Rabi The Dog

वर्षमान पुनलाई चिन्ने हाम्रो कुकुर रवि!

कक्षा ६ मा पढ्ने बेला को कुरा हो, अर्को गाउँको कुकुर हाम्रो गाउँ घुम्न आयो । त्यति बेला हाम्रो कुकुरमोहले त्यो कुकुर छोप्न म र धुर्ब २ जना पछि लाग्यौं । दुगुर्दा दुगुर्दा त्यो कुकुरकै गाउँ पुग्यौं । त्यहाँ पुग्दा त्यो कुकुर सँग भेट हुन आईपुग्यो रवि । २ वटा कुकुर भेट भएसी हाम्लाई समाउन सजिलो भयो । रबि लगभग १ बर्ष जतिको थियो । हामीले पछ्याएको ठूलो कुकुरलाई बाबियोको डोरीले बाँधेर डोर्याउँदै आउँदा पछिपछि आएको थियो रवि ।

हामीले ती दुई वटै कुकुर चोरेर आफ्नो गाउँमा ल्यायौं। रवि मैले पाल्ने र अर्को ठूलो कुकुर चाहिँ सागरलाई पाल्न दिने निर्णय भयो । धुर्बको घरमा पहिले नै एउटा कुकुर भएकाले अर्को कुकुर सागरलाई दिने भएका थियौं ।

सागरले पाल्न लगेको कुकुरको नाम चाहिँ बेटे थियो । उसले त्यो नाम आफ्नो मालिक बेट बहादुरबाट पाएको थियो । रविका मालिकको नाम चाहिँ डिलबहादुर घर्ती थियो ।

म र मेरा दाइ नारायण दुई भाइको सल्लाह भो कुकुर पाल्ने । तर घरमा आमाले गाली गर्नुहुन्छ भन्ने डर थियो । बुबा हटिया बजारमा बस्ने हुँदा बुबाको डर थिएन । त्यो दिन लुकाएर गोठको माथि भारमा राखियो । आफूले खाने खाना आमाले नदेख्ने गरी खुवायौं । त्यतिबेला पनि विदेशी प्रभावमा नपरी शुद्ध नेपालीमा मैले राखिदिएको नाम थियो रवि ।

भोलिपल्ट विहानै रविका मालिक डिलबहादुर दाइ पारिबाट आएको देखेपछी मैले र दाईले उनी घर आइनपुग्दै रविलाई लुकाउन डेर्याएर गाउँको माथितिर लग्यौं । घरमा कसैलाई सुइँको थिएन । कुकुर नभेटेपछि उनी फर्केर गएछन् ।

यसैगरी एक हप्तासम्म रविलाई लुकाईयो । घिउ खुवाएपछि कुकुर पल्किन्छन भन्ने सुनेर आमा नभएको बेला घरको घिउ चोरेर पनि खुवाईयो । उता अर्को बेटे कुकुर चाहिँ भोलिपल्ट नै आफ्नो घर टाप कसेछ ।

एक हप्ता पछि घरमा पनि थाहा भो । डिल बहादुर दाइ पटक पटक आउनुभो । एकदिन  फेला पारेर हामी २ भाइलाई गाली गर्दै रविलाई लिएर जानुभो । हामी दाइभाइ खिन्न भयौं । तर भोलिपल्ट विहानै रवि लुखुर लुखुर हाम्रो घर फर्केर आयो । हामीले चोरेर खुवाएको घिउले ठूलै काम गर्यो ।

पटक पटक फिर्ता लाने डिल बहादुर दाई को प्रयास असफल भो । तर कहिले काहिँ डिलबहादुर दाईलाई भेट्न रवि आफैं जाने गर्थ्यो । बिस्तारै घरमा पनि रविलाई सबैले माया गर्न थालिसकेका थिए । परिवारकै सदस्य जस्तो भएको थियो रवि ।

गाउँतिर बाँदरको बिगबिगी रविको डरले हराउँदै गयो । मकै र आलु खाएर सताउने दुम्सी पनि आउन छाडे । रवि समाजकै महत्वपुर्ण सदस्य बन्यो।

रवि बुद्धिमान थियो । भनेको मान्थ्यो । जति टाढा भए पनि रवि चेचे भनेर घरका मान्छेले बोलाए पछि पुछार हल्लाउँदै आईहाल्ने । स्कुलबाट घर आइपुग्दा होस् वा कतै गएर घर फर्कँदा घरदेखि अलि वर सम्म पुच्छर हल्लाउँदै लिन आउने उसको बानीले उ सबैको प्यारो थियो।

घरभित्र जान मान्दैनथ्यो । सँधै बाहिर पिँढीको डिलमा चनाखो भएर बस्थ्यो । घरभित्र लगे पनि बाहिर निस्की हाल्थ्यो । राति गोठ माथि बार्तली बाहिर बस्थ्यो । हेन्सी थियो । गाउँका सुन्दर कुकुर्नीहरुलाई प्रेमजालमा पारेर कहिले काहिँ सटुक्क डेटीङ पनि जान्थ्यो । डेटिङ जाँदा शारिरिक सम्पर्क पनि राख्दो रहेछ । रविको विउ फलानो कुकुर्नीको पेटमा छ भन्ने थाहा पाएसि पेटमै भएका छाउरा छाउरी को मूल्य हुन्थ्यो ।

सार्है मायालाग्दो थियो रवि । रविसँग लड्ने कुकुरहरु सबै हार्थे । गाउँमा कुकुर लडाएर रमाईलो गर्ने हाम्रा दौंतरीमाझ रविको चर्चा ठूलै हुन्थ्यो । रवि फस्ट भयो भन्ने कुरा चल्थे ।

एकदिन घरमा दुर्गा दिदीले घर बढार्ने बेला रविलाई कुचोले हान्नुभएछ ।अनि त्यो दिन रवि घर मुनि बारीको छेउमा चिन्तित भएर बसेको थियो । खाना खान बोलाउँदा पनि आएन । बारीको छेउमै घुर्की लाएर बसिरह्यो । रातिसम्म पनि नआएसी हामी दुई भाइले दिदीलाई गाली पनि गर्यौं । अन्तिममा दिदीले नै चेचे भनेर खान बोलाउँदा, जुरुक्क उठेर पुच्छर हल्लाउँदै आयो ।

गाउँतिर अहिले पनि मान्छेलाई नराम्रो काम गर्दा कुकुर कुकुर्नी भनेर गाली गर्छन् । तर रवि यतिसम्म बुद्धिमान र मनमा कुरा राख्ने खालेको थियो । कुच्चोले टुच्च हान्दा यसरी पीर मानेको देखेर हामी सबै अचम्ममा पर्यौं ।

जनयुध्दकालमा एकदिन माओवादी नेता हालका उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ राति १२ बजे हाम्रो घरमा आउँदा कुकुर भुक्यो । अनन्तले बाटैबाट कराएर ‘भाइ कुकुर बान्नुस्’ भने । दाइ उठेर रविलाई बोलाए पछि  बाटोसम्म भुक्दै गएको कुकुर फर्केर आयो ।
अनन्तहरुले डोकोमा सोलार, बिजुली, माईक र साउन्ड सिस्टम बोकेर आएका थिए । हाम्रो घरमा राख्न ल्याएका रहेछन् । अनन्त हाम्रो घरमा बेलाबखत आइराख्थे ।

गाँउपारि ददल्काको मन्दिरमा सँधै विहानै माईकबाट भजन किर्तन बज्ने गर्थ्यो र गाँउका सबैको निद्रा खुल्थ्यो । तर भोलिपल्ट विहान माईकबाट भजन बजेन र मन्दीरमा लाईट पनि बलेन । अनि बल्ल हाम्लाई थाहा भयो अनन्तहरुले राति ल्याएको सामान त्यही मन्दीरको रहेछ ।

अर्कोदिन गाउँतिर माओवादीले ददल्काको मन्दीर फोरे भन्ने ठूलै हल्ला थियो । कसैलाई नभन्नु भनेको हुनाले त्यो कुरा गुपचुप नै रह्यो । नभन्नु भनेको कुरा कसैलाई भन्न डर त्रास पनि हुने भयो ।

धेरै पटक आईरहँदा अनन्तलाई पनि कुकुरले राम्रोसँग चिन्न थाल्यो । पछि पछि अनन्त आउँदा बाटोबाटै कराएर ‘कुकुर बान्नुस् भाइ’ भन्न पनि परेन । रविको लागि उनी पनि परिवारको सदस्य जस्तै बनेका थिए । अनन्त त यस्ता सयौं घरमा बसेर भुलिसके होला् । तर मलाई यही कुरा अलि अस्ति जस्तै लाग्छ ।

एकदिन तिजमा आएकी दिदीलाई छाड्न रिस्मीबाट बिहु जानुपर्यो । रवि मेरो र दिदीको पछिपछि लाग्यो । फर्किन मानेन । ठाडोओढार, भैँसेको दरम पुल तर्ने बेला रवि डरायो । तर्न सकेन । टाढा आउन्जेल पुलपारि उभिएर हेरिरह्यो । एक्लै थियो । बाटो मा कसैले हान्ने हुन् कि! हराउने हो कि! कसैले छोपेर राख्ने हुन् कि ! भनेर चिन्ता लायो । दिदीलाई छाड्न भान्जा बोकेर बिहु हिँडेको म घोडाबाँधे सम्म पुगेर ‘भान्जा ओरालोमा हिँड्न सक्छन्’ भनेर बिचबाटै फर्किनुको कारण थियो रविको चिन्ता ।

पछि घरमा दिदी दाइहरु बजारतिर पढ्न जानु भो । घरका धेरै सदस्यहरु नहुँदा रविलाई पनि एक्लोपन भयो होला । अलि बढि हिँडडुल गर्न थाल्यो । १२ कक्षाको परीक्षा सकेर म पनि काठमाडौं तिर लागेँ । घरमा फोन गर्दा रवि कहाँ छ भनेर सोधी रहन्थे ।

संयोग नै मान्नुपर्छ पहिला हाम्ले कुकुर चोर्दाका मालिक डिल बहादुर घर्ती दाई हाम्रै घर नजिकै बसाई सरी आउनुभएको थियो । वहाँ बसाई सरी आएसी रवि दुई घरको साझा जस्तै भयो । अरु बेला डुल्न हिँडे पनि चाडबाडमा म घर जाँदा भने रवि चाडबाडभरि घरै बस्थ्यो ।

पछि म जापानतिर आएँ । जापान आएपछि पनि रविको खबर फोनमा सोधी रहन्थेँ । तन्नेरी छँदा बलियो हृष्टपुष्ट रवि पटक पटक बाघको आक्रमण परेर पनि जोगिएको थियो ।
रविका दावली कुकुर कुकुर्नीहरु र उ पछिका कुकुर कुकुर्नी पनि बाघको आक्रमणबाट १ बर्षपनि बाँच्न पाउँदैन थिए । तर रविको आयु भने लामो नै रह्यो ।

म जापान आउने बेला नै बुढ्यौली लागेर शरिरका रौं झर्न थालेका थिए । जापान आएको साँढे २ बर्ष पछि बाघकै आक्रमणले रवि संसारबाट विदा भएको खबर सुनेँ ।

…रवि संसारमा छैन । तर उँसग रिलवाला क्यामेराबाट कैद गरेको यो तस्बिर सम्झनामा सदासदा रहिरहनेछ….

 

यदुराम सापकोटाको नेपालको ठेगाना गल्कोट बाग्लुङ हो । हाल उनी जापानमा बस्छन्...

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply