कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर पढाउने गुल्मीका शिक्षक रविन ढकाल ।
समिर र सचिन खेल्दै अघि लाग्थे । हामी स्याँ स्याँ गर्दै पछि लाग्थ्यौं । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
पानीको जरुवा भेटियो । समिरले वनदेवीलाई चढाएपछि चिसो पानी पिए । उनको जुत्तामा सलबलाइरहेको जुकाको उनलाई परवाह थिएन ।
अल्लो घारिहरु छिचोल्दै उकालो लाग्दा मौसम ओसिलो हुँदै गयो । बेला बेला वस्तुहरुले बाटो छेक्थे ।
बिस्तारै जुका आतंक सुरु भयो । मान्छेका गन्ध चाल पाएर बोटविरुवाका पात पातमा जुकाहरु देखिन थाले । तनक्क तन्किएर हाम्रा शरिर छुन खोजिरहेका ।
भुइँमा जुका पातमा जुका रुखमा जुका जताततै जुकै जुका । फटाफट पाइला चाले पनि जुकाहरुले हामीलाई पत्तै नदी झम्टिसकेका थिए । कसैका हातमा कसैका घाँटिमा कसैका खुट्टामा जुकाहरु टाँस्सिसकेका थिए ।
जुकाहरुले थकाइ मार्न पनि दिएनन् । हामी अडियौं कि उनीहरु जिउमा उक्लिहाल्ने ।
बाटोभरि जुकाले सताइरह्यो ।
आधा बाटो पनि भएको थिएन । हामी पुग्ने सोल खर्क अझै बादलभित्र शान्त थियो । घाम लुकिसकेको थियो । गोधुलीमा हामीले जंगलभित्र पाइला चालिरह्यौं ।
समिर र सचिन बेला बेला झाडी भित्र छिर्थे र जंगली फलको स्वाद हामीलाई पनि चखाउँथे ।
हेर्दा हेर्दै झमक्क रात पर्यो । मोबाइलका उज्याला बालेर हामी उकालो लागिरह्यौं ।
ठाउँठाउँमा पहिरोले बाटाहरु भत्काएका । चिप्ला र डरलाग्दा भिरमा हामीलाई साना नानीहरुले बाटो देखाए ।
गोठ पुग्ने बेलासम्म जुकाहरुसँग हामीले आत्मसमर्पण गरिसकेका थियौं । हामीमाथि उनीहरुले विजय प्राप्त गरेका थिए ।
गोठ पुग्ने बेलामा कुकुर भुकेको सुनियो । टाढा झिलिमिलि पोखरा शहर देखियो । आकाशमा जुन चम्कियो र झिलिमिलि तारा देखिए ।
समिर हामीभन्दा छिटै दौडेर गोठ पुगे अनि अगुल्टो लिएर तगारो छेउ हाम्रो स्वागत गर्न उभिए ।
गोठमा पौडेल दम्पत्ती थिए । उमा पौडेल भैंसीका दुध दुँदै थिइन् । चेतबहादुर पौडेल पुजा आजा गर्दै थिए ।
हामीले खरानीका थुप्रोमा जुकाहरु टिप्दै फाल्दै गर्यौं ।
अगेना वरपर सबैजना बसेर थकाइ मार्यौं ।
चेत बहादुर उमेरमा गाउँ ठाउँमा भजन गाउन हिँड्ने रहेछन् । गोठमा उनले सुनाएका भजनमा हामी रमायौं ।
निउरोको तरकारी र भात पाक्यो । दुहुन छुटेका भैंसीहरु मध्यरातसम्म पनि गोठ खोज्दै जंगलबाट आइरहेका थिए ।
रातको १ बजिसकेको थियो । कोही अँगेनाको छेउमा, कोही पाडापाडीको छेउमा गुँडुल्किएर सुत्यौं । मिठो निद्रा लाग्यो ।
एका विहानै चेतबहादुर राति गोठमा नआएका भैंसीहरु खोज्न जंगल छिरे । उमा दुध दुहुन थालिन् ।
निरुनाले छुर्पी बनाउन सघाइन् ।
घाम पारिलो भएपछि आमाछोरी भैंसीहरु धपाउँदै जंगल छिरे । भैंसीहरुलाई जंगलको बाटो लगाइदिएर उनीहरु निउरो टिप्दै गोठ फर्के ।
चेत हराएका भैंसीहरुसँग रिसाउँदै गोठ फर्किए ।
मोही पार्ने बेलासम्म चेतको रिस मरिसकेको थियो । रमाइला भाका सुनाउँदै उनी मोही पार्न थाले ।
उमा चाहिँ खीर पकाउन थालिन् ।
सचिन टुसा खोज्न जंगलतिर छिरे ।
खीर र टुसाको भोजन भयो ।
गोठमा बस्ने आमाबाबुलाई भेट्न हप्तामा एक चोटि यी दिदीभाइहरू गोठमा आउँछन् । फर्कनुअघि उनीहरुले गृहकार्य सके ।
छोराछोरीलाई पठाइदिन पौडेल दम्पत्तीले निउरो टुसा र घिउको कोसेली तयार पारे ।
हामीलाई बाटो देखाइदिन चेतबहादुर र उमा पनि अलिवरसम्म सँगै आउने भए । हामी ओरालो लाग्यौं ।
विदावारी हुने बेला भयो । हामीलाई विदा गरेर चेत घाँस काट्न रुख चढे ।
सचिन समिर र निरुनाका गफ सुन्दै हामी ओरालो झरिरह्यौं ।
फर्किने बेलामा जुकासँग उत्ति सारो डर पनि लागेन ।
५ घन्टा ओरालो झरेर अर्मला पुग्दा साँझ पर्न लागेको थियो । हामी पुगेर आएको सोल खर्क अझै बादलभित्रै छोपिएको थियो ।
No responses yet