पार्कहरुमा पुतली जस्तै यता उता गरिरहेका । नेपाली खानपिनका राग भेटिने पसलका जिनिसहरु ओल्टाइ पल्टाइ गरिरहेका । कोही टोलाइरहेका डेरा जाने बसको झ्यालबाहिर हेर्दै । कोही लडिरहेका ओछ्याउनमा सम्झिँदै युद्ध लडेका विगत ।
पल्टने शहर भने चिनिने अल्डरसट आजकल गोर्खाली शहर भनेर चिनिन थालेको छ।
बिजुली र बाटो नपुगेका पहाडी गाउँका तन्नेरीहरु हावा जस्तै उडेर मलाया ब्रुनइ र हङकङ पुगे । विश्व युद्ध लडेका तक्माहरु भित्तामा कतै थकाइ मार्दै छन् । लाहुरेहरु बुढेसकालमा बेलायततिर बरालिँदै छन् ।
जुलाई महिनाका दिन प्राय घमाइला हुन्छन् । हरिया गलैंचा बिछ्याइए झैं चौरहरुमा मन भुलाउनेहरु भेटिन्छन् । कोही कसरत गरिरहेका, कोही दौंतरीसँग वात मारिरहेका ।
झन्झटिला नियम कानुले गर्दा हुर्किसकेका बालबच्चा ल्याउन सजिलो छैन । धेरै बुढाबुढीहरु एक्ला छन् ।
एक्लोपनलाई भुलाउन कोही आमा समूहको भेलामा नाचिरहेका भेटिन्छन्, कोही मन्दिरमा घन्टी बजाइरहेका । कोही गुम्बामा ध्यान गरिरहेका । यदाकदा गुन्जिन्छन् यानिमायाका भाका बेलायती हावामा ।
दुःखमा पनि हाँस्ने रमाउने नेपालीको बानी । पीडाहरु त कि मन भित्र छन् कि छन् विगतका चित्रहरुमा ।
म्याग्दीकी मङ्गली मगर्नी । युद्धमा नहारेका उनका श्रीमान् आफ्नै देशमा हारे । वर्षौंअघि श्रीमान् गुमाएकी मङ्गली कुनै दिन एक्लै आएकी थिइन् बेलायत ।
रगत पसिना र जवानी खर्चिएबापत पाउने अलिकति पेन्सनले अन्याय गर्यो । पटक पटक आन्दोलन भयो । गोर्खालीहरुले बेलायतमै रहने बस्ने सुविधा पाउने भए । नेपाली पाखा बेसीका चौतारा र गाउँबस्ती रित्तिन थाले ।
न त लाहुरे जिन्दगी सजिलो थियो न त बेलायत आउँदाका सुरुवाति दिनहरु ।
बम र बारुदसँग जवानी साटेकाहरु चाउरिएको उमेर साट्दैछन् बेलायती घामपानीसँग । बीरबहादुर थापा का बाजेले पहिलो विश्व युद्ध लडे । बाउ पनि लाहुरे । आफू पनि लाहुरे ।
लाहुरमै जन्मी-हुर्की देश विदेश डुलेका बीरबहादुर थापासँग अवकाशपछि आफ्नो भन्नलाई कुनै देश थिएन ।
आज मंगलबार । अल्डरसट नजिकैको फार्नबोरोमा मंगलबारे बजार लाग्ने दिन । नेपालका हाटबजारभन्दा कम्ता छैनन् परेदशी बजार ।
बजार सकिएपछि पोका पन्तुरा बोकेर हटारुहरु बाटो लागे ।