बगानको कथा
छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो ।
उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् ।
चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए ।
विहान साँढे ६ बजे साइरन बज्छ । मानिसहरु हतारहतार बगान छिर्छन् ।
बगानका घामपानी र झारखन्डबाट ओसारिएका जिन्दगीहरुलाई तारापद सिँह राजवंशीले नियालेको ४१ वर्ष भयो । तारापद बगानका बैदार हुन् ।
सम्झना उरावका बाजे पनि झारखन्डबाट आएका थिए रे । सम्झनाको सम्झनामा ती ठाउँ छैनन् । यहीँको घाम पानी उनको जिन्दगानी । पानीवाली सम्झना तिर्खाएकाहरुलाई पानी खुवाउँछिन् । फुर्सदमा पत्ती टिप्छिन् अनि छोराछोरीलाई भात खुवाउँछिन् ।
आज बैदार फुर्तिला देखिन्छन् । शुक्रबार कामदारलाई पैसा बाँड्ने दिन हो । पत्ति टिपिरहेका मान्छेहरु मनमनै हिसाब गर्दैछन् र बुन्दैछन् साँझका एक छाके सपनाहरु ।
अचानक फ्याक्ट्रीबाट फोन आयो । आज पैसा नपाइएने भयो रे । सबैका अनुहार एकाएक फिक्का चिया झैं भयो ।
जेठको घामले जत्तिकै मनले पोलेको छ । तर पनि हाँस्न बिर्सेकी छैनन् हेदली राजवंशीले ।
–
कतिले आफूले छाडि आएको संसार भुले । कति यतै भुले । पनाती पुस्ता अहिले पनि चियाका पत्ती टिप्दैछ । किरा मार्ने औषधी छर्दैछ ।
यसैगरी जिविकामै बित्छ दुई दिनको जिन्दगी ।
बेला बेला नयाँ पुस्तालाई नागरिकताले घोच्छ । मनले सोध्छ, मेरो देश खै ? भातसँग पसिनाको सौदा गर्न टाढा कतैबाट ल्याइएका बाजेहरुलाई सोध्नु कि । भोट माग्न आउनेहरुलाई सोध्नु । या सोध्नु आफ्नो उमेरभन्दा पुराना चियाका बोटहरुलाई ।
हुन त यहाँका मान्छे, गाउँ र चियाका बोटहरु उस्तै उस्तै लाग्छन् । कसैलाई पर्खिबसेको जस्तो । कसैले बिर्सिगएको जस्तो । आफ्नै संसारभित्र बन्दी भए जस्तो । देश यही, परिवेश यही ।
हो बगानभित्र छुट्टै संसार छ । डेरा हो कि घर – बगानभित्र क्वाटर छ । चियाका बोटसँगै उमेर पर पर सर्छ । बेला बेला म्यानेजरले गाली गर्छ । तर पनि चिया पत्तीकै भर छ ।
टाढाबाट हेर्नेलाई चिया बगान सुन्दर लाग्छ । बगानमा लहरै नाचेका गीतहरु झन् सुन्दर लाग्छ । यहिँ जन्मे हुर्केकाहरुलाई भने यहाँको संसार कहिले पोल्ने घाम जस्तो, कहिले सिमली छाया जस्तो । बगानमा कहिले पुतली भेटिन्छन् कहिले बारुला ।
फ्याक्ट्रीबाट फेरि फोन आयो । आज ज्याला पाइने भयो रे । छिनछिनमै हाँस्न मन लाग्छ । छिनछिनमै रुन मन लाग्छ भने झैं भयो । अघि सबैको अनुहारमा हराएका चमक फर्केर आए । पत्ती टिप्ने हात छिटो छिटो चल्न थाल्यो । बैदार साइकल टिपेर छिटो छिटो फ्याक्ट्रीतिर लागे ।
दिनभरि मान्छेहरुले पत्ती टिपिरहे । बेला बेला ट्याक्टर आउँथ्यो र जोखेर लैजान्थ्यो श्रम र पसिनाहरु ।
घाम अस्ताउन लाग्यो । मानिसहरु सुस्ताए । सबैका पाइला फ्याक्ट्रीतिर लम्किए ।
पैसा बाँडिरहँदा गेटबाहिर लत्ताकपडा बेच्ने मोटरसाइकलवाला आइसकेका थिए ।
हप्ता बुझेका मानिसहरु अबेरसम्म फुटानी चोकतिर तिहुन चामल किन्दै थिए ।
साँझ बगानका क्वाटरहरुमा चुल्हो बल्न थाल्यो ।
No responses yet