यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न  थालेका छौ ।

अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये  ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल राख्नेछौ ।

अहिलेसम्म अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु

हेर्ने कथा अंक ०१ – एउटा स्कुलको कथा

कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डाको मुस्लिम केटीहरु मात्र पढ्ने मदरसामा एकदिन बिताएर तयार पारिएको कथा हो ‘एउटा स्कूलको कथा’ । उम्मे उम्मार कन्या क्याम्पसभित्र अरु कोही संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दुर्लभ मौका पाएका थियौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको त्यो एक दिनको कथा हो । 

हेर्ने कथा अंक ०२ – चौकिनीको कथा

असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् । तिनै चौकिनीहरुको अाँट र साहशको कथा बोकेको छ चौकिनीको कथाले ।

हेर्ने कथा अंक ०३ – घरको कथा

‘घरको कथा’ झन्डै १ दशकपछि आफू बसेको पुरानो घर आँगन फर्किएर पुराना दिनको सम्झना खोजिरहेका भुटानी शरणार्थीहरुको भोगाईको कथा हो । यसमा अहिले क्यानडामा बसोबास गर्ने भुटानी शरणार्थीको एउटा परिवारको अनुभव समेटिएको छ ।

हेर्ने कथा अंक ०४ – सुनको कथा

हेर्ने कथाको चौथो अंक हो सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्नेहरुको कथा हो । अहिले पनि त्यहाँ बस्ने सोनाहा जाती यही काम गरेर आफ्नो जिविका चलाउँछन् । यो कथा अहिलेसम्मकै धेरै पटक हेरिएको कथा पनि हो । 

हेर्ने कथा अंक ०५ – बाटोको कथा

आँखा नदेख्ने परिवारलाई हिँडडुल गर्न सजिलो होस् भनेर जंगल र भीर छिचोल्दै २ वर्ष लगाएर एक्लै बाटो खन्ने दाङका चन्द्रबीर ओलीको कथा । चन्द्रवीर वलीको जीवन अनुभव समेटेर तयार पारिएको यो कथाले अहिलेसम्मकै सबैभन्दा धेरै लाइक पाएको छ ।

हेर्ने कथा अंक ०८ – जुबेदा खातुनको कथा

सात कक्षा पढ्दा पढ्दै बिहे भएपछि पढ्न नपाएकी जुबेदा खातूनलाई चार छोरीको आमा भइसकेपछि फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । बन्द समाजभित्र अपवाद जस्तै बनेको जुबेदा र उनको परिवारको संघर्ष र प्रेरणाको कथा पनि सबटाइटल भइसकेको छ ।

हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा

कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैमा पर्ने एउटा झुरुप्प बस्तिमा बस्ने बादी समुदायको कथा हो एउटा अध्यारो कथा । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाएका थिए ।यसको अंग्रेजी सबटाइटल गर्न पनि धेरैले अनुरोध गर्नुभएको थियो । 

हेर्ने कथा अंक ११ – सिमानाको कथा

मेची नदीको दुई भँगालोबिचमा पर्ने महेशपुर गाउँ झापाको भद्रपुर नगरपालिकामै पर्छ । तर वर्खाका बेलामा नगरपालिकाले राखिदिएको नाउ पनि चल्न सक्दैन । मेची बढे कही कतै जान पाइन्न अनि आफ्नै देशभित्र उनीहरु बन्दी जस्तै हुन्छन् । मेचीपारिको नेपालमा बस्ने नागरिकहरुको कठिन जीवनशैली र  सीमानामा उनीहरुले भोग्नुपरेको ‘थिचोमिचो’ नै यो कथाको सार हो । 

यी कार्यक्रमहरु तपाईले हेर्न पाउनु भएको छैन भने पनि हेर्नेुस् है ।  अनि नेपाली भाषा नबुझ्ने आफ्ना साथीभाई आफन्तसँग पनि यो लिंक शेयर गर्न नबिर्सनुस् ल । कस्तो लाग्यो प्रतिक्रिया चाहिँ हामीलाई दिनुहोला ।

आशा छ हामीले गरेको यो प्रयासले कार्यक्रम धेरै भन्दा धेरै दर्शकसम्म पुग्रेछ । नेपाल र नेपालीको जीवन भोगाई र यहाँको समाज बारे चासो राख्ने र बुझ्न चाहने तर नेपाली भाषा नबुझ्नेहरुकालागि अंग्रेजी सबटाइटल गरिएका यी अंकहरु सहयोगी बन्नेछन् भन्ने हाम्रो विश्वास छ ।

सबटाइटलको चरणमा रहेका कथाहरु

यी कार्यक्रममा पनि विस्तारै सबटाइटल राख्दै जानेछौ । हामीलाई निरन्तर सुझाव सल्लाह दिने र यो कार्यक्रम अझ धेरैमाझ पुगोस् भनेर सबटाइटल राख्न बारम्बार अनुरोध गर्नुहुने तपाई सबै शुभचिन्तक अनि श्रोता दर्शकलाई धेरै धेरै धन्यवाद । तपाईले यसरी गर्ने मायाले हामीलाई अझै राम्रा कथा खोजी गर्ने उत्साह भर्छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply