पिडा हाम्रो सुन्दर शक्ति हुन सक्छ। सङ्घर्षबाट हामीलाई शक्ति आउने गर्दछ। चिजहरु परिवर्तन हुन्छन् जब हामी वास्तवमै तिनीहरुलाई परिवर्तन गर्न चाहन्छौ। आखिर देखेकै सपना साकार हुँदो रहेछ। नदेखेको सपनाको आकार पनि कहाँ हुँदो रहेछ र!
आज लकडाउन भएको पनि महिना नाघिसकेको छ। लकडाउन भन्दा पहिले धेरै सपनाहरु कोरेको थिएँ र त्यहाँ पुग्ने लक्ष्य लिएको थिएँ। तर बिहान ११-५ बजे सम्मको कलेज। त्यसमाथि महिनाको २० घण्टा लाइब्रेरी बस्नु पर्ने, घर आएपछि आफै खाना बनाउन पर्ने। कहिले प्रिजेन्टेसन तयार गर्नु पर्ने त कहिले टर्म पेपरको तयारी। सधैँ यस्तै यस्तैमा व्यस्त हुने म कहिलेकाहीँ त यी सब कुराहरुबाट छुटकारा पाएर हल्का हुन पाए पनि आफ्नो सपनाको दुनियाँमा जान पाउँथे भनेर कल्पिन्थे। मैले अहिले त्यो समय साँच्चिकै पाएकाे छु। याे मेराे लागि अवसर हाे। याे अवसर गुमाइयो भने भविष्यमा फेरि फेरि यस्ताे पल नअाउन सक्छ भन्ने कुरा मनमा लिएर यो लकडाउनको सदुपयोग गर्न थालेकाे छु।
मैले पुन म भित्रको ‘म’ लाई चिन्न अवसर पाएँ। ममा धेरै कुराहरु थिए, जुन समयको व्यस्तताका कारण मैले बाहिर ल्याउन सकिरहेको थिइन। मेरो बाबाको लागि पनि म पुन ‘उहाँको छोरा’ बन्न सफल भए जस्तो अहिले लाग्छ। किनकि मेरो बुवाले जहिले मलाई फलानाकाे छोरोले यस्तो गर्यो, उस्तो गर्यो भनेर सुनाउनु हुन्थ्यो। म उहाँको लागि ‘मेरो छोराले पनि यस्तो गर्न सक्छ’ भनेर छाती फुलाउन सक्ने छोरा हुन सकेकाे थिइन। तर यो समय मैले मेरो बुवालाई आफ्नो प्रतिभा देखाएर पुन उहाँको छोरा भएको पनि महसुस गरेको छु। अहिले म उहासँग बसेर वंशावली बुझ्दै छु। इतिहासबारे जान्ने कोसिस गर्दैछु, बाबु छोराका अहिले मिठो गफ हुने गर्दछ। ममीलाई पनि खाना बनाउन सहयोग गर्ने गर्दछु। उहासँग पनि धेरै पौराणिक कुरा सिकिरहेको छु। भाइसँग पनि नयाँ नयाँ प्रतिभा छन्। हामी एक अर्कालाई चिन्ने मौका अहिले मिलिरहेको छ।
बच्चा वेला देखि नै साह्रै चन्चले र चकचके स्वाभावको म आकाशमा उडेको पिलेन हेरेर ममीसँग साेध्थे रे – ममी म ठूलो भएपछि त्यस्तै आकाशमा उड्नेछु भनेर। आखिर समयको चक्र न हो, बालापन जस्तो कहाँ अहिले हुँदो रहेछ र! समय बित्दै गयो, सपना नयाँ नयाँ कोरिदैँ गए।
एक जमानामा क्रिकेट साह्रै खेल्थे। जहिले घरमा क्रिकेट खेलेर आउँदा बाबाले मैले पछाडि भिरेको मेरै ब्याटले दिनदिनै पिट्नु हुन्थ्याे। सपनामा पनि मैले क्रिकेट क्रिकेट मात्र गर्थे रे ! ममीले सुनाउनुभएकाे। हुन पनि साह्रै खेलिन्थ्यो क्रिकेट। कहिले कसको घरको सिसा फुटाले, कहिले कसको , के के नोक्सान गर्दिने गर्दा बाबाले जहिले मलाई पिट्नु हुन्थ्यो। सबैले आएर उहाँलाई कुरा लगाइदिने हुनाले मैले क्रिकेट कै कारण धेरै पिटाइ खाएको छु। एक जमानामा कसैले के बन्छस् भनेर सोध्यो भने ‘क्रिकेटर’ भन्थे। अहिले पनि मलाई क्रिकेटमा साह्रै रुची लाग्छ। यो समयमा पुराना म्याच हेरेर बस्छु। उनीहरुले लेखेका किताबहरु पढ्छु। क्रिकेट सम्बन्धि बनेको फिल्महरु हेर्छु। सायद क्रिकेट पनि मेरो नसाको खुन जस्तै भएको थियो। जसले गर्दा मैले आफ्नो पढाइ पनि धैरै बिगारेँ।’आकाशमा उड्छु’ भन्ने सोच बनाउने वैज्ञानिक पनि पहिलो चोटी धुरीबाटै खसे हाेलान्! कति असफल भए हाेलान् , तर पनि मान्छेले हावामा उड्ने सपना माया मारेनन् , र नै त संसारमा हवाईजहाज बन्यो। जीवनमा ठक्कर खानेहरुले नै इतिहास लेख्छन्।
राजनितीमा बच्चा देखि साह्रै रुची राख्ने म अहिले म दिनहुँ राजनितीका किताबहरु पढ्छु। इतिहासदेखि अहिलेसम्म मैले जे जति पढेँ , मैले के बुझे भने ‘हामी कि काङ्ग्रेस, कि एमाले, त कि अरु कुनै पार्टी भित्र रह्यौ। चुनावको बेलामा हामी यी पार्टीहरुकाे मात्रै नभएर ‘नेपाली’ मात्रै भइ सही र गलत छुट्याउन नसकेकाले नै हामी धेरै पछाडि परेको रहेछौ।’
लकडाउन भन्दा पहिले मेरो डायरीले ‘हे सरोज मलाई भर, तिमी लेख’ भनेर आवाज दिए जस्तो महसुस हुन्थ्यो। तर अहिले डायरी भरिएका छन। किताब पढेर ज्ञान लिइरहेछु।किताबसँगै सुत्छु अचेल त। कहिले पढ्दा पढ्दै निदाउँछु। फुर्सतमा फिल्म पनि हेर्छु। कहिले बारीमा गएर फूलहरु सँग मस्त रमाउँछु त कहिले घरको छतमा गएर वरि परि नियाल्छु। साँच्चीकै यो लकडाउनले म भित्रको ‘म’ लाई जगाइदिएको छ। मेराे ‘म’ लाई नयाँ परिचय दिएको छ। धैरै कुरा सिक्ने र सिकाउने अवसर पनि भएको छ।
सपनाहरु पुरा गर्ने नाउँमा, कति सपनाहरु अधुरो नै रहे होलान्। आज केही नपुगे पनि समय चक्र हो। बिस्तारै राम्रो कुराको लागि पनि समय अवस्य आउनेछ भन्ने लाग्छ। यो बाहेक धेरै आफ्नो प्रतिभा बाहिर ल्याउने कोसिस गरिरहेको छु। सायद यो लकडाउन नभएको भए मैले पुन: आफूलाई चिन्ने मैका पाउदैनथे होला।
यो लकडाउन पछि फेरि टोलटोलमा हल्ला हुनेछ, साथीभाइ बिच सल्लाह हुनेछ, फेरि रमाइला दिन फिर्नेछन्।
No responses yet