खरिदे खोज्दै जाँदा …

पूर्वका पहाडहरूमा खरिदे परिचित शब्द हो। गाउँघरका पशु चौपाया खरिद गरेर बेच्ने मान्छे नै खरिदे हुन्। कसैले राँगा, बाख्रा खरिद गरेर बेच्छन् त कसैले गाई, गोरु। यो पुरानो पेशा हो। खरिदेले पशु चौपाया बटुल्छन्। गन्तव्यसम्म पुर्‍याउनेलाई चाहिँ खेदुवा अथवा पिटुवा भनिन्छ। हेर्ने कथाको ११७ औं अङ्कमा खरिदेसँगै खेदुवा वा पिटुवाको कथा समेटेका छौं। थुप्रै कथाहरूको गठजोठपछि मात्रै बल्ल एउटा हेर्ने कथा तयार हुन्छ। एउटा कथा भिडियोमा देखाउँदै गर्दा थुप्रै कथा अव्यक्त भएर बसिरहेका हुन्छन्। त्यसैले खरिदेको कथा बनाउँदै गर्दा क्यामेरामा कैद नभएका कथाहरू मैले अक्षरमा उतार्ने प्रयास गरेको छु।

खरिदेको कथा गर्ने पुरानै योजना थियो। करिब दुई वर्षअघिको। चेफाको कथा खिच्दै गर्दा टोलीले गोरुको लस्कर देखेको थियो। कथा बन्छ कि क्या हो ? भनेर बाङ्गे बजारसम्म त्यही बेला पुगेको पनि हो। कथा बन्छ भन्ने पक्का पक्की भो। तर कहिले ? त्यसको जवाफ थिएन। पूर्व भन्ने बितिक्कै यो कथाको कुरा चल्थ्यो। त्यसैले हेर्ने कथाको फेसबुकमा घर भोजपुर भनेर मेसेज पठाउने अधिकांशलाई हामी खरिदेबारे सोधखोज गरिहाल्थ्यौं। यस्तैमा टिकाराम सुबेदीले आफ्नो बुवा भूपू खरिदे हुन् भनेर मेसेज गरे। यही लहरो तान्दै हामी खरिदेहरुसम्म पुगेका हौं।

२०८० साल। माघ महिनाको १६ गते, मंगलबार। बिहानको ४ बजे। यही कथालाई केन्द्रबिन्दुमा राखेर हाम्रो यात्रा सुरु भयो। कथाको विषय थाहा थियो। कथाका सिनहरु दिमागमा सेट थिए। तर सेट थिएन, लोकेसन अनि क्यारेक्टर। जुन कथाका मुख्य मेरुदण्ड हुन्। तै पनि टोली बिन्दास थियो। किनकी हामीसँग अपेक्षा धेरै थिएनन्। तर थिए, अप्सनहरु। अनि थियो संयोगले जुराउने अनपेक्षित सरप्राइजहरुको प्रतिक्षा। जसले हामीलाई नसोचेको खुशी दिनसक्थ्यो। थुप्रै कथाहरूमा संयोगले यस्ता खुशीहरू मिलेका रहेछन्।

म हेर्ने कथाको नयाँ सदस्य। टोलीसँग यो मेरो दोश्रो यात्रा। हेर्ने कथाका हरेक शृंखला हेर्दा लाग्थ्यो, जम्बो टोली होला। तर होइन। पाँच जनाले पुरै प्रोडक्सनको काम सम्हालेर कथाहरू पस्किन्छौं। यात्रामा हुँदा हाम्रो सिंगो अफिस नै गाडी हो। किनकी कथा बनाउन हिँड्दा अफिस खाली हुन्छ। जबसम्म काममा धस्सिनौं, कुनै रिफ्रेसमेन्ट यात्रामा छौं जस्तो लाग्दो रहेछ। जब काम सुरु हुन्छ, आरामलाई बिर्सन टोली बानी परिसकेको रहेछ। मैले एक महिनाको संगतमा महसुस गरेको कुरा हो यो।

हामी कान्तिराजपथको बाटो हुँदै बिहान ७ बजे हेटौंडा पुग्यौं। कृष्ण कन्हैया डेरीमा आगोको रापले दूध उम्लिँदै थियो। खुवा बन्नका लागि दूध बाक्लिँदै थियो। यहाँको बाक्लो दूध मेरो लागि नौलो थियो। तर टोलीको लागि यो पुरानै स्वाद थियो। हामीले त्यही बाक्लो दूध पियौँ। दूध चियाको डाइहर्ट फ्यान विद्या दिदीले यात्राको पहिलो कप मिठो चियाको उद्घाटन गर्नुभयो।

हेटौंडाबाट हामीले मदन भण्डारी भित्री मधेश राजमार्गको बाटो समायौं। मेरो लागि यो नयाँ बाटो थियो। सिन्धुलीकै मान्छे भए पनि मैले सिन्धुलीको दक्षिणी भेग देखेको थिइन। हेटौंडा फापरबारी रोड हुँदै करिब ११ बजेतिर सिन्धुलीमाढी पुग्यौं। खान खाने होटलको खोजी भयो। सिन्धुलीमाढीको दुई नम्बर बजार चक्कर लगायौँ। टोलीमा यहाँको पुरानो माछा-भात पाउने होटलमा खाना खाने बहुमत जुट्यो।

यात्रामा कुनै कुराको निचोडमा पुग्न अक्सर भोटिङ भइराख्छ। यो भोटिङको नतिजाले यात्रालाई झनै रोचक बनाइदिन्छ। झन् खानपानको कथालाई त यसले नयाँ नयाँ किस्साहरू जुटाइ राख्छ। यो पटक पनि त्यस्तै भयो। भात त अरु होटलमा पनि पाकेका थिए। तर बहुमतको भोट पाएको होटल खोज्नु खोजियो। अन्तिममा थाहा भयो, त्यो होटल त बन्द भइसकेछ।

अर्को रोचक नियम भनेको बाटो कटिसकेपछि हामी हत्तपत्त फर्किदैनौँ। झन् दुई नम्बर बजारको एकोहोरो बाटोमा पसेका हामी पछाडि फर्किने कुरै भएन। त्यसैले विपी राजमार्गको मूलबाटो निस्किएर भिमानतर्फ हानियौं। दिन छिपिँदै थियो, पेट भोकाउँदै। अन्तत भिमान नपुग्दै भेटिएको थकाली भान्छाघरमा भोक मेटायौँ। मलाई मन मनै लाग्यो, बनाउने नै हो भने त हेर्ने कथा भन्दा हिट यस्तै खानपानको कथा बन्नसक्छ।

हेर्ने कथाको टोली कथा सुन्न बहुत रुचाउँछ। बाटो हिँड्दा हिँड्दै चोक चौतारामा मिठो गफ सुन्ने भोक जुनसुकै बेला जागा रहन्छ। सायद यही भोकले कथा भन्ने शोखमा पनि धेरै सहयोग पुगेजस्तो मलाई लाग्छ। गाडी भित्रै पनि कथाले बढी नै महत्व पाउँछ। यस्तोमा हामी सबैको रोजाइका कथाकार हुन्, झलक दाइ। त्यसैले हेर्ने कथाका हरेक यात्रामा झलक दाइ झुल्किन्छन्। उहाँका कथाले बाटो काट्न निकै सघाउँछ।

साँझ नपर्दै चतरा पुग्नु थियो। हामी पेट भरेर हुइँकियौं। एकैचोटी उदयपुरको लालबजारमा पुगेर रोकियौं। रोकियौं होइन, हामीले हाम्रो अघि बढेको बाटो नफर्कने नीति बहुमतले संसोधन गर्‍यौँ। लालबजारमा हाट लागेको रहेछ। झ्यालबाट आलुचप, चटपट बनाएको देखेका थियौं। गाडी जति अघि बढ्यो उति आलुचपको सम्झनाले तान्न थाल्यो। त्यसपछि मन बाँध्न नसकेर हामी लालबजार फर्कियौँ। पेटभरि चटपटे, आलुचप, प्याजको पकौडा अनि भित्र गेडा भएको जंगली केरा खायौँ। नीति संसोधन गरेकोमा हामीलाई मनखत भएन।

फाइनल्ली हामी आजको गन्तव्य नजिक रामपुर बजार पुग्यौं। खरिदे खोज्ने खेल बल्ल वास्तविक रुपमा सुरु भयो। चिया पसलमा हेर्ने कथालाई मनैदेखि आफ्नो मान्ने स्थानीय पत्रकार नवराज विष्ट र सुमन सागर खतिवडा भेटिए। उनीहरूले पहाडतिर गोरु किन्दै गरेका खरिदे, खेदाउँदै गरेका खेदुवा र पिटुवासँग सम्पर्क गर्ने प्रयास गरे ।

हामीले काठमाडौंबाट पनि खरिदेहरुसँग कुराकानी गरेका थियौं। हुन्छ भनेकाहरूले एकछिनमै मन फेर्थे। अनि विभिन्न बाहना बनाउँथे। भूपू खरिदेलाई वैदेशिक रोजगारमा रहेका छोराले फोन गरेर सम्झाएपछि बल्ल माहोल मिल्छ कि भन्ने आश पलाएको थियो। त्यी भूपू खरिदेबाट केही सम्पर्क सूत्रहरु फेला परेको थियो। तर ठ्याक्कै काम लागिरहेको थिएन। चिया पसलमा जम्मा भएकाहरुले पनि आफूले चिनेका खरिदेहरु सम्झी सम्झी फोन गरे। यति सम्मकी खरिदेहरुलाई कथा बनाउन सहयोग गरिदिन वडाध्यक्षले समेत आग्रह गरिदिएका थिए। कुरा धेरै भए। धेरैवटा खरिदेको चर्चा भयो। तर हाम्रो मन दोधारमा थियो। खरिदेको कथा गर्न भोजपुर उक्लनेकी, खोटाङ ? बेल्टार डुल्ने कि बाङ्गे बजार ?

कथा सजिलो थियो। किसान र खरिदेबीचको मोलतोल। एउटा एउटा गरेर जम्मा पारिएको ठूलो बगाल। पहाडको बाटो हुँदै ओरालो झर्दै गरेको दृश्य। गोरुलाई हुने दुख। अनि गोरुले दिने दुख। पिटुवाहरुको विगत र वर्तमान। उनीहरु सँगै बाङ्गे बजारसम्मको यात्रा। हामीलाई खिच्नु यत्ति थियो। जसले भोलि एकादेशको कथा बन्नसक्ने खरिदेको कथालाई जीवन्त बनाइरहन सकोस्।

त्यो रात हामीले उदयपुरको बेलकामा बितायौं। बिहान सबेरै कथाको खोजीमा पहाड उक्लने योजना बन्यो। यो योजनामा हिजो भेटिएका सुमन सागर र नवराज विष्ट हाम्रो सारथी थिए। हेर्ने कथाले युट्युब र फेसबुकमा लाखौं, करोडौं शुभेच्छुक कमाएको छ। त्यसको महत्व आफ्नै ठाउँमा छ। तर हेर्ने कथाले ठाउँ ठाउँमा सुमन सागर र नवराजजस्ता मान्छे पनि कमाएको छ। जसको चुकाउन सकिने कुनै मूल्य हुँदैन। उनीहरूले यसअघिका कथाहरू पनि हामीलाई सघाएका रहेछन्। यसपालि पनि बिनास्वार्थ सारा काम छाडेर अप्ठ्यारो अनि कच्ची बाटोमा धुलाम्मे भएर बाइकमा हाम्रो अघि लागे।

पूर्वमा यसरी गोरु खेद्‌ने चलन नौलो होइन। त्यहाँका मान्छेका लागि यो एकदमै सामान्य कुरा हो। सुमन सागर र नवराजका लागि पनि यो खासै नौलो कुरा होइन। त्यही सामान्य कुराको कथा बनाउन हामी दुई वर्षदेखि योजना मात्रै बनाइरहेका थियौं। त्यो योजनालाई यो यात्रामा जसरी भए पनि वार कि पार लगाउनु थियो। त्यसमा सक्दो सहयोग गर्न उनीहरु पनि उत्तिकै सक्रिय भएर लागे।

दर्जनौं गोरुको बथान लिएर आउनेहरू बाटोमा भेट हुन्छ भन्नेमा हामी ढुक्क थियौं। तर कथा बनाउनका लागि पात्र चाहियो। जति राम्रो पात्र भेटियो कथा उति रोचक हुने हो। तर फोनको भरमा भनेजस्तो पात्र भेट्न सम्भव थिएन। कुनै संयोग जुर्नेछ, जसले हामीलाई खुशी दिलाउँछ, भन्ने आशमा हामीले आफ्नो मनलाई सान्त्वना दियौं।

खरिदेले माल ओसार्ने बाटो थुप्रै थिए। हामीले भोजपुरको घोडेटार, हसनपुर हुँदै अरुण, तमोर तर्नु पर्ने रुट रोज्यौं। जे त पर्ला, गतिलो पात्र भेटे कथा बनाउँला नभए फर्कौँला भनेर चुहार झोलुङ्गे पुलसम्मको यात्रामा निस्कियौं।

चेफाको कथामा एकजनाले भनेका छन्। धुलाम्मे भएर घर फर्कनुपर्छ भनेर। हो त्यही नै धुले बाटो हुँदै हामी अघि बढ्यौँ। कतै कतै त बाटो साह्रै नै अप्ठ्यारो। बराहक्षेत्र धामको ठ्याक्कै पारिपट्टि हुँदै खोलिएको बाटोमा बोलेरोहरु चल्दा रहेछन्। साइड दिने ठाउँ पाउन पनि मुस्किल यो बाटोमा हिउँदको बेलामा ज्यान हत्केला राखेर यात्रा गर्नु पर्ने रहेछ।

मैनामैनीको डाँडामा रहेको सेन्तेरेम चोकमा एकैछिन सुस्ताएर चना चिउरा खायौँ। हामी कहाँसम्म पुग्छौं ?खाना पाइन्छ कि पाइँदैन हामीलाई नै थाहा थिएन। त्यसैले पाएको बेला टम्म भुँडी भरिहाल्न टोली बानी परिसकेको छ।

यो डाँडाबाट ओरालो झरेपछि चुहार पुग्यौँ। जसले उदयपुर र भोजपुरलाई जोड्छ। गाडी गुड्ने पुल बनाउन सुरु भएको थुप्रै वर्ष बितिसकेको रहेछ। तर अहिलेसम्म त्यो पुरा हुने छेकछन्दै थिएन। गाडी उदयपुरमा रोकेर हामीले भोजपुर टेक्यौँ। भाडाको बोलेरोमा कोच्चिनुको विकल्प थिएन। तै पनि कमल दाइ र जीवन दाइले विकल्प पहिल्याए। उनीहरु हुटमा चढे। अनि सुरु भयो ठ्याक्कै ओर्लने गन्तव्य नभएको बोलेरो यात्रा।

ड्राइभरले सोधे तपाईँहरू झर्ने चाहिँ कहाँ हो ? हामीले भन्यौँ जहाँ गोरुको बथान भेटिन्छ ठ्याक्कै त्यहीँ ओर्लिन्छौँ। उनलाई आवारा लाग्ने ठेट जवाफ अनौठो लाग्यो। गोरु त हसनपुर नपुग्दै भेटिन्छ होला। त्यहीँ झर्नु भयो भने त मलाई घाटा लाग्छ। हामीले पैसाको कुरा मिलायौं। उनले गाडी अघि बढाए। टनाटन मान्छेसहितको बोलेरो ठाडो उकालो, धुलो उडाउँदै अल्छि मान्दै उक्लियो।

हसनपुर पुगेपछि गोरुको बथान ठ्याक्कै अगाडि देखियो। हामीलाई मूल्यवान खजाना भेटे झैं भयो। हुटबाट बाटो माथि गाईको मोलतोल हुँदै गरेको दृश्य पनि देखियो। हामी हत्तपत्त बोलेरोबाट झर्‍यौँ। कस्तो मजाको संयोग ! कथाले मागेको गोरुको बथान, खरिदे, खेदुवा अनि मोलमोलाईका दृश्य सजिलै भेट्यौं। यो अनपेक्षित खुशीले मन फुरुङ्ग भयो।

तर त्यो खुशी एकछिन पनि टिक्न पाएन। कथुरी गाई बिक्ने बितिक्कै आफ्नो घर छाडेर जान नमानेको दृश्यले मन चिसो भयो। पशुले दिने दुख सामान्य थियो। तर पशुले पाएको दुख सामान्य थिएन। मन चिमोट्ने खालको थियो।

अघि बोलेरोमा धुलो उडाउँदै चढेको उकालो त्यो भन्दा धेरै धुलाम्मे भएर ओर्लियौं। खेदुवाहरुसँग गफगाफ गर्‍यौँ। थोरै मात्र खुलेर बोले। धेरै चाहिँ तर्किए। अरुण तरेर धनकुटाको सिम्ले पुगेपछि झमक्क रात पर्‍यो। दिउँसभरी बिहानको चना चिउराको भरमा धुलाम्मे भएर खिचेको कथाले फुटेज मात्र खाएको थियो। आठ ओटा मेमोरी कार्ड भरियो। तर कथाको गुदी फेला परेन। हाम्रो पेट मात्र होइन मन पनि रित्तो थियो।

साँझ उद्धवसँगै केही खेदुवाले आफ्ना कथा सुनाए। हामीले पछ्याएको ठूलो बगालका खरिदेले चाहिँ आफ्नो कथा सुनाउन धक माने। तर होटलका साहुजीले मिठो मुस्कानसहित आफ्नो कथा सुनाए। सप्तरीबाट पढाउन त्यहाँ आएका शिक्षकले पनि मन खोलेर आफ्नो फिल्मी जीवन कथा सुनाए।

होटल साहुजीका परिवार धरान बस्दा रहेछन्। उनी एक्लै सिम्लेको साँघुरो भिरालो जमिनमा होटल थापेर बसेका छन्। सघाउने कोही थिएनन्। धेरै जनाको सेवामा उनी एक्लै खटिरहेका थिए। मिठो बोल्छन्, उस्तै मिठो खुवाँउदा पनि रहेछन्। छोराछोरीको उज्ज्वल भविष्यका लागि उनी आधा रातसम्म जुठा भाँडा चम्काउँदै थिए। यो उनको पुर्खौली व्यवसाय हो। उनले यही जाने। जानेदेखि यही काम गर्दै आए। फरक यत्ति हो, विगतमा हिँडेर यात्रा गर्ने यात्रुहरूको बास थियो। अहिले खरिदेहरु आउँदा जाँदा मात्र चहलपहल हुन्छ।

भोलिपल्ट बिहानै सिम्लेमा बाँधिएका गोरुहरु त्रिवेणीतर्फ बाटो लागे। हामी चिया र चाउमिनमा अल्झियौं। हामी त्रिवेणी पुग्दा गोरुका बथानले डाँडा काटीसकेका थिए। त्रिवेणी पुग्नुअघि दुईचार घर भेटियो। काठैकाठले बनेका घरमा खासै चहलपहल थिएन। न त बाटोमा यात्रुहरु नै भेटिन्थे। लाग्यो समयसँगै गाउँ र मुलबाटोहरु पनि बुढो हुँदैछन्। बिस्तारै हाम्रो पूर्खाहरु जस्तै बिलाएर जानेछन्।

त्रिवेणीको छिन्ताङ तमोर पुल तर्नुअघि मोटरबोटमा चतरा पुग्ने योजना पनि नबनेको होइन। तर अक्करको भीर हुँदै हिँड्ने दिन भोलीका दिनमा जुर्छ कि जुर्दैन ? थाहा थिएन। त्यसैले हामीले मोटरबोटलाई बिर्सिएर चल्ती कम हुँदै गएको बाटो रोज्यौँ। अक्करको भीरमा मुस्किलले अडिन सक्ने डोबहरु थिए। नाम सुन्दा डरलाग्दो भए पनि बाटो भने कतै कतै मात्र अप्ठ्यारो थियो। हामी सजिलै बराहा क्षेत्र आइपुग्यौँ।

अझै हामीलाई खरिदेको कथामा गुदी भरिएजस्तो लागेको थिएन। त्यसैले भोलिपल्ट साँझ चतरा निस्कियौं। जहाँ अरु खरिदेहरु भेट्यौं। उनीहरूले मन खोलेर आफ्नो कथा सुनाए। बल्ल कथामा थोरै सास भरियो। हामीमा आत्मविश्वास पलायो। त्यसपछि शनिबार बिहानै बाङ्गे बजार पुगियो।

खरिदेको कथामा केही खरिदे र दर्जनौं खेदुवाको दैनिकी, कथा र व्यथा समावेश गरेका छौं। केही रमाइला अनि कतिपय गम्भीर विषय पनि उठाएका छौं। तर कथाभित्रको मौनतामा हजारौं पशुचौपायाको वेदना पनि कैद भएको छ। जसले नबोली नबोली धेरै कुरा बोलेका छन्।

4 Responses

  1. कथा बटुल्नेहरुको कथा पनि कत्ति रमाइलो गरि लेखेको ! अरु पनि लेख्दै गर है हरि ! 🙂

  2. हेर्ने कथा लाइ तारिफ गरेर सकिदैन । दृश्य मा न अटेका बाकि कुरा भाइले लेखेर राख्नु भयो , मिठो लाग्यो । आफु पनि भोजपुर तिर कै भएको ले खरिदे संग बुवाले गरेको कारोवारको याद छ । जीवन भरि एउटै गोठमा हुर्केर बुडी भएका गाइ गोरु, अनि खसी बाख्रा हरु खरिदे हरुले एक्कासी जबर्जस्ति लान खोज्दा कसरि मानोस , डाँडा नकाटिञ्जेल फर्की फर्की हेर्थ्यो र आउने खोज्थ्यो , त्यो दृश्य सारै पिडा दायी हुथ्यो । गोठालो गरेका हामि केटा केटिको मन कटक्क हुन्थ्यो । कोहि गोठाले बाबुको त्यो मनोभाव पनि दृश्यमा परेको भए अझ गजब हुन्थ्यो । आफ्नो भोगाइ को कुरा राखेको है ।

    तर जे होस् जति गर्नु भएको छ अत्यन्त राम्रो गर्नु भएको छ । तपाई हरुको कथा भन्ने जागर कहिल्यै नमरोस

  3. हेर्ने कथा लाइ तारिफ गरेर सकिदैन । दृश्य मा न अटेका बाकि कुरा भाइले लेखेर राख्नु भयो , मिठो लाग्यो । आफु पनि भोजपुर तिर कै भएको ले खरिदे संग बुवाले गरेको कारोवारको याद छ । जीवन भरि एउटै गोठमा हुर्केर बुडी भएका गाइ गोरु, अनि खसी बाख्रा हरु खरिदे हरुले एक्कासी जबर्जस्ति लान खोज्दा कसरि मानोस , डाँडा नकाटिञ्जेल फर्की फर्की हेर्थ्यो र आउने खोज्थ्यो , त्यो दृश्य सारै पिडा दायी हुथ्यो । गोठालो गरेका हामि केटा केटिको मन कटक्क हुन्थ्यो । कोहि गोठाले बाबुको त्यो मनोभाव पनि दृश्यमा परेको भए अझ गजब हुन्थ्यो । आफ्नो भोगाइ को कुरा राखेको है ।

    तर जे होस् जति गर्नु भएको छ अत्यन्त राम्रो गर्नु भएको छ । तपाई हरुको कथा भन्ने जागर कहिल्यै नमरोस

  4. यी गाई गोरु प्राय: बङ्रगलादेश र भारतका वधशाला पुग्ने हुन् जस्तो लाग्यो। यस विषयमा पनि खुलाइदिनुभए आभारी हुने थिएँ।

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply