कर्णबहादुर राई मलायाका लाउरे थिए ।
गाउँघरमै आइपुग्ने गल्लाहरुले पहाडका बलिया पाखुराहरुलाई सात समुद्रपारि उडाएर लैजान्थ्यो ।
मैलो माटोमा हातगोडा जोतिरहेका पहाडका ठिटाहरु लाहुरे बन्ने सुकिला सपनाका पछि लागेर धरान झर्ने गर्थे ।
कल्कलाउँदो उमेरमा देउकुमारले पनि बुबाकै बाटो पछ्याए । लाहुरे बन्ने लहरमा उनको पनि रहर मिसियो । उनी हङकङका लाहुरे भए ।
पहाडमा हलो र कोदालो समाउने हातहरु बन्दुक समाउँदै संसार डुले । लाहुरेको नोकरीले दुःख बिर्साउने गरी पैसा पनि दियो । तर पैसाले गाउँघर बिर्साउन सकेन ।
बादलुको घुम्टोले सँधै झैं इलामबजार छोपिँदा टुँडिखेल नजिकैको एउटा चिया पसलमा देउकुमार राई र उनका परिवार भेटिन्छन् ।
अवकाशपछिको जीवन बेलायतमै बिताउन सक्ने सुविधालाई चटक्कै छाडेर देउकुमार जन्मथलो फर्किएका हुन् ।
यो चियापसलमा देउकुमार इलामेलीहरुलाई चियाका थरिथरिका स्वाद चखाउँदैछन् ।
उसो त देउकुमार सँधै इलाम बजारमा भेटिँदैनन् । इलामको सन्दकुपुर गाउँपालिकामा माइपोखरी नजिकैको माइपताल गाउँमा उनका दुई वटा कृषी फारम छन् । धेरैजसो फारमतिरै भेटिन्छन् ।
१० वर्षअघि श्रिमती बितिन् । देउकुमार एक्लैले छोराछोरी हुर्काए । बिरामी आमाको स्याहार गरे ।
फारममा लगाएका किवीका बोटहरुलाई पनि उनले छोराछोरी जस्तै स्याहारेका छन् ।
उनी चाहिँ तेजबहादुर राई । किवी फारमका हेरालू ।
देवकुमारले चिटिक्कको फारमलाई पर्यटक लोभ्याउने थलो पनि बनाएका छन् । विदेशीको काम छोडेर नेपाल फर्केका देउकुमार अहले आफ्नै फारममा बेला बेला विदेशीलाई नि काम लगाउँछन् ।
मान्छेहरु पहाड छाडेर मधेसतिर बसाईं झरिरहँदा देवकुमार चाहिँ मधेसमा जोडेका जग्गाहरु बेच्दै पहाडमा लगानी गर्दै थिए ।
पल्टनको जागिरेले देउकुमारलाई लड्न सिकाएका थियो । अहिले पनि उनी एक्ला लडाकू जस्तै छन् । श्रीमतीको मृत्युले उनलाई दुःख सिकाएको थियो । अहिले सानातिना दुःखले उनलाई छुन सक्दैनन् ।
आमाबुबाको आँखा छली छली किनेको चुत्रोघारीहरुमा अहिले लटरम्म किवि फल्न थालेका छन् ।
उनको फारम धेरैको लागि सिक्ने थलो पनि भएको छ । कृषी पढिरहेका विद्यार्थीहरु फारममा आएर महिनौं बिताउँछन् ।
कलिलो उमेरमै लाहुरे बन्ने सपना पछ्याएर हिँडेका देउकुमारले देख्ने सपना फेरिएका छन् आजकल । शायद उनले अरुलाई पनि सपना देख्न सिकाइरहेका छन् ।
No responses yet