ति मिठ्ठो । कथा त कत्ति कत्ति ।

***

तपाईं कथा लेख्नुहुन्छ ?
होइन यसरि सोधौं !
तपाईं डायरी लेख्नुहुन्छ ?
मिलेन ……..
तपाईको अहिलेसम्मको जिन्दगीलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
प्रश्न सजिलो बनाएँ ।

के तपाई जीवनमा कहिल्यै खुशी हुनुभएको छ ? दुखी हुनुभएको छ ? के ले खुशी दिंदो रैछ ? केले दुखी बनाउने रहेछ ? पछिल्लोपल्ट तपाईं मन खोलेर रोएको सम्झना छ ? पछिल्लो पल्ट मन खोलेर कहिले हाँस्नुभएको थियो ? आफूलाई मन परेको फूलको रङबारे कहिल्यै कुरा गर्नुभएको छ ? आफैंलाई के मन पर्छ के मन पर्दैन कहिल्यै ख्याल गर्नुभएको छ ?

अनेकन प्रश्नहरु छन् । प्रश्नमै सकिन्छन् भन्ने कुराहरु पनि।

मलाई त, हरेक दिन भेटिने हरेक मान्छे, एउटा होइन अनगिन्ति कथाका पात्र लाग्छन् ।हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु ।

ती मनमा लेखिने कथाहरुमा पनि सबथोक हुन्छ । माया, ममता, प्रेम, द्वेष, घृणा, इर्ष्या, जीवन, मृत्यु, त्याग, तपस्या…..। हाम्रा कथामा के छैनन् ? को छैनन् ? नायक, नायिका, खलनायक,परिको जादू, दैत्य, देवता । यी सबै हाम्रा आफ्नै कथामा छैनन् र !

‘रोना-धोना’ हाँसो, खुशी, गीत, सङ्गित सबथोक हाम्रा आफ्नै जीवन कथामा भेटिन्नन् र !

आफ्नै जीवनका कथाहरुमा हामी चढ्छौं पहाडजस्ता अजङ्गका दुःखहरु  र फोर्छौं पहराहरु ।
पार गर्छौ हिमालजस्ता अग्ला सपनाहरु र टेक्छौ शिखरहरु ।

हामी हरेकले चढ्ने पहाड र पुग्ने चुचुरो अलग होला । तर हामी सबैको आफ्नै यात्रा हुन्छ र हामी सबै आफू हिँड्ने बाटो जानी नजानी आफै बनाउँछौं ।

यी हरेक यात्राहरु विशिष्ट हुन्छन् । यी हरेक बाटाहरु फरक हुन्छन् । हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा । हिँडेको बाटोका अनगिन्ति कथा होलान् । नहिँडेका बाटोले पनि त उस्तै कथा हाल्लान् ।

सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् । ती बाटाहरु कति भेटिन्छन् कति छुटिन्छन् ।

तपाईको बाटो कुन हो ?

हामी तपाई हिडेका र नहिँडेका ती सबै बाटोका कथाहरु सुन्न चाहन्छौ । तपाईंले पार गरेको तपाईको यात्राको कथा सुन्न चाहन्छौ ।

तपाईको कथा के हो ?
दुःखका हुन् या सुखका । मान्छेका कथा जति सुन्दर केही हुन्नन् ।  हामी तपाईंको जिन्दगीका तिनै कथा सुन्न चाहन्छौं ।

घाम पानी सबैले भोगेकै हुन्छन् । कहिले रंगीन र कहिले रंगहीन । तर इन्द्रेणी संसार सबैको हुन्छ ।
तपाईको जीवनको घाम के हो ?
तपाईको जीवनको वर्खा कुन हो ?
तपाईको जीवनमा वसन्त कहिले फूल्छ ?

तपाईको जीवन कहिले चिसो हुन्छ ?

हामी तपाईको जीवनका तिनै घामपानीमा सँगै रुझ्न चाहन्छौ । तपाईका जीवनका रंगीन र रंगहिन कथा हुन चाहन्छौं ।

तपाईले देखे भोगेका तपाईका कथाहरु तपाईहरु लेख्नुस् । तपाईहरु सुनाउनुहोस् । हामीले देखे सुनेका जिन्दगीका कथाहरु हामी लेख्छौ देखाउँछौं ।

ती कथाहरु ।
ओहो ! हो र ? लाग्ने मान्छेका वास्तविकताहरु । अलिकति आफ्नै कथाहरु, अलिकति अरुका कथाहरु।

मायाको कथा सपनाको कथा आशाको कथा । तपाईको जीवनमा यी सब छैनन् र । जे लेखे पनि त भो । तपाईकी आमाको साहसको कथा कसले लेख्छ ? तपाईको बुवाको कर्मको कथा कसले लेख्छ ? तपाई आफैले के भोग्नुभयो ? त्यो भोगाई अरु कसले भोगेको छ ? अब भन्नुस् त तपाईको कथा तपाई बाहेक अरु कसले लेख्छ ?
वाल्यकाल, जवानी, सम्झना, विर्सना सब कथै हुन् ।

दु:खको आफ्नै मिठास हुन्छ । सुखको आफ्नै सुगन्ध । र हरेक मान्छेलाई आफ्नै दु:ख प्यारो लाग्छ । आफ्नै सुख प्यारो लाग्छ । आफू हिँडेको बाटो र टेकेको माटो प्यारो लाग्छ ।

हामी मगजमा सँधै हामी हिडेको बाटोको आफ्नै नक्सा बोकी हिड्छौ । र त्यही बाटोले हाम्रो जिन्दगीको नक्सा पूरा गर्छ । ती कति कथा भन्दा आनन्द होला । कति कथा नभन्दै मिठ्ठो होला । तर भनिएपनि नभनिएपनि मान्छेका कथा जति शक्तिशाली केही हुन्नन् । लेखी पठाउनुहोस् आफ्ना कथाहरु र आफै अनुभव गर्नुहोस् ।

कथा भनौ । आफ्नै जिन्दगीको कथा भनौ । आफ्नै जिन्दगीको कथा लेखौ। आफ्नाको कथा लेखौ । साथीभाई छरछिमेक गाउँ समाज । को सँग हुन्न र कथा ! ढुंगा, माटो, बन, जंगल, पहाड, पर्वत, खोलानालाका सबका सब कथा न हुन् । जिन्दगीका कथाहरु पढेर हेरेर सुनेर न कहिल्यै सकिन्छ न कहिल्यै थाकिन्छ ।

र मान्छेका कथा भनेर, सुनाएर र देखाएर हामी कहिल्यै थाक्नेछैनौ ।

तपाईको कथा के हो नि !

हेर्ने कथा

अहिलेलाई हामी हेर्ने कथामार्फत कथा भन्छौ । हामीले भनेका यी कथाहरु अन्य माध्यमबाट प्रसारण हुन्न । इन्टरनेट चलाउन नजान्ने कत्ति हजुर्बा हजुरआमा आमा बुवा दिदिभिनाजु दाजु भाउज्यू भाइ बहिनी हुनुहोला । जान्ने दिदिबहिनी दाजुभाईले हामीले खोजी ल्याएका यी कथाहरु सबैलाई देखाउन सघाउनुहोला है।

 तपाईंका कथा

तपाईंका कथा चाहिँ हामीलाई हेर्ने कथामा छाप्ने अनुमतिसहित hernekatha@gmail.com मा पठाउनुहोस् । हेर्ने कथा बन्न सक्ने आफू र आफूवरिपरिका कथा छन् भने पनि हामीलाई सुझाउनु होला । अनि कथाबारे मेरो यो कथा पढिसकेपछि मनमा केही तरङ्ग आयो भने तल कमेन्टमार्फत पोख्नुहोला ।

Join the Conversation

10 Comments

  1. तपाईंको ‘हेर्ने कथा ” शिर्षकमा लेखिएका शब्दहरुले आफू भित्रका दबिएका भोगाइका कथाहरु याद गरायो । लख्न सकेछु भने यो स्तम्भ मा प्रेसित गर्ने छु । धन्यवाद ।

  2. बिद्या एक्ली किन!? अझै धेरै बिद्या किन छैनन् हाम्रा वरपर!? मेरा कोही पनि साथि बिद्या किन छैनन्!? यो सुरुवात होस्, कामना गरौँ। र, एक दिन यि बिद्या र धेरै बिद्याहरुको कथा पनि हेर्न अनि पढ्न पाउँ। उत्साहका कथा, प्रेरणाका कथा। यो नौलो जिवन/अनुभवका कथा!
    बिद्या अनि सम्पुर्ण ‘हेर्ने कथा’ टोली प्रती अगाध श्रद्धा अनि उती नै प्रेम!

  3. हेर्ने कथा…वास्तमै अाफुलाई ऐनामा हेर्ने कथाजस्ताे लाग्छ…हरेक कथाले सन्देश र शिक्षाकाे प्रतीबीम्ब दिएकाेे अाभास हुन्छ…अन्तत हेर्ने कथा टीमलाई प्रगतीकाे कामना र सधैव अमर प्रेम…..

  4. कथा पढ्दै आएँ साह्रै गजब अनि आनन्द लाग्यो कथाको विच विचमा हालिएको सुन्दर तस्वीरहरूले अझ लोभ्यायो कथा पढ्दापढ्दै सकिएछ पत्तै पाइँन /

  5. ज़िन्दगी लाई परिभाषित गर्ने एक हिंसा कथा ले पनि राम्रो सार छुपाई दिएको रहेछ ।

  6. विद्या जिले साझा सवाल छोड्नु भएकोमा हामी सबैलाई पछुतो थियो त्यहाँ सुन्न पाइने तपाईंका विचारहरुलाई अब हामीले हेर्ने कथा मार्फत पढ्न पाउने छौं। वास्तवमा हामीले आफ्नो जिन्दगीलाई फर्केर हेर्नै पर्ने रहेछ। आफुलाई मनपर्ने तथा मननपर्ने कुराहरु समेत हामीलाई थाहा रहेनछ

  7. कथा त हरेक मानीस का हुन्छन। प्रेरणा दीने कथा त हेर्ने कथा मार्फत सुन्न पाइन्छ

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply