१४ मार्चबाट सुरु भएको युरोपको स्पेनमा लकडाउनपछि लगातारकाे घर बसाइबाट मैले जीवनमा धेरै नयाँ कुराहरु सिक्न अनि अनुभव गर्न पाए !
लकडाउन सुरु हुनु भन्दा १ हप्ता मात्र अगाडि पुरानो बास स्थान छोडेर नयाँ शहर Palma De Mallorca आइपुगेको थिएँ। ठूलो सपना नभए पनि यो समरको काम सकाएर नेपाल फर्कने रहर बाेकेकाे थिएँ। मन मनै घरकाे मिठाे सपना सजाउँदै थिएँ । करिब ५ बर्षको बसाइपछि नेपाल जाने प्लान थियो यो पनि कोरोनाले भाताभुङग बनाइदियो ।
सुरुसुरुमा अनौठो लागे पनि लकडाउनको समयमा अत्यन्त कडा नियम स्पेन सरकारले लगाएको कारण ६४ दिन घर बाहिर ननिस्की बिताए। नयाँ ठाउँ, नयाँ परिवेश।फेरि लकडाउन नमान्नेलाई लगाएको कडा जरिवाना सुन्दा आफू आफै भित्रै रमाउनुको बिकल्प थिएन ।
सुरु सुरुमा बाहिर निस्कन नपाउँदा मन आत्तिए पनि पछि भने आफ्नै कोठा प्यारो लाग्न थाल्यो। बिस्तारै सुरु भयो अन्लाईन क्लासहरु, स्कुलका साथीहरुसँगको भिडियो कल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेनले अनलाईन साहित्यक कक्षा सुरु गरेको थियाे। त्यसमा सहभागी हुँदा मुक्तक, गजल, कविता कसरी लेख्ने भन्ने धेरै नयाँ कुराहरु सिक्न पाएँ। साहित्यमा रुचि राख्ने म जस्तै धेरैलाई यो क्लासले अझ बढी उत्साह थपिदियो । त्यही सिलसिलामा मैले पनि केही मुक्तक,गजल,कविता लेख्न सिकेँ । यतिबेलै लेखेकाे एउटा कविता:
सिमाना
बिर्खेको भट्टीमा बसेर
हामीले कयौं पटक यो देशको नक्सा नापेका छौं साइँला !सुस्ता देखि
कालापानी , लिम्पियाधुरासम्म !
टिष्टा देखि काँगडासम्म !लाखौ पटक रक्सीले झुल भएर यो देशको सिमाना नाप्यौं !
देशद्रोही र विद्रोहीको आकार नाप्यौं
आन्दोलनको प्रकार नाप्यौं
यो देशमा दिवासपना देखाउनेहरूको अनुहार पनि नाप्यौं साइँला !यी देशका नेताहरुले गर्ने चर्चाहरू
हामीले जिन्दावाद भन्दै छर्ने पर्चाहरू
अनि हामीले घरी-घरी लिइरहने
यो देशको नाप-नक्साको बिचमा
नाप्नै पर्ने ति अनगिन्ती हिमालहरु
नाप्नछुटे जस्तो लाग्दैन तिमीलाईघरी-घरी हाम्रा छिमेकीहरु माया गरेझैँ गरी
झस्काइ रहन्छन हामीलाई कतै बेजोडले चिमोटेको जस्तो
कैले मेरो भन्छ सगरमाथा, कैले मेरो भन्छ लिपुलेक र लिम्पियाधुरानेपाल भनेर चिनाउने यी शानहरु
हामीले अब हाम्रो भन्न ढिला गर्नु हुन्न !
बिचार गरौं साइँला समयमैहिमाल नाप्नु अघि
आफ्नै उचाई नाप्नु पर्दो रहेछ
यो समाज नाप्नु अघि
आफ्नै घर नाप्नु पर्दो रहेछ
यो देश नाप्नु अघि
आफ्नै परिवेश नाप्नु पर्दो रहेछ !हाम्रो नपाइमा खोट नहुँदो हो त
किन दिनहुँ सार्दो हो छिमेकिले सिमाना
किन छाप्दो हो मनलाग्दी नक्सा !साइँला अब त अत्ति भो
खै कहाँ गएछ मेरो देशको सिमारेखा
खै कहाँ गयो मेरो देशको सरकार
अबत नाप्ने तरिका फेर्ने कि सरकारआफ्नो देशको सिमानामा पर्खाल लगाउँने कि सरकार
आफैले आफैलाई एक पटक ऐनामा हेर्ने कि सरकार
देशको अलिकति पनि माया छ भने ,अब त केही बोल्ने कि सरकार ?
बिहान तिमलसीना
यस शहरमा करिब ८०/ ९० को हाराहारीमा नेपालीहरु बसोवास गर्छन् । लकडाउनको समयमा यहाँको सरकारले काम गर्दा पाइने करिब ८०% तलबको पैसा यहाँ स्थायी रुपमा काम गर्नेहर लाई उपलब्ध गराएको हुनाले खान बस्नमा यहाँ रहेका नेपालीहरुलाई खासै अप्ठेराे परेको भने छैन । यहाँको सरकारले लकडाउनलाई ४ भागमा विभाजन गरेर खुकुलो बनाउँदै लगेको छ।
त्यसैले केही सम्हालिन सिकौं। केही धैर्य गर्न सिकौं। दौडनु पर्दैन। राम्ररी हिँडौ अवश्य पुग्नेछौ, निश्चित समयमा। समय पनि हाम्रै हुनेछ, हुनेछ हाम्रै बिजय !
अन्तमा:- यो कठिन समयमा, समयको सदुपयोग गर्न सिकाउनु हुने सम्पूर्णमा नमन !
सधैँ झैँ आज पनि साँझ पर्याे। जिन्दगीकाे एक पल रित्तियाे,आफै सामु। तर आशाका किरणहरु अझै पनि चम्किरहेछन्। भोलि पर्खँदै ।