मैले डायरी नपल्टाएको धेरै वर्ष भएछ। लेखुँ पनि के लेखुँ। हुन त आजभोलि मनमा कुरा धेरै छन् , तर त्यसलाई बुझाउन सक्ने शब्द कम। सानो हुदाँ डायरीका पानामा चित्र समेत कोर्थे, आजभोलि भने कालो मसीले पनि ठाउँ पाएन। जीवनका अनगिन्ती बिर्सन नसक्ने यादहरुलाई लेख्न मन लाग्छ, तर कसैले मनमा चलेका सबै कुरा थाहा पाउने हो कि भनेर लेख्नु अगाडि धेरै पल्ट सोच्छु। आजभोलि मनमा खेलेका कुरालाई मोबाईलमा लेख्छु, तर मोबाईलमा डायरीको जस्तो फिचर कहाँ छ र?
डायरीका पाना भर्दै जाँदा जीवनमा अनुभव बटुलेको जस्तो लाग्थ्यो। डायरीलाई सबै कुरा थाहा हुन्थ्यो। मिठा अनुभवलाई राम्रा अक्षरले अझै साँचेको पनि छ यसले। तिता अनुभवलाई आँसु बनाएर मसी पनि फुलाएको छ। द्वेषमा लेखेको कुरा डायरीले नै थाहा पायो। आत्मालोचनामा लेखेका कुरा च्यातेको पनि डायरीलाई मात्र थाहा छ। कसैलाई बिछोडमा भन्न नसकेका कुरा पनि डायरीमै छ, अनि कसैको प्रेममा लेखिएका हरफहरु पनि त्यहीँ। तर आज ४ वर्ष भएछ, मैले डायरीको पाना नखोलेको।
जीवनको यो अनुभवको गाथालाई भने मैले डायरीमा संगाल्ने कोसिस गरे, पुनः। मैले जीवनमा धेरै साथी बनाइन, जति बनाए उनले गार्हो पर्दा साथ दिनेछन् भन्ने छ। साथी मानवरूपी डायरी हो भन्ने लाग्छ।
लकडाउन अगाडि धेरै घुम्न नरुचाउने म, अहिले भने लकडाउन खुल्ना साथ साथीको घरमा पुग्ने निधो गरेकी छु। भारत घुम्न गएकी मेरी साथीले ल्याएको उपहार पनि लिन जानेछु। मैले उसको लागि ल्याएको उपहार पनि झोलाको झोलामै छ। घुमेर आए पछिको मेरो झोला मैले जस्ताको तस्तै राखे, साथीहरु भेट्दा फेरि उत्साहका साथ त्यो झोला खोल्नेछु। जीवनमा दुखः सुखको बेलामा साथ दिने मेरा मानवरुपी डायरीलाई नभेटेको धेरै भयो। आज पनि खल्लो लाग्दा उनीहरूलाई फोन गर्छु। अब पछिका दिनमा घुम्न जाने ठाउँ तय भएका छन्। ती ठाउँमा फेरि नयाँ यादहरु साँच्न मन छ।
अहिले भने किताब मेरा साथी भएका छन्। तिनले मलाई आफ्ना अनगिन्ती कुराहरू सुनाउँछन्। तिनीहरुले भनेका मध्यको मन पर्ने कुरा म आफ्नो कापीमा लेख्छु। तिनीहरुको साथले जीवनमा धेरै अनुभव दिदोँ रहेछ। एक थरी साथीहरुबाट टाढा भएर मैले अर्को साथ पाएँ, अनि आउँदा दिनमा यी दुवैलाईसँगै लैजाने मेरो मन छ।
आखिर जीवनमा सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई गार्हो पर्दा साथ दिने मान्छेहरु नै हुदाँ रहेछन्। घरमा परिवारसँगकाे सामिप्यता झनै बढेको छ। यो सामिप्यता छाडि कहिले काहीँ त भविष्यमा कर्मक्षेत्रमा पनि नजाउँ जस्तो पाे लाग्छ। यो साथले जीवनमा हरेक पल साथ दियो। अहिले सबैसँग रमाइला पल बिताउन पाउँदा आफूलाई भाग्यमानी ठान्छु। बाबा केही लेखी रहनु भएको छ। बेला बेलामा मलाई कस्तो लेखेछु हेर त भनेर भन्नु हुन्छ। म पनि खुब जान्ने जस्तै गरी हेर्छु। घरमा ‘कल ब्रेक’ हाम्रो नयाँ ब्रेक भएको छ। मामुले भर्खर सिक्नु भएको, अहिले भने हामी सबैलाई हराउनु हुन्छ। बहिनी र म बिच खाना कसले पकाउने भनेर झगडा हुन थालेको छ। दुवैलाई पकाउनै पर्ने। अहिले घरमा सबैको बालापन देख्न पाउँदा खुसी लाग्छ।
परिवारले सधैँ जमिनमा रहन सिकायो, साथ सिकायो अनि प्रेम सिकायो। जीवनका मेरा धेरै काम आमा- बुवाको लागि समर्पित भएका थिए अनि सधैँ हुनेछन्। जीवनको रफ्तारमा बाँधिदै अनगिन्ती आकांक्षा अनि अपेक्षालाई बुन्न आटेँकी म, लकडाउनले जीवनलाई सरल अनि सुन्दर बनाउनु सबै भन्दा ठूलो कुरा रहेछ भनेर दर्पण स्वरुप छर्लङ्ग पारिदियो। अरु विनाशसँगै ल्याएता पनि, यो लकडाउनमा मैले जीवनको धेरै कुरा सिके, म यसको लागि सधैँ आभारी हुनेछु।