सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि म राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पदमार्ग सुन्दर पर्यटकीय गन्तव्य सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा छु। रहरले भनौ या बाध्यता, झन्डै दश बर्ष अघि एसएलसी दिएर उच्चशिक्षाको लागि काठमाडौँ हानिएपछि परिवारको सामीप्यताबाट सधैँ टाढै भइयो। घरको यादमा टोलाउनु नै दैनिकी बन्यो। बर्षमा दुई तीन पटक चाडपर्वहरुमा हुने केही दिनको भेटघाटमा खुम्चियो परिवारसँगको सामीप्यता । कोरोनाले नै एसएलसीपछि राजधानी छिरेदेखि पहिलोपटक यति लामो समय परिवारसँग रमाउने अवसर जुराइदिएको छ ।

काठमाडौँबाट घर आएसँगै दिनचर्या पनि पूरै बदलिएको छ। आजकल एकाबिहानै मोबाइलको अलार्मकाे सट्टा भालेको ‘कुखुरी काँ’ ले निद्रा खुल्छ। अनि आँखा उघार्ने बित्तिकै अग्ला अग्ला भवनहरुको सट्टा आँखै अगाडि दन्ते लहर खोलेर हाँसिरहेको लाङटाङमा नजर पर्छ। बिहानै कफिको सट्टा घरमै पालेको काली भैंसीको खाँटी दुध ओछ्यानमै आइपुग्छ। कोकाकोला र फेन्टाको सट्टा घरमै पारेको माेहीले आँत शितल बनाउँछ। क्याटबरी र डेरी मिल्कको सट्टा जंगलको ऎँसेलु र काफलले मुख मिठो बनाएको छ।

काठमाडौँ हुँदा ममीले सधैँ फोनमा भन्नुहुन्थ्यो ‘अल्छी नगरी बिहान बेलुका अलिकति तातो पकाएर खानु।’ आजभोलि बिहान बेलुकै जिब्रोले ममीको हातले बनाएको मिठो खानाको स्वाद पाएको छ। गाउँमा राम्रोसँग ईन्टरनेट चल्दैन। तर सधैँ मोबाइलको स्क्रिनमा घोत्लिरहने आँखाले प्रकृतिको अनुपम सुन्दरता नियाल्न पाइरहेको छ। सधैँ सवारीसाधन र कलकारखानाको कर्कस आवाज मात्रै पर्ने कानमा कोइलीको कुहुकुहु गुन्जिन थालेको छ ।

लकडाउनले सहर बजारमा कष्टकर भएपनि गाउँमा केही काम गर्न छेकेको छैन। धमाधम मकै गोड्ने र गहुँ कुट्ने काम चलिरहेकै छ। तर लगातारको पानीले गहुँ भित्र्याउन बाधा पुर्याएकाे छ।कोही अब कोरोनाले भोकमरी लाग्छ भन्दै गाउँमा बाँझो रहेका खेतबारी, खेतीपातीका लागि तयार पार्दैछन्। यहाँका किसानलाई कोरोनाको भन्दापनि आफ्नो उत्पादन बजारसम्म कसरी पुर्याउने भन्ने बढी चिन्ता छ अहिले।असार लाग्ने बेला हुन लाग्याे। अब मल नपाइने पो होकि भन्ने पिरले सताइरहेको छ यता! जे होस् दुख, ब्यथा र अभावका बिच पनि गाउँमा भावनात्मक एकता, मानवीयता सँगै छुट्टै पहिचान अनि अर्गानिक जीवन छ ।

समीर गिरि

हेलम्बु, सिन्धुपाल्चोक

 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply