सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।
सुनसरी, प्रकाशपुर नजिकैको ठाकुरबारीबाट हाम्रो टापु यात्रा सुरु भयो । हामीलाई धर्मेन्द्र यादवले बाटो देखाउने भए ।
घुँडा घुँडा आउने पनेलो तरेपछि कोसीका बालुवा पैतालाले छाम्दै अघि लाग्यौं ।
धर्मेन्द्र यादव गाई भैंसी हेर्न धेरै जसो टापुमा बस्दा रहेछन् । बेला-बेलामा चाहिँ घर आउने ।
उमेरमा धर्मेन्द्रलाई गायक बन्ने रहर थियो रे । रहर शायद कोशीको पानीसँगै बगी गयो ।
टापुका वन-वगरमा बाह्रै महिना गाई भैंसीको पछि नलागे परिवार कसरी पाल्नु !
पर नानीहरु देखिए । उनीहरु नदीले बगाई ल्याएका दाउरा बटुल्न आएका रहेछन् ।
करिब २ किलो मिटर हिँडेपछि डुंगा चढ्ने ठाउँ आइपुग्यो । डुङ्गा नचढी टापुमा पुग्न सम्भव छैन । धर्मेन्द्रको सानो डुँगामा हामी अडियौं ।
पारि नदी तर्ने मान्छेहरु भेटिए । कोही सामान पुर्याउन हिँडेका । कोही सामल लिन हिँडेका ।
रत्नी सदा चाहिँ खर्चपानी लिन घर हिँडेकी रे ।
चित्र बहादुर कार्की पनि त्यहीँ भेटिए । टापुमै बसेर खेतीपाती गर्ने चित्र रुखका मुडाहरु ओसार्दै थिए ।
कोशी छेउमा हुर्केका चित्रले नदीको विचित्र स्वभाव नजिकबाट देखेका र भोगेका छन् ।
नदीको बाटो पटक पटक फेरियो । मान्छेका दुःख फेरिएन ।
No responses yet