भित्र न बाहिर…

चितवनको पल्लो छेउ, सदरमुकामबाट झण्डै ३० कि.मी. को दूरी भन्न मिल्छ; जसलाई चितवनकै मान्छेले पनि चितवनमा पर्छ भनेर चिन्न मुस्किल छ। यही कारण हो, ‘अनि घर कता नि तिम्रो’ यो प्रश्न मनै पर्दैन मलाई। चितवन हो भनौँ भने चितवन कता भनेर सोध्छन्; अनि मेघौली भनौँ भने ‘त्यस्तो ठाउँ पनि छ चितवनमा?’ भन्छन्। त्यति नै चासो लाग्ने भए चितवनको नक्सा हेर्नु न” भन्न पनि सक्दिनँ फेरि। त्यसैले कहिलेकसो सारा गुनासो बा आमालाई पोख्छु,”तराई झर्न त्यत्रो रहर थियो भने अल्लि माथि नै लिनुपर्छ नि जग्गा पनि, यो कुनामा बसेर के उँभो लाइन्थ्यो र” उहाँहरुले पनि आंशिक सहमति जनाए जस्तो लाग्छ मेरो कुरा सुनेर चुप बसेको देख्दा।

हुन त उ बेला के थाहा र कुन कुना पुल्चोक बन्छ अनि कुन मगनी। मगनी मेरो टोलको नाम। थारुको बस्तीमा मस्ती गर्न झरेका पहाडियाहरु मध्येकै एक परिवार मेरो। त्यो मस्तीलाई पेटभरि चामलको भात भनेर बुझौँ। त्यही भात खाने आश पनि नारायणीको बाढीसँगै बगेर जान्थ्यो अरे कति वर्ष त। आजभोलि पो किनारमा जाली लगाएर बन्दोबस्त पारेको छ।

भविष्य कोर्न भनेर नौ डाँडा काटेर गएकी म, कोरोनाले घरभित्र थुनेर निस्सासिने बनाएको पनि महिनौ बितिसक्यो। संसारमा त्रास फैलाएको कोरोना अगाडि म के गर्न सक्थेँ र ! केवल लाचार भएर यसको अन्त्य हुने प्रतिक्षामा दिन काट्दै छु। झरी पर्न थालेको धेरै दिन भयो। हिजो राति पनि पर्दै थियो। सधैँ त पर्छ भनेर वास्ता गरिएन। हिजो राति सुत्दासम्म खासै पानी थिएन, आज बिहान उठेर हेर्दा चारैतिर समतुल्य छ; “हे भगवान्! बाढी आएछ” आँखा एकैपटकमा ब्युँझिए।

म जन्मिएको भदौरे झरीमा, त्यो वर्ष खाटका खुट्टा डुबाउने गरि बाढी पसेको थियो अरे! हत्तपत्त खाटका खुट्टा छाम्नु अघि झ्यालबाहिर हेरेँ। घरभित्र पस्न भ्याएको रैन्छ धन्न। “हाम्रो नानु जन्मेको वर्षदेखि यता आजसम्म थाहा पाएकी थिइनँ यसरी बाढी पसेको” खै कोसँग कुरा गर्दै हुनुहुन्थ्यो आमा!

यो कोरोनाको वर्ष सहरका महलहरु रित्तिएर गाउँका झुपडीमा थुप्रेका तमाम जिन्दगीहरु साक्षी बसेका रैछन्, बाढी पस्ने डरले कोरोना कहरसँग गरेको दमदार प्रतिस्पर्धा हेर्न। यो हुलमा थाहा छैन कोरोना पनि आएको छ कि? घरखेत डुब्ने डरले कोरोना लाग्ने डरलाई पछारिसकेछ क्यारे! घरबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको नारायणी नदी आज घरबाहिरै सुसाइरहेको छ। यो आवाजसँग डराएर “लौ न डुबिनी भैयो” यो आवाज चर्को बन्दै छ।

गर्मीले औडाहा पार्दा बरु रातदिन झरी परे सहनु हुन्थ्यो भन्ने ओठहरु आज झरी रोकियोस् भन्ने पुकार निस्कदै छ। आकाश आज काला बादलहरुको जमात लिएर आएको छ। लाग्छ उम्कने उपाय नै छैन। चराचुरुङ्गी गन्तव्यहीन उडान भर्दै छन्; एक रुखबाट अर्को गर्दै रन्थनिएर। खेतबारी, कुलोतिर लुक्ने स्याल आज बाटोमा दौडिरहेको छ। भर्खरै रोपेको धानको बीउले घाँटीबाट पानी निलिसक्यो। रुखहरु भने स्थिर रहेरै जिन्दगी बचाउन खोज्दै छन्। भ्यागुताहरु पानीबाट उफ्रेर घरतिर पस्न आँट्दै छन्। गड्यौलाको लर्को पिँढीसम्म आइपुग्यो। यसो हेर्दा लाग्यो, हरेक जिन्दगीलाई अचम्मै प्यारो रैछ आफ्नो जिन्दगी।

एकाबिहानै गाईवस्तु खेदेर अर्काको गोठतिर लाँदै छन् एकजना काका। “गोठ चुर्लुम्मै छ, आँगनमा आहाल छ, घरको पनि दैलोमा पुगिसक्यो; अझै नरोकिने हो भने घरभित्र बस्नै सकिँदैन” दुईवटा नानीको हात समाउदै काखमा एउटा नानी च्यापेर भन्दै हुनुहुन्छ काकी। छानो चुहिँदासम्म त ठिकै थियो, अब बाढी पसेपछि ती लालाबाला बोकेर कता जालान्?

कसैको गोदाममै पानी पसेर अन्नपात बिगार्यो अरे! अनिकाल लाग्ने भयो भन्दै छन्। अझ नारायणी नजिकैका घरहरु खै कस्ता भए, हेर्न जाने आँट पनि छैन। उता जाउँ भने फर्किँदासम्म आफ्नै घर डुबानमा पर्ने हो कि? ठाउँठाउँमा बाढी पहिरो गएर धनजनको क्षति भएको सुनिएको थियो। नराम्रो लाग्थ्यो, सहानुभूति आउँथ्यो। तर आफ्नै आँखा अगाडि त्यसको थोरै मात्र अंश देख्दा पनि मुटु नै काँपेर आउने रैछ। मानौ मृत्युको काखमा छ यो जिन्दगी।

“भित्रै बसौँ भने बाढीले बगाउला, बाहिर निस्कौँ भने कोरोना लाउला” यो मृत्युको प्रतिस्पर्धा हेर्दै खै मजस्ता कति जिन्दगीहरु भित्र न बाहिर भएर दैलोमा अड्किएका छन्!

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply