असममा गाई पाल्न जानेहरुले शायद जल र जङ्गल रोजे ।
सर्बाङ खोलालाई पछ्याउँदै कति मान्छे भुटानबाट झरे । कति नेपालबाट पुगे । कोक्राझार जिल्लाको खलासी भन्ने ठाउँमा जङ्गलका माझमा गाई पाल्नेहरु अझै भेटिन्छन् ।
कोक्राझारको कथा
झारबारी गाउँमा नेपालीभाषीको बाक्लो बस्ती छ । हामी जङ्गलको गोठ ताकेर हिँडेका थियौं । रात पर्यो । हामीलाई बाटो देखाउनेहरुले हात्ती भगाउन एटम अर्थात पटाका किने ।
खोला र जङ्गलको लामो बाटो राति राति नहिँड्ने सल्लाह भयो । हामीले झारबारीमै बास पायौं ।
पुस्तौंदेखि गाईभैंसी पाल्दै आएका यहाँका मान्छेहरु बिस्तारै बिस्तारै जङ्गल छाडेर गाउँछेउ सर्न थालेका छन् ।
एकाविहानै गोठमा चहलपहल सुरु भइसकेको छ ।
सिन्धुपाल्चोकका सोनाम शेर्पा कुनै दिन भुटानमा बाटो खन्न पुगेका थिए । भुटानबाट असम आइपुगे । महाजनको गोठमा जिन्दगी बित्यो । अब त नेपाल फर्किन पनि मन छैन रे । सोनामको नाम पनि सोनाम शेर्पा पोखरेल भइसक्यो ।
यहाँबाट टाढा उत्तरमा देखिने भुटानमा सर्बाङ खोला शिरतिर जन्मेका थिए भोला भट्टराई । भुटानबाट लखेटिएपछि गोठाला भएर वाल्यकाल यसै ठाउँमा बितेको थियो । त्यसपछि नेपालको शरणार्थी क्याम्प हुँदै अष्ट्रेलिया पुगेका भोला १५ वर्षपछि उही गोठ र गोबरको सुगन्ध पछ्याउँदै आइपुगेका रहेछन् ।
८८ वर्षका इश्वरी पोखरेल ८ वर्षको हुँदा भुटानबाट झरेका थिए ।
इश्वरी बाका छोरा यादव पोखरेल धेरै जसो यहाँबाट टाढा जङ्गलको गोठमा बस्छन् । हिजो राति हात्तीको डरले जान नसकेको उनको गोठतिर हाम्रा पाइला मोडिए ।
भोलिपल्ट गोठ र गाउँबाट विदा भएर हामी सिक्ना झालो राष्ट्रिय निकुन्जको खलासी जङ्गलाई छिचोल्दै अझै उत्तरतिर लाग्यौं ।
भुटानको सिमानामा फेरि भेटियो सर्बाङ खोला अनि सरलपाडा गाउँ । दुइतिर घना जङ्गल र एकतिर भुटानका पहाडले घेरेको कुनाको गाउँ ।
असमको यो भेगका आदिवासीहरुले विगतमा पटक पटक पहिचानका लागि हतियार उठाएका थिए । सशस्त्र द्वन्द्वले यहाँका नेपाली समुदायलाई पनि पिरोलेको थियो ।
सिन्धुपाल्चोक र सोलुखुम्बुबाट कति पहाडहरु नाघेर यहाँसम्म पुग्यो होला मान्छे । सर्लाहीबाट कति नदी तरेर यहाँसम्म पुग्यो होला मान्छे । जिन्दगी बाँच्नको लागि गरेका प्रतिरोधका श्रृंखलाहरु नै शायद मान्छेका कथा रहेछन् ।
