यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।
झुल्के घामसँगै एक हुल प्राविधिकहरु बर्दिया राष्ट्रिय निकुन्जको जंगल छिर्ने तयारीमा छन् । उनीहरुको काम बाघ खोज्ने ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका हाकिम रविन कडरिया आज आफैं जंगल हिँड्दैछन् । उनको साथमा छन् सिपालु प्राविधिकहरु फिरुलाल चौधरी, रामराज चौधरी र खुसीराम चौधरी ।
आजको काम चाहिँ बाघ हिँड्ने बाटोमा क्यामेरा राख्ने । लजालु बाघलाई पत्तो नदिई फोटो खिच्ने । अनि त्यही फोटो हेरेर जंगलमा कति वटा बाघ छन् पत्ता लगाउने ।
फिरुलाल पहिले कार्यालयका भान्छे थिए । ८ वर्ष भान्छामा काम गरेपछि उनी प्राविधिक भएर जंगल छिर्न थालेका हुन् ।
आज जंगलमा क्यामेरा राख्ने काम सकियो । निकुन्जको घना जंगलमा घाम डुब्यो । चित्तलका बथानहरु चर्न निस्किए ।
भोलिपल्ट फिरुलाल र उनको टोली निकुन्जको अर्को छेउतिर जाने तयारीमा छ । बबइ नदी छेउका चुरे क्षेत्रमा १५ दिन अगाडि राखिएका क्यामेरा निकाल्नुछ ।
राजमार्ग छाडेर बबई किनारबाट केहीबेर उत्तर लागेपछि हाम्रो टोली परेवाओडार पुग्यो ।
हामी केही बेर बाघको पाइला र गन्धले नै रोमान्चित भयौं ।
अलि अगाडि बढेपछि फिरुलालले रुखमा बाँधिएको क्यामेरा निकाले ।
उनीहरुले जंगलको अर्को ठाउँमा राखिएको क्यामेरा पनि निकाले । यहाँ पनि अर्को बाघ परेछ ।
क्यामेरा खोज्न जंगल डुल्दा डुल्दै फोन आयो । कोठियाघाट भन्ने ठाउँमा बाघले मान्छे मारेछ ।
हामीले जंगलको यात्रा छोट्यायौं ।
बर्दिया निकुन्जका कुना कन्दरा दुई दिनसम्म डुल्दा पनि हामीले बाघ देखेका थिएनौं । बाघका पाइला मात्र फेला परेको थियो ।
तर फर्किँदै गर्दा राजमार्गमै एउटा बाघले हामीलाई पर्खिरहेको थियो ।
No responses yet