उकुसमुकुस मनले साँच्चै नै सास फेरे झैँ

बगिरहेका नदिहरु रोकिए झैँ

अनि हतासिएको जिन्दगीले विश्राम पाए झैँ

लकडाउनले कसैलाई खुसी बनाएकाे छ भने कसैलाई याे कष्टकर अनि पीडादायी बनेकाे छ। कामको सिलसिलामा परिवार र आफन्तबाट टाढा पुगेका मानिसलाई लक डाउन परिवारसँग समय बिताउने मौका बनेको छ। तर दैनिक ज्याला मजदुरी गरेर परिवारको छाक टार्दै आएका श्रमिकलाई भने लकडाउन केवल अभिशाप बनेको छ।

तर मलाई भने दुवै :

आफूले थाहा पाएदेखि यति लामो समयसम्म आमाले पकाको खान पाएको अनि दादाभाइसँग खुलेर हाँस्न,  झगडा गर्न पाएको पहिलो पटक हो। आफूलाई मन पर्ने मकै आगोमा धुवासरि बनाएर पोलेर खान पाको छु। यो दिन रात नभनि परिरहने झरिमा रुझ्न पाएको छु।

आफ्नै घरको स्वच्छ वातावरणमा सयर गर्न पाएको छु।

अनि यो कोइलीले गाएको मिठो गीतसँगै मयुर झैँ नाच्न पाएको छु। यसो अल्छि लाग्दा कलम समाएर कविता लेख्ने प्रयास गर्छु । आफूलाई मन पर्ने परिकारहरु युटुब हेर्दै पकाएर खाने प्रसस्त समय पाएको छु। सुरुमा एकै पल्ट उदयपुरमा धेरै मात्रामा कोरोनाको केस आउँदा त मनले हार खाइ सकेको थियो। तर समयसँगै स्थिति ठिक भयो। अनि मनले पनि शान्ती पायो। सोचिरहँदा लाग्छ जसरी लिच्चीको खोलहरुसँगै जसरी खानलाई तयार हुन्छ मैले पनि यो लकडाउन सकिएसँगै परीक्षा दिन तयार हुन तयार हुनुपर्छ। यो पल्ट चैं घरमा गएर टन्नै पढ्छु भन्दै आएको म आजसम्म ती किताबहरु छोएको छैन, मानौ मैले जिन्दगीमा सबै पढेर सक्काइ सके।

दुखी यस कारण छु कि :

सात समुन्द्र पारी भएका बुवा अनि आफ्ना आफन्तलाई  केही भै दिने हो कि झैँ लाग्छ। मन आत्तिन्छ, आँखा रसाउँछ अनि हत्तपत्त मनलाई सम्झाउँछु। सायद यही नै हो जिन्दगी ।

आखिर के नै रैछ र जिन्दगी! हिजोसम्म मै हुँ भन्दै घमण्ड गर्नेहरू आज मृत्यु हुँदा पनि कोही हेर्न जान नमिल्ने दिन आइसके। आखिर हामीमा मानवताको खडेरी पर्दै गएकाले नै यो दिन आएको हो झैँ लाग्छ। आशा छ अब चाँडै फेरि हामी हाम्रो दैनिक जीवनमा फर्किन पाउनेछौँ र त्यो व्यस्तताको जीवन अब चाहिँ अलि सचेत र संयम भएर जिउन थाल्नेछौँ । स्वस्थ अनि सुरक्षित बस्नुको बिकल्प छैन हामीसँग अहिले। त्यसैले सुरक्षित बस्नुस्।

बिना दाहाल

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply