एउटा सानो घाउ लाग्दा, एक हप्तासम्म रुने म। जिन्दगीमा केही आपत आइ पर्दा साथीलाई नसुनाइ बस्न नसक्ने म। अनि साथीहरुलाई समस्या पर्दा सबै भन्दा पहिले समाधान खोजिदिने म। सबैसँग परिचित तर स्वयंसँग अपरिचित म। सम्भवत: यो समय मेरो लागि एना बनेको छ।
मैले अब आफूलाइ आफ्नै नयनबाट नियाल्न थालेकी छु। सधैँ हतारमा हराउने मलाई स्थिरता प्रिय लाग्न थालेको छ। केही घटना हुँदा त्यसैमा बिलाउने म, अचेल फेरि हराएकै ठाँउबाट आफूलाई खोज्न थालेकी छु। आफैसँग यति गहिरो र गहकिलो संवाद हुनसक्छ भन्ने बोध यही कोरोनाको कहरमा सिकेँ। आफ्नो पृथक कहानी हुँदाहुँदै पनि सधैँ परिवार र साथीसंगीका जीवन कथामा आफूलाई खोज्ने म अब आफ्नै कहानीमा आफूलाई भेट्न थालेकी छु। जीवनमा आफूले आफूलाई रुवाउनु, हँसाउनु, फकाउनुको मज्जा छुट्टै हुँदो रहेछ। सुन्दा त्यति व्यवहारिक लाग्दैन, तर एक्लोपनको संगत जस्तो अरु संगत हुन सक्दैन रहेछ। स्व-संवादबाट निस्कने अभिव्यक्ति रोचक पनि हुन्छन्। आफैबाट उब्जिएका प्रश्नले आफैबाट उत्तर पाउँदा छुट्टै आत्मा सन्तुष्टि पनि हुँदो रहेछ।
हो! देश र संसारका हृदयबिदारक घटनाले मनमा हलचल पक्कै ल्याउँछन्। तर परिस्थिति प्रतिकूल हुँदा अनुकूलता खोज्नु भन्दा प्रतिकूलतामै रमाउने उपाय खाेज्न आँट गर्नुपर्छ भन्ने सिकाइ यही समयमा भएकाे छ। समयले समस्या दिन्छ, संघर्ष दिन्छ। यो अवस्थामा समयसँग पाैठेजोरी खोज्नु भन्दा समस्यामा लुकेको झिनो आशालाई नियाल्न सक्नु पर्दो रहेछ। समस्या शिवको अर्धनारेश्वर स्वरुप जस्तै हुँदो रहेछ, जसकाे एउटा पाटोले समस्या झल्काउँछ भने अर्को पाटोले समाधानको प्रतिनिधित्व गर्छ।
यो समयमा संयम हुन सक्नु सबै भन्दा आवश्यक रहेछ जसले हामीलाई ढाढस त दिन्छ नै अर्को तिर आफ्नो परिचय पनि जोगाइ राख्छ। आफ्नो क्षमतालाई नकार्दा तिल जस्ता परिस्थिति पहाड बनेर आफूसँग मौन युद्ध गर्न आउँदा रहेछ्न। अत: ती मौनतामा ओझेल परेका आत्मा सम्मान र स्वप्रेमका आवाजहरु सुन्ने क्षमता यही कहरमा महसुस गर्दैछु। आफ्नो ओझेल अस्तित्वमा दुर्योधन, शकुनी, अर्जुन र कृष्ण जस्ता पात्रहरु हुँदा रहेछ्न। कुन समयमा कुन पात्रमा आफूलाइ उतार्ने हो त्यो पनि जान्नु पर्दो रहेछ।
यही समयमा पढेका ‘The alchemist, The power of now र death जस्ता पुस्तकले आफ्नो सपनालाई पछ्याउन साहस दिएका छन् र जीवन भन्दा मृत्यु वास्तवमा सुन्दर हुन्छ र बाँच्न भन्दा मर्न जान्नुपर्छ भन्ने केही आध्यात्मिक अभिव्यक्तिले जीवनलाई हेर्ने नजर बदलिदिएको छ। परिवारको सामिप्यतामा आफ्नो अपनत्व थपिदा पक्कै पनि जिन्दगी रोचक बन्छ भन्ने केही भोगाइ र सोचाइले मैले नचिनेको ‘म’ लाई केही हदसम्म परिचित बनाएको छ।