यो ढुङ्गा हो । अनि उनी चाहिँ माया । माया कुशबन्दिया । माया ढुङ्गालाई माया गर्छिन् । ढुङ्गाले उनको परिवार पाल्छ ।
मायाले बुबाको माया पाउन छाडेको ४ वर्ष भयो । आफ्नी आमा अनि भाइलाई माया गर्ने माया ।
मायाको गाउँ । नेपालगंजको धम्बोजी चोकबाट लगभग ४ किलोमिटर मात्र टाढा छ । जानकी गाउँपालिकाको इन्द्रपुर । मायाको गाउँमा घरका नाममा कतै पाल मात्र छन् । कतै चाहिँ इँट्टाका दिवाल छन् । यो ऐलानी बस्तीका गाउँलेहरुसँग एक थान जिन्दगीबाहेक केही पनि आफ्नो नाममा छैन ।
मायाहरु कुशबन्दिया जाति हुन् । पत्थरकट्टा पनि भनिन्छ । पुर्ख्यौली पेशा चाहिँ ढुङ्गा खोपेर जाँतो सिलौटो बनाउने, सनपाट बाटेर डोरी बनाउने अनि गाउँ-गाउँ बेच्न हिँड्ने । आजकल जाँता सिलौटा मिक्सरको मारमा पिसिन थालेपछि उनीहरुले प्लास्टिकका बाटा बाल्टिनको ब्यापार पनि थालेका छन् ।
गोब्रेका छोरा माइकल । माइकललाई माइकल ज्याक्सन मन पर्छ । जन्मेदेखि हथौडा र पत्थरको सङ्गित सुनेका माइकललाई संगितले हैन नृत्यले तान्यो ।
माइकल गाउँ छेउमा डान्स सिक्न जान्छन् । उनलाई ठूलो डान्सर बन्नुछ । गोब्रे काकाले अहिलेसम्म छोराले नाचेको देखेका छैनन् रे ।
साँझ हामी माइकलको पछि लागेर उनले डान्स सिक्ने थलोमा गयौं ।
गोब्रे काकालाई मनमा के लागेछ कुन्नि उनी पनि छोराले थाहा नपाउने गरी खुसुक्क डान्स क्लासमा आए र ढोकमा ओझेल परेर छोरा नाचेको हेरिरहे ।
माया कुशबन्दिया रुपैडिया जान्छिन् । कहिले प्लास्टिकका बाटा कहिले राजस्थानी पत्थर किनेर ल्याउँछिन् । पथ्थर कुँदेर सिलौटा बनाउँछिन् । अनि बाटा बोकेर गाउँ गाउँ डुल्छिन् । धानसँग साट्न । मायाको संसार लगभग यति हो ।
पथ्थरमा खोपेका बुट्टा बिलाइ जालान् । बुबाको याद बिलाउँदैन । कल धारो छेउ रुखको छायाँमा जिन्दगीभरि सिलौटा खोप्ने बुबाको छाया अझै पनि त्यहिँ छ कि जस्तो । छाप्रोको दैलोबाहिर चप्पल झैं हलचल नगरी हावामा बिलाएका बुबा । हावा चल्दा अहिले पनि बुबाले सास फेरे जस्तो ।
माया पहिले पाठशाला जान्थिन् । पाठशालाका गुरुहरुप्रति भरोसा नलागेपछि ३ कक्षामा पढाई छाडिदिइन् । आजकल रुपडियाबाट प्लास्टिकका बाटा ल्याउँदा पुलिसले दुःख दिन्छ रे । लाग्छ स्कुल जस्तै यो काम पनि छाडिदिउँ । तर पेटले मान्दैन ।
माया प्लास्टिकका बाटा बेच्न आमासँग टाढा टाढा पुगेकी छिन् । काठमाडौंसम्म ।
नजिकैका खेत खोल्सा र झाडीहरुमा साँँझ परेपछि पासो थाप्ने अनि पासोमा परेका स्याल, विराला र खरायोहरुलाई विहान पकाएर खाने । कुशबन्दियाहरुले पुस्तौंदेखि जानेको जिविका हो यो ।
पुषको ठिहिर्याउने विहानीमा यो बस्ति घाम नलागुन्जेल सुतिरहन्छ । माया आज छिटो उठिन् र परालको न्यानो ताप्न थालिन् । केटाकेटीहरु घेर्न आए ।
केही बेरपछि परालको आगो चिसो भयो । घामको न्यानो तातो भयो । इन्द्रपुर गाउँका कुशबन्दिया टोलमा एकनासको सङ्गित बज्न थाल्छ । ढुङ्गा, छिना र हथौडाको सङ्गिता । ट्वाक, ट्वाक ट्वाक ट्वाक ट्वाक ।
पुरुषहरु जाँता र सिलौटा बनाउन थाल्छन् । साना केटाकेटीहरु यत्रतत्र खेल्न उफ्रिन थाल्छन् । कोही कोही मात्र स्कुल गएका देखिए ।
आफ्नो टोलबाट अविराम आइरहने हथौडाको सङ्गितलाई यतै छाडिदिएर माया आजको यात्रामा निस्किन्छिन् । उनलाई बाटासँग धान साट्नु छ । अनि पिसिँदा पिसिँदा दाँत झरिसकेका पुराना सिलौटालाई खोपेर नयाँ जीवन दिनुछ ।
बिलासपुर गाउँ पुग्ने बेला माया कराउँछिन् । बाटा साट्ने हो ? सिलौटा खोप्ने हो ?
आउँदा जाँदा बिलासपुर गाउँमा मायाले साथी बनाएकी छिन् । माया साथीको घर पस्छिन् । साथीलाई बिहेको लागि माग्न भारतबाट मान्छेहरु आएका रहेछन् ।
फर्किने बेलामा १७ वर्षकी मायाले मनको कुरा पोखिन् : उनको पनि फागुनमा बिहे हुने पक्का भइसक्यो रे । बहराईचको केटासँग ।
मायाको गाउँमा हामीले ३ दिन बितायौं । मायासँग मात्र होइन सारा गाउँलेसँग माया बसिसकेको थियो । अर्को पटक फर्केर यही गाउँ गयौं भने गाउँ उस्तै रहन्छ होला । सुनिन्छ होला हरेक घरको आँगनमा आइरहेको ट्वाक् ट्ववाक् पत्थरको सङ्गीत । तर त्यतिबेला शायद गाउँमा माया हुँदिनन् होला ।
No responses yet