जाजरकोटको अक्करे भीरहरुमा भीर मौरीको मह खोज्न गरिएको डरलाग्दा यात्राको कथा – बाघको बङ्गारा ।
उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए । साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे ।
बारेकोट, जाजरकोट
लाग्ना, △ २८७७ मिटर
उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए । साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे ।
ढोटा चौर, △ २७०० मिटर
उनीहरु आफ्नै टोलीका साथी गोविन्द सिँहको घरमा बास बसे ।
गोबिन्द यसरि वनजंगल हिँड्ने दिन पत्नी होइजाली सिँहको मन चिसो हुन्छ । उनी तातो रोटीले श्रीमान् र साथीहरुलाई विदा गर्छिन् ।
टोलीमा केही गाउँलेहरु पनि मिसिए ।
सिउताराको लेक ( देउराली) , △ ३०२८ मिटर
उकालै उकालो हिँडेर उनीहरुका कथा सुन्दै हामी सिउताराको लेक पुग्यौं ।
यहाँबाट अफ्ठ्यारो बाटो सुरु भयो । भीरपाखा हिँड्ने बानी नभएका हामीलाई असाध्यै अफ्ठ्यारो ।
ठाडा भीरका घाँस पन्छाउँदै टेक्ने ठाउँ बनाउँदै दलबहादुर अघि अघि लागे । यहाँ कसैको पाइतालको छाप थिएन । बाटो आफैंले बनाउनु पर्ने ।
अनुभव नभएका हामीलाई पौडी खेल्न नजान्नेलाई पोखरीमा फाल्दिए जस्तै भयो । घाँस र बुट्याउनको सहारा लिँदै ठाउँ ठाउँमा चार हात खुट्टाले घस्रिएर हामी अघि बढिरह्यौं ।
हात खुट्टाले जमिन छाडे भने हामी सयौं मिटर तल बजारिन सक्थ्यौं ।
हामीलाई बाँच्नु थियो । हातले कहिँ सिस्नु, कहिँ काँडा समाउँथे । दुखेको घोचेको महशुस भएन ।
ठाउँ ठाउँमा साना बिसाउनी भेटिन्थे । हामी सास फेर्थ्यौं ।
बाटोमा दायाँ बायाँ विषका बोटहरु भेटिन थाले । गाउँलेहरुले हामीलाई ती बोट नछुन चेतवानी दिए । अब समाउने ठाउँ पनि भएन ।
अफ्ठ्यारा ठाउँमा उनीहरुले हाम्रा हात समाते ।
तल पुगेपछि हामीले भर्खर पार गरी आएको भीर देखियो । त्यो डरलाग्दो दृश्य धेरै बेर हेर्न समेत सकिएन ।
आधा बाटो पुगेपछि हामीलाई न अघि बढ्ने आँट आयो न पछाडि फर्किने । गाउँलेहरुले साहस दिए ।
भीराला निगालाघारीहरु छिचोल्दै हामी बास बस्ने ओडारमा पुग्यौं । हाम्रा खुट्टा कामेका थिए । मुख सुकेका थिए ।
खल टाकुरी ओडार, △ २७०० मिटर
आजको बास यही ओडारमा हुनेछ ।
हामीलाई बाँचेर आएकोमा सन्तोष थियो । भोलि उही बाटो फर्केर जानु पर्ने कुरा मनले सोच्न मानेको थिएन ।
मह काढ्न जाने भीरमा त जानै बाँकि छ ।
देउराली पूजाको तयारी भयो ।
देउराली पुजा गरेपछि मह काढ्ने टोली अगाडि बढ्यो । हाम्रो टोली पनि दुई तिर बाँडियो । क्यामेरा बोकेर जीवन गोबिन्द सिँह र गाउँलेहरुसँग भीरको तलतिर गए ।
दलबहादुर र साथीहरुले भीरको डीलमा पुगेर डोरी खसाले । माथि बसेका हामी चाहिँ उनीहरुको नजिक पुग्नै सकेनौं ।
निकैबेरको प्रयासपछि पनि दलबहादुर भीरको नजिक पुग्न सकेनन् । आजलाई भैगो, दिन पनि गैगो । भोलि बिहानै फेरि भीरमा जाने निर्णय गरेर उनीहरु मह नकाढी फर्के ।
अफ्ठ्यारो बाटो भीरको तल्लो पटि गएका जीवन फर्केर आउँदा उनीसँग बोल्ने शब्द कम र आँखाभरि आँशु ज्यादा थियो ।
हामीले डर र दुःख बिर्सिने प्रयास गर्यौं । खुल्ला ओडारमा हाम्रो रात बित्यो ।
एका विहानै मह काढ्न जाने टोली तयार भइसक्यो ।
No responses yet