तपाईं जोगे लोहारलाई चिन्नु हुन्न । हो जोगेलाई कसैले पनि चिन्दैन । यो देशले पनि ।
दुई छाक खानको लागि मात्रै पुरै जवानी भारतका चौकीदारीमा बिताउन बाध्य सुदूर पश्चिमका लाखौं मान्छेमध्ये एक हुन् जोगे लोहार । धनगढी र नेपालगंजका नाइटबसबाट झरेर मैलो सुरुवालको भित्री गोजीमा केही सय भारु जतन साथ लुकाएर – सीमामा आउने जाने मान्छेहरुमध्ये एक हुन् जोगे लोहार ।
जोगे लोहारले पनि उमेरका थुप्रै वर्ष भारतमा बिताए ।
तपाईं जोगे लोहारका जेठा छोरालाई पनि चिन्नुहुन्न । उनी अझै पनि भारतमै मजदूरी गर्दैछन् ।
जोगे लोहार डोटीको के आइ सिँह गाउँपालिकाको फलानो गाउँमा एक्लै बस्छन् । बार्दलीमा रेडियो बजिरहन्छ । जोगे आरनमा घन ठोकिरहन्छन् ।
छिमेकका तपबहादुर कार्की जोगेका साथी । पारिलो घाममा यी दुई बात मार्छन् ।
७० वर्ष पुग्न लागेका जोगेको बल पहिले जस्तो छैन । तपबहादुरका नातिनीहरु जोगेलाई माया गर्छन् । कहिले पानी ल्याइदिन्छन् कहिले दाउरा ।
जोगेका कान्छा छोरा शिबी लोहार यतिबेला काठमाडौंमा छन् । बालखमा पढ्न उति साह्रो मन नगर्ने शिबीलाई एक ताका जोगेले आफूसँगै भारत लगेका थिए ।
६ वर्षअघि शिबीकी आमा बिरामी परिन् । डरलाग्दो रोग लागेको थियो – गरिबी ! १४ वर्षका शिबीले आमालाई लिएर नेपालगन्जदेखि काठमाडौंसम्म ओहोर दोहोर गरे ।
आँखै अगाडि आमाको ज्यान गयो । शिबी लोहारले डाक्टर बन्ने सपना त्यही बेलादेखि देख्न थाले ।
शिबीले काठमाडौं बसाइको खर्च ट्युसन पढाएर जुटाउन थाले । भारतमा मजदुरी गर्ने दाइले डाक्टर बन्ने भाइको सपनामा मलजल गरिराखे । गाउँका स्कुलका र काठमाडौंका प्लस टुका मनकारी गुरुहरुले शिबीलाई आँट दिइराखे ।
केही महिनाअघि मात्र शिबीले डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाले । जोगे लोहारको छोरा अब डाक्टर बन्ने भए । जोगेका चाउरिएका गालामा मुस्कानहरु छरिए ।
आज मेडिकल कलेजमा शिबीको पहिलो दिन । शिबीको डेरा भैरहवा सरेको छ । डोटीबाट छोरा भेट्न जोगे पनि आइपुगेका छन् । बुबाको आशिर्बाद लिएर शिबी मेडिकल कलेजको गेटबाट भित्र छिर्छन् ।
अबको ५ वर्षपछि उनी डाक्टर शिबी लोहार हुनेछन् ।
No responses yet