६१ वर्षकी शान्ता सानी हुँदा तेह्रथुमको पहाडमा छोरीहरुले पढ्न पाउँदैन थिए । उनका बुबा रामनाथ दाहाल परिवर्तनका लागि पन्चायतविरुद्ध लड्दै थिए । शान्ताले स्कुल जाने अवसर पाइन् ।
मायादेवी सिटौला पनि यस्तै राजनीतिक चेतनाको लहरबिच हुर्केकी थिइन् । उनले घरभित्रैबाट ससाना विद्रोह सुरु गरिन् ।
मुना उप्रेतीले आमाका न्यानो काख महशुस गर्नै पाइनन् ।
गोमा विमलीले श्रीमानको अत्याचार सहनुसम्म सहिन् ।
बुवा मारिएपछि शान्ताको पढ्ने सपनालाई घर व्यवहार र गरिबीले थिच्यो । छोराछोरी हुर्काएपछि शहिदकी छोरी ऋण तिर्ने उपाय खोज्दै इजरेलतिर लागिन् ।
श्रीमानले धाेका दिएपछि मुनाले पनि इजरेलको बाटो रोजिन् । गोमालाई पनि इजरेलले नै बोलायो । मेनुका घिमिरे पनि इजरेल पुगिन् ।
जिन्दगीमा धेरै कठीन बाटाहरु हिँडिसकेका उनीहरु लगभग थाकिसकेका थिए । वर्षाै विदेसिएर फर्किदा पनि व्यवहारको बोझ उस्तै थियो ।
त्यति नै बेला नाती पुस्ताको एउटा केटो काठमाण्डाैको रगमञ्च छोडेर गाउँ फर्केको थियो । प्रकाश दाहालसँग एकाध नाटक र केही थान सपना थिए । नाटक हेर्न आएकी शान्तासँग उनको चिनजान भयो ।
सानैदेखि नाच्न गाउन रुचाउने शान्तालाई नाटकले तान्यो । प्रकाशसँग मिलेर नाटक बनाउने सल्लाह भयो ।
नाटक जस्तै जिन्दगी बाँचेका सङ्गीहरुलाई पनि शान्ताले मन्जुर गराइन् ।
नाटकको तयारी भयो । महिनौंसम्म प्रकाशले उनीहरुलाई अभिनय सिकाए ।
डुली हिँड्ने लेखक चे शंकरलाई नाटक लेख्न भनि प्रकाशले झापा बोलाए । चे शंकरले उनीहरकै जीवन कथा सुने र त्यसैलाई नाटक बनाईदिए ।
अाधासरो जिन्दगी अरकै खुशीको लागि बित्यो । अहिले अाफ्नै लागि रमाउन सिकेका छन् ।
रगमञ्चले उनीहरको जीवनमा रंग भरेको छ ।
त्यो वेदना त्यो चेतना । त्यो साहस त्यो संघर्ष । त्यो आँट त्यो लगन । त्यो मातृभूमि त्यो परभूमि । त्यो सङ्कल्प त्यो समर्पण । त्यो शक्ति त्यो साथ । त्यो आफ्नो त्यो विरानो । त्यो उतार त्यो चढाव । तीनै जिन्दगीमा प्रकाश दहाल र चे शंकरले नाटक बनाए रुवा । हामीले रुवाको कथा बनायौं ।
No responses yet