शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो ।
पश्चिम बाग्लुङको रुकुम रोल्पासँग सिमाना जोडिएका गाउँका गोठहरु जेठदेखि असोजसम्म लेकतिरै हुन्छन् ।
आज गाउँ फर्किने खुसियाली छ । चाडबाड आए जत्तिकै भएको छ । मान्छे मात्र हैन बस्तुभाउ पनि गाउँसँग न्यास्रिएका छन् । सबैलाई गाउँ पुग्ने हतारो छ ।
कमारी घर्तिमगर २ वटा पाडाहरु डोर्याउँदै ओरालो झर्दैछिन् । लेकको गोठमै जन्मेका यी शिशु पाडाहरु पहिलो पटक यति लामो यात्रा गर्दैछन् ।
यी कठीन पहाडहरुमा भर्खरै कालोपत्रे गरिएको मध्यपहाडी लोकमार्गमा अलकत्राका बास्ना अझै ताजै छ । गोठहरु गाउँ झर्दा आजकल सडकै सडक हिँड्छन् । बेला बेला जिप र ट्याक्टरहरु देख्दा डिङ्गाहरु तर्सिन्छन् ।
बुकी फूलका बासहरु पाटन तिरै छोडि आएका छन् गाउँलेहरु । कमारीकी नातिनीले डोकामा केही थुङ्गा लेकाली फूलका सम्झनाहरु सँगालेर ल्याएकी छिन् ।
गाउँ झर्नेहरुको लस्कर विहानदेखि बेलुकासम्म देखिन्छ । गोठमा बस्नेहरुलाई लिन अघिल्लो दिन नै घरबाट कोही न कोही पुगेका हुन्छन् ।
गोठहरु सप्पै झरेपछि पाटनहरुमा यतिखेर हावा चलेको बाहेक अरु आवाज सुनिँदैन । पर गोठ देखियो, कुकुर कराएको सुनियो ।
हिँड्दा हिँड्दै हामी बाग्लुङबाट रोल्पा पुगिसकेछौं । भेडा गोठमा रोल्पाली युवाहरु भेटिए ।
फर्किरहँदा अर्का गोठालेसँग भेट भयो । चामल किन्न हिँडेका रहेछन् । सडकले दुःख घटाइदिएको छ । बाटो छेउमा जिपले चामल झारिदिन्छ ।
उता गाउँमा रमाइलो चहल पहल थियो । कोही पुगिसकेका थिए । कोही अझै बाटोमै थिए । ठूलो मेला लागे झैं थियो ।
गाउँ नियमले चलेको छ । गाउँ छेउको फराकिलो बाँझो बारीहरुमा सप्पैका गोठ आइपुगे । अबको केही हप्ता यहिँ बस्नुपर्छ । फेरि अर्को गाउँ फुक्छ, अनि मात्रै अघि बढ्न पाइन्छ ।
पल्लो गाउँका सम्मले यहिँ गोठ बिसाए । कोहि खानपिन गरी आराम गर्दै थिए । कोही चाहिँ बल्ल किलो ठोक्दै थिए ।
सुनसान गाउँमा सँधै असोज ५ गते यसैगरि गुल्जार आउँछ । महिनौं भेट नभएका प्रिय मान्छेहरु भेटिन्छन् । थकाइका तिर्सनाहरु मेट्छन् ।
अर्को साल फेरि मकै छरेर उही बाटो उकाली चढ्नु त छँदै छ ।
No responses yet