पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे ।
पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन । एक हप्तासम्म मागेको माग्यै गर्ने । पानी माग्ने तरिका पनि केके हो केके ।
तेस्रो दिन
आज चाहिँ तेस्रो दिनको रात । गाउँ माझ भेला हुनु छ ।
खुदिया देवीलाई गाउँलेहरुले आफ्नो भाषामा दाइ भनेर बोलाउँछन् । दाइको अर्थ हजुरआमा ।
खुदिया खाना खाएपछि छोराका लुगाफाटा खोज्दैछिन् ।
संवाद
खुदिया देवी चौकिदारको भेषमा गाउँ डुल्न तयार भइन् ।
गाउँका अरु पाका महिलाहरु पनि धमाधम पुरुषको भेष धारण गर्दैछन् ।
खुदिया देवी खबरदारी गर्दै गाउँ छिरिन् । हातमा कोदालो बोकेका अरु महिलाहरु मिसिए । घर-घर डुल्दै उनीहरुले आँगन खन्न थाले ।
यसरी आँगन आँगन पुगेर खनेको चाहिँ आफ्नो खेतमा कुलो लगाएको रे ।
एउटीले कुलोको पानी आफ्नाे खेतमा मात्र लगेपछि झगडा सुरु भयो ।
झगडा यत्तिमै सकिएन । अलि पर पुगेपछि घम्साघम्सी नै पर्यो ।
पानीको निहुँमा पटक पटक झगडा पर्यो । खास झगडा गरे जस्तो गरी पानी माग्ने काइदा । पानी नपाएर मान्छेहरु लड्न थाले भनेर देउताले पानी देलान् भन्ने आश !
कुलो लगाउनेहरु गाउँ डुलिरहँदा गाउँको माझमा सप्पै महिलाहरु भेला भइसकेका थिए । उनीहरुले देउता पुकार्दै पानी माग्न थाले ।
अर्का एक हुल महिला चाहिँ हलो जुवा बोकेर घर घरबाट निस्किए ।
कोही गोरु बन्न थाले कोही हली ।
दुई चरा जनाले गाउँका मुखियालाई पाता कसे । अनि बाल्टीका बाल्टी पानी खन्याइदिए ।
मुखिया र गाउँका भद्र भलाद्मीहरुलाई बाटोमाझ लडाएर हाएल कायल पारे ।
हलोको पुजा गरिसकेपछि गाउँ घुमेर हलो जोत्दै हिँड्ने बेला भयो । श्रीमान् नहुनेहरु हली बने । अनि गोरु बन्नेहरुको चाहिँ छोरा हुनै पर्ने ।
पानी माग्दै उनीहरु गाउँको फन्को लगाउन थाले ।
हलो जोत्दै गाउँ घुमिरहँदा बाटोमा भेटिएका लोग्ने मान्छेहरुलाई समात्दै पानी खन्याउँदै गरे ।
यो रात उनीहरुले गाउँको पाँच फन्को लगाए ।।
भोलिपल्ट चौथो दिन । घाम चर्किँदै जाँदा महिलाहरुले पानी माग्दै गाउँको फन्को लगाए । गीत गाउँदै गाउँदै उनीहरु गाउँ पुछारको खेतमाझ रहेको पिपलको रुखमा पुगे । यो उनीहरुले मान्ने देउताको बर्हम्बौवाको वासस्थान ।
उनीहरुले केही दिनअघि पानी माग्दै बर्हम्बौवालाई बाँधिदिएका थिए । पानी देलान् कि भन्ने आशमा उनीहरुले आज त्यो डोरी फुकाइदिएर देउतालाई बन्धनबाट मुक्त गरिदिए ।
निकैबेर चौतारीमा बसेर उनीहरुले विलौना गरे । तिर्खाएका गाउँलेहरुको बिलौना आँशु बन्दै आँखाको बाटो झर्न थाल्यो ।
यहाँबाट उनीहरु उस्तै गरी नारा लगाउँदै, गीत गाउँदै जुलुस जस्तै गरी अर्को बाटो लागे ।
अब टाढा खोला छेउको चौरीमा पुग्नुछ ।
दुई चार जनाले गाउँबाट गाई खोजेर ल्याए । अघि अघि गाई लागे । पछि पानी माग्नेको जुलुस ।
टन्टलापुर भदौरे घाममा सारा गाउँ रनक्क तातेको बलौटे चौरमा भेला भयो ।
दुई चार गाईलाई माझमा घेरेर उनीहरु फेरि पानी माग्दै विलौना गर्न लागे । गाई वस्तुका तिर्खाएको चित्कार सुनेर देउताले पानी देलान् भन्ने आश ।
यहाँ पनि रमाइलो सुरु भयो । पण्डित जी हाजिरी गर्न थाले । शिक्षकले परेड खेलाउन थाले । अनि कसैले चाहिँ रमाइलो हेर्न पुगेका एक दुइ जना लोग्ने मान्छेलाई बाँधिदिए ।
निकै बेर घुम्दा पनि गाईहरु बाँ बाँ गर्दै नकराएपछि पानी पर्दैन कि भनेर उनीहरु निराश भए ।
आजकल गाउँमा स्थानीय जातका गाई नभेटिँदा जर्सी गाई खोजेर ल्याएको रे । जर्सी गाई भएर नकराएका पो हुन् कि भन्दै थिए कोही कोही ।
निकैबेर पछि गाई कराए । पानी पर्ला भन्ने आश बढ्यो ।
आजको दिन पनि सकियो ।
एक हप्ता लामो पानी माग्ने रितिको पूजा आजा गरेर बिट मार्नुपर्छ ।
भोलिपल्ट उनीहरुले पूजाका सर्जाम जुटाउन उसैगरी गाउँ डुलेर सिधा बटुले ।
गोडपसरा गाउँमा बादल बर्सियोस् भन्ने कामना गर्दै हामी पनि बाटो लाग्यौं ।
केही दिन पछि खबर आयो गाउँमा पानी पर्यो रे!
No responses yet