EP140 Finding Juntara

 

२०७६ वैशाख ३ / २०१९ अप्रिल १६

 

आजभन्दा झन्डै ६ वर्षअगाडि हामीले भेटेका थियौं १३ वर्षकी जुनतारालाई काठमाडौंको एउटा इँटाभट्टाको झ्याउलीमा । 

६ वर्षपछि रोल्पा पुगेका बेला हामीलाई जुनतारालाई खोज्न मन लाग्यो ।

 

मध्यपश्चिमको कुनाको कुनै गाउँको साँघुरो आँगनको डिलमाथि उभिएर पनि, अग्ला पहाडका खोँचबाट, पर पर क्षितिजमा हेर्दा देखिँदो रहेछ सपना । खै! टिपेर पोल्टा भर्न सकिने हो कि होइन जुनतारा जस्ता सपना ! 

 

उमेरका गुँरास फुल्ने बेला जुनतारा विश्वकर्मालाई घर आँगन सानो लाग्यो, उनको दृष्टिमा अटाएको आकाश सानो लाग्यो । अनि एक दिन डाले घाँस टिप्न हिँडेकी जुनतारा, घाँसको भारी त्यतै छाडिदिएर लागिन् सपनाको शहरतिर । 

 

६ वर्षपछि रोल्पा पुगेका बेला हामीलाई जुनतारलाई खोज्न मन लाग्यो ।

 

जुनतारालाई खोज्दै

Finding Juntara 

 

२०८१ फागुन १८ / २०२५ मार्च २

 

लगभग ६ वर्षपछि घाँसको भारिसँगै आफ्नै गाउँमा भेटिइन् जुनतारा । 

 

सपनाको ठूलो शहरमा जुनतारा अटाउन सकिनछन् । इँटाभट्टाको ३ महिने बसाइपछि जुनतारा फर्किइछन् आफ्नै गाउँ । गाउँ आएलगत्तै बिहे भएछ । २० वर्ष लाग्दै गरेकी जुनतारालाई जिन्दगीले दिएको उपहार – ३ वर्षे छोरी ।  

 

विदा भएर गाउँबाट ओरालो झरिरहँदा आँगनको डिलमाथि जुनताराले विदाईका हात हल्लाइरहेकी थिइन् । जुनतारा ओझेल परिसक्दा पनि मनमा कुराहरु खेलिरहे:

 

कथा जुनताराको  अर्कै लेखिन सक्थ्यो कि 

मुहार जुनताराको फेरिन सक्थ्यो कि 

 

बिसै वर्षे जिन्दगीको, भारी कत्ति सारो

सपनालाई बिर्सिएर बाँच्न कत्ति गारो

 

कहिले होला काठमाण्डुले जुनतारालाई देख्ने ?

कहिले होला यी गाउँले नयाँ कथा लेख्ने ?

 

पाखाभरि ढकमक्क गुराँसलाई चिन्ने 

गुराँसका फेद मुनि दुःख  कसले देख्ने ?

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *