कर्णाली राजमार्ग हुँदै हिमा नदीको तिरैतिर मुगुतिर लाग्दा सुन्दर सिँजा उपत्यकाका फराकिला फाँटहरु भेटिन्छन् । कनकासुन्दरी गाउँपालिकाको गोठिज्यूला बजारबाट राजमार्ग छाडेर पश्चिमतिर एउटा बाटो बिस्तारै उकालो लाग्छ । यही बाटो पछ्याउँदै जाँदा पुगिन्छ बुडू गाउँ ।
खोला छेउमा गाउँलेहरु एउटा ठूलो ढुङ्गालाई आकार दिँदै थिए । पुरानो भइसकेको पानी घट्टमा राख्ने नयाँ ढुङ्गाको खोजीमा उनीहरु आइपुगेका थिए ।
एकछिन खोलाछेउ गफिएपछि हामी पूर्णबहादुरको पछि लागेर अलिपर गाउँछेउ पानीघट्टमा पुग्यौं ।
बुडु गाउँ पुग्दा झमक्क अँध्यारो भइसकेको थियो । बास बस्ने ठाउँमा भेटिए राजाराम बुढा । गाउँमा ८ कक्षासम्म पढेका राजाराम मुगुमा मजदूरी गर्छन् । अहिले खेत जोत्न गाउँ आएका ।
हामी राति अबेरसम्म राजारामका काव्यरसमा भुल्यौं ।
झुल्के घामसँगै कर्णालीको यो सुदूर गाउँ बिउँझियो । अझै पनि आदिम समय बाँचिरहेको यो गाउँका कर्मजिवीहरु जुर्मुराउन थालिसके ।
शान्ति बुढा र उम्मा बुढा एकाविहानै ओखलमा धान कुट्दैछन् । कोही भाँगो पेलेर तेल निकाल्ने तयारी गर्दैछन् । कोही राडीपाखी बुन्दैछन् । राजाराम बुढा विहानैदेखि बारी जोत्दैछन् ।
गाउँलेहरुले हामीलाई पुराना नाच देखाए ।
डोकोलाई महिलाको आकृतिमा सिँगारेर बिहेको बेलामा देखाइने चम्पा नाच अनि बालक जन्मेको छैठौं दिनमा देखाइने बालो ।