साँझ बिहान कैयौ बितेर गए। कैयौ दिन निदाए, उठे, दिन बिताए। दिन बिताउने क्रममा कसैले केही लेखे। सिके। सिकाए। हेरे। देखाए। उनीहरु सबैको योगदानले केही अर्थ राख्यो होला। राख्यो नै। मैले के गरेँ?

म पनि बिहान उठेँ। सामान्य घरधन्दा गरेँ। यस बाहेक सम्झन लायक मैले केही गरिनँ। नयाँ किताब नभएपछि घरमै जालो लागेको एउटा किताब उठाएँ। जालो पुछेँ। माकुरो पनि त्यहीँ रहेछ। किताब पुछ‌दा उसको एउटा खुट्टामा लागेछ। भाँच्चिएछ। उसलाई आफ्नो घरबाट खेदाउँदा म असंवेदनशील नभएको होइन। माकुराको बेस्कन माया लागेर आयो। उसको घर भत्काउने अधिकार मसँग छैन। कसैलाई कसैको घर भत्काउने अधिकार छैन। अर्काको जिन्दगीमा यसरी हस्तक्षेप गर्नु सबैभन्दा घिनलाग्दो कुरा हो। तर म स्वार्थी छु। उ त लकडाउनमा छैन। एकातिर नभए अर्कोतिर गएर बस्छ। म लकडाउनमा छु। घरभित्रै बस्नु छ। नयाँ किताब नभएर पुरानो खोजेर पढ्नु परिरहेको छ। ऊ किताब नै पढ्दैन होला। पढ्ने भए पो थाहा हुन्छ। मैले पढ्नुपर्छ। 

सफा किताबकाे केही पन्ना पढेपछि मलाई पढ्न मन लागेन। अरे ! मलाई पढ्न मन नै छैन त कसरी पढ्न सक्छु त। इनर्जी नै छैन। किताब पढ्न पनि इनर्जी चाहिँदो रहेछ। किताब पुरानै ठाउँमा राखे पहिलेजस्तै गरेर। माकुराको याद आयो। कता बसाइ सर्यो होला। घरभित्रै कि बाहिर ? बाहिर कालो मैलो भएर बादल तल तल झर्दैछ।  हावा चल्दैछ । आँगनमा उभिएको अमलाको पात भुइँ भरि भएका छन्। फूलका बाेटहरु नाच्दैछन। हैन कस्तो मनपरेको होला यो कालो मैलो, हावाहुरी ! त्यसाे त मलाई पनि खुब मनपर्थ्यो पहिले हावा। हावा चल्दा खुसीले मै पनि नाच्थे। मलाई पनि आफू हावा भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। संसारभरि डुल्थे। भएजति रुख , पहाड, खोला, समुन्द्र, हिमाल, आकाश सबैलाई छुन्थे। रुखहरुसँग ठोक्किन पुग्थे।  पातहरुलाई आफ्नो टीम बनाएर चराहरुसँग अन्ताक्षरी खेल्थे। तर ऐले खै के भाको होला यस्तो, मन नै रमाउँदैन केहीमा पनि, कतै पनि !

रुखका हाँगाहरुले चरालाई घर बोलाएका होलान्। एकदम हल्लिदैछन्, कैले यता कैले उता फर्केर। माकुरा यस्तो बेलामा कहाँ होला? के गर्दै होला?  

कता बसाइ सर्यो होला। अर्कोतिर ठाउँ पायो कि पाएन? उसका पोका, पन्तुरा, झिटीगुन्टा बोक्न कसले सघायो होला? हावापानी आउनै लाग्दा अहिले कति आत्तिएको होला? प्रतिकूल अवस्थामा हामीलाई सरकारको आश भएजस्तो उसलाई कसको आश होला? उसको दुनियाँमा सरकार त छ?

विशाल दुनियाँमा कतै ऊ पनि सबै भएर कोही नभएको जस्तो त भको छैन? मलाई अहिले घरबार नभएर सडकमा जीवन बिताउनेहरुको याद आयो। घर तिनीहरुकाे थियो कि थिएन होला? मैले माकुराको घर भत्काएजस्तो उनीहरुको पनि कसैले भत्काइदिएको हो कि। मैले माकुरोको खुट्टा भाँचिदिए। उनीहरुको महँगाइले ढाड भाँच्चिएकाे छ कि? धन्न ठाउँ ठाँउमा ठूला मन भएका मान्छेहरु छन् र उनीहरूलाई खान, बस्न दिदैछन् भन्ने सुन्दैछु। 

माकुरो खोजेँ। उ त्यहाँ छैन। आँखा डुलाए। किताब राख्ने र्याकको तल्लो तलामा रहेछ।  खुट्टा भाँच्चिए पनि जालो बुन्दैरहेछ। शारीरिक कमजोरी हुनेहरु अशक्त हुँदैनन् । माकुरा परिवारको मूली हो जस्तो लाग्यो। घरमूलीहरु अहिले कति प्रयास गरिरहेका होलान् संसारभरि नै। महिनौ देखि कोठाभित्रै भएपछि जोहो गरेको खानेकुरा, पैसा सकिएपछि पनि घर उस्तै बनाइराख्न लागि परिरहेका होलान्।  मेहेनेत र संघर्ष गर्दै हाेलान्। मैले कल्पना गरेँ- ढाड भाँच्चिएकाे माकुरो बाउ हाेला। उसकी श्रीमती पनि त होली कतै, मतलब आमा। ऊ पक्कै साना माकुराहरुलाई अँगालोभरि  चेपेर न्यानो बनाउँदै होलि। आफूलाई बिर्सेर सन्तानलाई मात्र सम्झिनेहरु आमा नै हुन्। 

एउटा माकुरा घर बनाउँदै थियो।अर्काे पनि आएर सघाउन थाल्याे। ओहो! अब त दुबैले घर बनाउँदैछन मिलेर। लाग्याे, बुवा र आमा संघर्ष, त्याग र मेहेनेतले बन्दो रैछ, पदले वा जन्माएको भरमा हैन। भूमिका निभाउँदा जो पनि आमा वा बुवा वा दुबै हुन सक्दा रहेछन्। 

धत्, कस्तो उल्लु छु म। यतिका समय माकुरा सम्झेर बिताएँ। केही उपलब्धिमुलक कुरा गर्न सकिन। आजपनि मैले केही गर्न सकिनँ। म बाच्नुको अर्थ छैन। मलाई एक्जिस्टेन्सियल क्राईसिस भैरहेछ। म बेकार छु।

ओहो केटाकेटी भोकाए होलान्। खाजा बनाउने बेला भएछ। जति नै डिप्रेस्ड भएपनि मैले छोराछोरीलाई भोकै राखेकी छैन। एनर्जी भएपनि नभएपनि उनीहरूलाई सफा राखेकी छु। खुवाएकी छु।  आफूलाई आफ्नो ध्यान नहुँदापनि उनीहरुको रेखदेख गर्दै आएकी छु म। खुसी दिन खोजिरहेकि छु। उनीहरु खुसी नै देख्छु। म आफू पनि त खुसी हुनै खोजिरहेको छु। म भएर यो सब चलिरहेछ।

बिहान उठेर दिनको सुरुवात गर्नु मेरो लागि चुनौतीपूर्ण हुन्छ। तैपनि उठ्छु। केही न केही गर्छु। म काम नलाग्ने छुइन। स्थीर भएर पढ्न नसके के भो त म पढ्न खोजिरहेछु। प्रयास गरिरहेछु।अहिले गर्न नसकेर के भो, म केही गर्न त खोजिरहेछु। माकुराजस्तै। माकुराजस्तै? साँच्चै ? मतलब म पनि मेहेनेती ? म पनि मेहेनेती रैछु। म पनि केही अर्थ बोक्दो रहेछु। ओहो! म कति सुन्दर  रहेछु। मलाई म मनपर्यो। आफू हुनुको अर्थ महसुस हुनु नै सबैभन्दा ठूलो कुरा रैछ। मलाई म भएको महसुस भयो।

तपाईं पनि निराश हुनुहुन्छ केही गर्न सकिन भनेर? डिप्रेस्ड हुनुहुन्छ ? केही उपलब्धिमुलक गर्न सकिन भनेर चिन्तित हुनु हुन्छ? त्यसो हो भने तपाईं भ्रममा हुनु हुन्छ, बुझ्नुभो? तपाईं गलत हुनुहुन्छ। आफू हुनु नै ठुलो कुरा हो। तपाईं हुनु भनेको तपाईंले आफूले आफूलाई स्विकार्नु रैछ। तपाईं जस्तो हुनुहुन्छ,  बश आफूलाई त्यस्त अँगाल्नु होस्।जिउनु नै ठूलो कुरो रैछ। तपाईं केही गर्न खोजिरहनु भएको छ , त्यो नै ठूलो कुरा रैछ। कोहि जस्तो हुनुपर्दैन , बस आफैजस्तो बन्नुस। आफूलाई समय दिनुस् ल। माया गर्नुस् । तपाई सुन्दर हुनुहुन्छ। अर्थपूर्ण हुनुहुन्छ। त्यसको प्रमाण तपाईं तपाई हुनु हो। सधै आफू भैराख्नुस् ल।

ज्याेत्सना प्रसाईं

झापा

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply