लन्डन शहरको ग्रिनविच भेगतिर नेवारहरुको बाक्लो बसाई छ । नेपालका जात्राका रौनक र भोजका बास्नाहरुलाई यतै छाडिदिएर परदेशिएकाहरुलाई बेला बेला घरको यादले सताइरहन्थ्यो । अनि उनीहरु जुट्न थाले । सिक्न र सिकाउन थाले । आजकल लन्डन शहरमा धिमे र धाँ बाजा घन्किन्छन्, बिस्केट जात्रामा रथ तानिन्छ, कुमारी र भैरव नाच हुन्छन् ।
लन्डन शहरबाट १ घन्टा टाढा रसमोर जिल्लामा चाहिँ तारो खेलिन्छ । यहाँका थकाली र मगरहरु नजिकैको जङ्गलमा भेला हुन्छन्, तारो हान्छन् अनि वनभोज खान्छन् । तारो खेल्न स्थानीय प्रशासनले ठाउँ नै छुट्याइदिएको छ ।
