सम्धीज्यू

लकडाउनलाई पछ्याउँदै आएको आज ३५ दिन भएछ। दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा काम गर्ने भएकाले बिमानस्थल बन्द भएपछि हाम्रो पनि अनिश्चित तर सुखका दिन आए भन्ने महशुस भयाे। तर कोभिड १९ सङ्क्रमण हुने उच्च जोखिमको ठाँउ हो बिमानस्थल । काम गर्ने ठाउँमा अलग्गै डर। हप्तामै चार भिन्दा-भिन्दै समयमा काममा जानुपर्ने पीडा एकातिर, अर्कोतिर स्यालरी नआउने अपुष्ट समाचार। अनि फेरि उही त हाे, घरको समस्या आँखा अगाडि पर्खाल जसरी आइपुग्थे ।

लकडाउन पछि हप्ता दिनमै कम्पनीमा कोभिड-१९ का सङ्क्रमित फाट्टफुट्ट देखिन थाले। त्यसपछि कम्पनीले बाहिर निस्कन बन्देज लगायो। मानौँ एक किसिमको नजरबन्द जस्तै भयो। कोठा बाहिरबाट चाबीँ लगाइ ढोका लक गर्दिने अनि खाना-पिना सबै कोठामै आइपुग्ने सन्देश आयो। यदि शौचालयको आवस्यक परे भित्रबाटै ढोका ढकढकाउनु पर्ने भन्ने कुरा पनि सुनाए। कोठामा हामी चार जना बस्छौँ। सबै नेपाली। आएको एक साल पनि नबित्दै अन्जानमै पुलिस केस भएर २५ दिन जेल भोगेर आएको एकजना भाइ नेपाल जाने तयारीमा छ। सम्भवतः यो महामारी नभएको भए यतिबेला भाइ नेपालमा यहाँका दुख र गुनासा आँसु बगाउँदै आफ्नो आमाको पोल्टामा पोखिदिन्थ्यो होला। अनि फेरिरहेकाे हुन्थ्याे होला सुकुनको श्वास। तर बिडम्बना ऊ यहीँ छ। उदास। केही खोजेजस्तो मोबाइलमा घोप्टिरहने ऊ फुङ्ग उडेको अनुहार लिएर बस्छ। अनि फुत्त नेपाल पुग्ने आशामा हरेक दिन मेरो सम्धी ज्यूलाई सोध्छ , “दाइ नेपालको फ्लाइट कैले देखि रैछ ?” उत्तर दिदै सम्धीज्यू भन्नु हुन्छ “नेपालको हाल बेहाल छ बाला ! के.पी. ओलीले फ्लाइट नचलाउने रे अहिले ” सम्धीज्यूले मायाले बोलाउने उसकाे नाम ‘बाला’ हो।

सम्धीज्यू निहुरिएर मोबाइल कोट्याई रहँदा केही न केही समाचार कहीँ न कहीँबाट आउँछ आउँछ। लाग्छ कुनै पनि समाचार सम्धिकै मोबाइलमा पहिला आउँदो हो अनि मात्रै हाम्रोमा। नेपालमा के भयो? कस्लाई समात्यो? कोरोना कति जनालाई लाग्यो? यस्ता प्रस्नको उत्तर उहाँको मुखैमा छ। बेला-बेला झ्यालबाट कुमसम्म बाहिर निकालेर ‘ल सम्धी म त नेपाल गएर आउँछु है’ जस्ता ठट्यौली गरिरहनुहुन्छ। झ्यालको हावाले नेपालको शितलता दिन्छ भन्न्ने हामी ठान्दछौँ। हावा खाने बानी परिसकेको छ उहाँलाई र हामी सबैलाई। “बाला, तल आऊ, पानी पिउनलाई” एकोहोरिएर गाह्रो होला भनेर सम्धीज्यू बेला-बेला भाइलाई हौस्याउनुहुन्छ।

कम्पनीले अलिअलि गर्दै स्टाफहरुलाई एयरपोर्टमा कोभिड १९ को परिक्षण गर्न लग्यो। हामी पनि गयौँ। बाला गएन। उसकाे भिसा सक्किएको भन्ने कारण जनाइयो। दुई दिन पछि आउँछ रे भनिएको नतिजा आठौं दिन सम्म पनि आएन। आसेपासे सबैको आइसक्याथ्यो। सम्धी ज्यू भन्नु हुन्थ्यो ‘हाम्रो नतिजा त आउँदैन क्यारे, नआए नि हुन्थ्यो’ निकै मज्जाका गफ गरि उत्साहित गराउने उहाँको बानी हो। अनलाइनबाट चेक गर्न सकिने हुनाले समय समयमा मोबाइल कोट्याइ रहनुहुन्थ्यो। यहाँ कोठामा बस्दा अथवा यताउता जाँदा मोबाइल नकोट्याउने मान्छे नै छैनन् होला, अपबाद छोडेर। सङ्क्रमण पोजेटिभ देखिनेलाई कम्पनीले छुट्टै क्वारेन्टाईन बनाएर राखेको छ। यहाँको खाना, वातावरण अनि मौसम हेर्दा नेपाल याद नगरेको दिन हुँदैन। म १२ बजे भन्दा अगाडि नै सुत्ने कोसिस गर्छु। बिहान छिटो उठ्ने अभिलाषामा किनकि बिहान ६-७ बजे सम्म मात्रै नास्ता पाइन्छ। यदि समयमा उठ्न सकिएन भने एकै चोटि १ बजे मात्रै खाना पाइन्छ। राती ८:३० मा खाना खाएर चारै जना लुडाे खेल्न थाल्यौँ। यो समय हामी लुडो एक गेम पक्का खेल्छौं। सुरक्षित तरिकाले स्यानिटाइजर हातमा प्रयोग गरि बेसार पानी पिउँदै खेल्छौं। १२ बजेपछि म निदाएछु ।

“ल सम्धी ज्यू जाउँ, कुम्लो कस्नुस।” म झसङ्ग भएँ।

निकै अप्ठ्यारो मानेर सोधेँ ‘के भयो सम्धि ज्यू ?

उनले भने। “मेरो त कोरोना रिजल्ट पोजेटिभ आएछ!”

मैले डराउँदै सोधेँ “अनि मेरो ?? ”

“तपाईंको नेगेटिभ छ ।”

मलाई सन्तोक भएन अनि आफैले मोबाईल हेरेँ। हो रहेछ! तर सम्धीकाे परिक्षण भएको ८ दिन देखि हामी सङ्गै छौ। बिना कुनै सङ्कोच सँगै खाने, हाँस्ने अनि विशेष लुडो खेल्ने गरेका थियौं।

अब सम्धी क्वारेन्टाइनमा जानुहुन्छ। खान के होला त्यहाँ ? को-को हुने हुन साथमा! सुनेको मात्र हो भोगेको छैन। खाना खान सजिलो हुन्छ भनेर ल्याएको अचार आधा सिसि भैसक्यो। ह्या पठाइ दिन्छु ! ओहो, के भयो यो सम्धीलाई उफ्फ .. मैले धेरै सोचेँ । तर, सम्धी अँह कत्ति पनि अत्तालिएको देखिन। मेरा मुखबाट शब्द खुस्कियो “ओहो, सम्धी तनाव भो त!” तर उहाँले सजिलै भन्नु भो ,” के तनाव हुनि हो र ? फिट नै छु इम्युनिटि पावर दिने खाना खाएपछि त ठीक भैहाल्छ नि।” अनुहारमा उही चमक, उही हाँसोका साथ उहाँको जवाफले म चुप भएँ।

मैले मानेँ सम्धी ज्यूलाई। अब केही दिन उहाँको न्यास्रो मान्ने छ यो कोठाले, यी झ्यालले, यी ढोकाले, उहाँको बिस्तराले, कुर्सीले, भाइहरुले अनि मैले पनि।

सकारात्मक सोच नै प्रमुख हतियार रहेछ।

Profile Image

निर्मल भण्डारी

दुबई

One Comment

  1. Samuel Shrestha

    भाईको लेखन शैली प्रति म पूर्ण विश्वस्त छु। हो आज को यो अवस्ता विदेशमा सानो सपना बोकेर परिवार को लागि केही सुखको दिन देखाउछु भनेर जाने सँबै को एउटै छ।झन् हाल यो अवस्थाको मुख्य कारण covid 19 को सामना आफ्नै जीवन मा गर्नु पर्यो भने त्यो भन्दा दुख को कुरा अरु क हुन सक्छ र । खुसी लाग्यो भाई तिम्रो covid 19 को नतिजा negative आयो भनेर तर दुख पनि धेरै लाग्यो तिम्रो साथी को नतिजा प्रति तर तिम्रो साथी को जवाफ ले पक्कै पनि केहि सिकाएको छ। तिम्रो साथी को त्यो असल सोच र हौसला लाई मा नमन् गर्दछु। र तिम्रो र तिम्रो साथीको सु स्वास्थ्य को लागि निरन्तर ईश्वर सँग प्राथना गरी रहने छु।

Leave a Reply to Samuel Shrestha Cancel

Your email address will not be published. Required fields are marked *