यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।
नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ । अस्ति भर्खरसम्म नेपालगंज पुग्न पनि भारतको बाटो घुमेर जानु पर्ने ।
नरैनापुर गाउँ जन्मेदेखि यो ठाउँको सम्बन्ध नेपालसँग भन्दा भारतसँग गाँसियो । नरैनापुरको लागि नेपालगंज दुर्गम थियो । बरु सिमापारिको नानपारा नजिक थियो । जहाँ भेटिन्थ्यो बम्बै जाने रेल ।
आज पनि नरैनापुरका किशोरहरु जुँगाको रेखी बस्न नपाई सिमा पार गर्छन् र चढ्छन् बम्बै जाने रेल । कमाउन जाने पनि भारत र कमाएको खर्च गर्न जाने पनि भारत ।
सिमापारि हाटबजार लाग्छ ।
नुन तेल र लत्ता कपडा साइकल चढेर आउँछन् ।
नरैनापुरको मुख्य चोकमा एउटा पुलिस चौकी र सानो बैंक छ । भर्खरै कालोपत्रे भएको सडकमा भारतीय नम्बरका मोटरसाइकल फाट्टफुट्ट भेटिन्छन् । पान पसल, चिकेन पसल, चिया पसल प्राय भिडभाड हुन्छ ।
सेता लामा दाह्री पालेका गाउँका पाकाहरु चियापसलतिरै भेटिन्छन् ।
हामीले मिस्त्री खानलाई त्यहिँ भेटेका थियौं । गाउँघरमा नागरिकताको नाम एउटा, अनि सबैले चिन्ने बोलाउने नाम चाहिँ अर्को । मिस्त्री खान खास मिस्त्री होइनन् । उनी नजिकैको इँटा भट्टामा इँट्टा गन्ने काम गर्छन् । सानोमा उनको आँगनमा बयल गाडा बनाउने मिस्त्रीहरु बसेर काम गर्थे रे । अनि उनी पनि मिस्त्री नामले चिनिन थाले ।
गाउँलेहरु अवधी र हिन्दी बोल्छन् । नेपाली बोल्न बुझ्न अफ्ठ्यारो । प्रहरी चौकीका असई फत्ते हमालले एक जना दोभाषे खोजिदिए । डाक्टर सबिर खान । उनी पनि डाक्टर होइनन् । सहकारीमा काम गर्छन् ।
उनी चाहिँ फौजदार । उनको भाइको नाम जोडदार ।
यी हाँसिरहने रमाइला पात्र चाहिँ चेंगी चोर । उनी पनि चोर होइनन् । पहिले खान लाउन दुःख हुँदा छिमेकीको खेतबाट एक दुई अँगालो धानको बाला नसोधी काटेपछि उनको उपनाम चोर भयो ।
यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं । लाठी खेल ।
पहिले पहिले लाठी खेल खुब चल्थ्यो । सुरक्षा र रमाइलो दुबैको लागि । सिक्ने र सिकाउनेहरु हुन्थे । मेला जात्राको मूख्य आकर्षण लाठी खेल हुन्थ्यो । बिस्तारै पुराना मान्छेहरुसँगै लाठी खेल हराउन थाल्यो ।
लाठी खेल्ने को को छन् भनेर हामीले सोधखोज गर्यौं । आफ्नो भाषा पनि नबुझ्ने जिप चढेर आएका नौला मान्छेहरुले अचानक लाठी खेलबारे सोध्दा सुरुमा गाउँलेहरु सशंकित भए ।
शंकालाई बिस्तारै विश्वासले जित्यो । आधादिन ढलिसक्दा नरैनापुरका चिया पसलेदेखि पान पसले सम्म हाम्रो दोस्ती भइसकेको थियो ।
लाठी खेल्न जान्नेहरु खोज्दै हामी मिस्त्रीसँग गाउँ छिर्यौं ।
फौजदार पनि जमानाका खेलाडी रहेछन् । फौजदारलाई लिएर हामी युनुसको घर गयौं । २० वर्ष कतार बसेर फर्केका युनुस ।
लाठी समात्ने बित्तिकै युनुसले कला देखाउन थाले । युनुसको आँगनमा फौजदार र युनुसले खेल देखाए ।
गाउँको खुल्ला चौरमा लाठी खेल देखाउने सल्लाह भयो । तर दुई जना पात्रको खोजी भयो । अठै र कन्नु । उनीहरुका बुबा लाठीका उस्ताद थिए रे । छोराहरुलाई पनि सिकाएका । सबैले अठै र कन्नुको नाम लिए ।
अठै र कन्नुलाई खोज्न हामी उनीहरुको घर गयौं । उनीहरु भेटिएनन् । मजदुरी गर्न कोहलपुर तिर गएका रहेछन् । फोन पनि नबोक्ने ।
अठै र कन्नुलाई खोजेर ल्याउन गाउँलेले सुझाए ।
भोलिपल्ट बिहान हामी बाबु खान र उनका साथीलाई गाडीमा राखेर अठै र कन्नुको खोजीमा हिँड्यौं । न फोन नम्बर न ठेगाना । बाबु खानले अड्कल गरेका गाउँ ठाउँमा सोध्दै खोज्दै हामी कोहलपुर भित्रका गाउँ गाउँ चहार्यौं ।
काठ चिर्ने काम गरिरहेका भन्ने सम्म थाहा थियो । कहाँ छन् थाहा थिएन । यता उता भौंतारिँदै ती दाजुभाइको खोजीमा आधा दिन बित्यो ।
हार खाइसकेका थियौं । तर ती दाजुभाइ भेट्टाएरै छाड्याैँ । एउटा गाउँमा मसलाका रुखहरु चिरिरहेका । उनीहरु पनि हामीलाई देखेर छक्क परे ।
अठै र कन्नुसँग त्यहिँ बसेर गफियौं । रुखका हाँगाबिँगा काटेर एकुन्टा लौरो बनाए र हामीलाई त्यहिँ खेल देखाए ।
मजदुरी गरिरहेका मानिसलाई टाढा गाउँ लैजान मन मानेन । उनीहरुको लागि पनि शोख भन्दा भोक ठूलो । भारि मन साटेर हामी फर्कियौं ।
भोलिपल्ट अठै र कन्नु बिना नै हामी नरैनापुर गयौं । गाउँलेहरुले खेल देखाउने भए । आँप गाछीको बँगैचामा गाउँ उर्लेर आयो । फौजदार, युनुस र मिस्त्रीले खेल देखाए ।
हामी पनि रमायौैं नरैनापुर पनि रमायो ।
कथा सक्कियो ।
No responses yet