हिजो मात्रै जस्तो लाग्छ जब मेरो साहुनीले मलाई भन्नुहुन्थ्यो “तँलाई केही गर्न आउँदैन, यसैको लागि मैले तेरो आमालाई पैसा दिएर पठाको ? राम्रोसँग काम गर् नत्र तँलाई घर पठाएर मेरो पैसा फिर्ता ल्याउँछु।” आज जत्ति याद ताजा छ, त्यत्ति नै घाउ पनि ताजै रहेछ । थाहै नपाइ आँखा पो रसाइसकेछ । ती दिनहरु बिर्सने कोसिस त धेरै गरेकी हुँ तर आज थाहा भयो मैले बिर्सेको होइन रहेछु। म भित्रै गुम्साएर राखेकी पाे रहेछु । हुन पनि यी दिनहरु सम्झेर रुने फुर्सद पनि पहिला कहाँ थियो र ! म त व्यस्त थिएँ।
आठ बर्षको उमेरमा शिक्षा हासिल गर्ने इच्छा र आशामा घर छोडेको आज २० बर्ष हुन लागेछ। तर मलाई समय बितेको थाहै भएन किनकि म सधैँ व्यस्त भएँ। कुनै समय अरुको जुठो भाँडा माझ्नमा व्यस्त थिएँ भने कुनै दिन गरिबीबाट टाढिन सफलताको पछि भाग्न व्यस्त। विगतकाे २० बर्षमा मैले कुनै दिन आरामले बसेर म को हुँ र के चाहन्छु भनेर सोच्ने फुर्सद निकालिन। किनकि मलाई आराम भनेको के हो थाहा थिएन । काम नगरी यत्तिकै बस्दा साहुनीले “तँ अल्छी, काम चोर” भन्ने गर्नुहुन्थ्यो। सायद त्यसैले हुनुपर्छ सधैँ काममा लागिरहने बानी बसेको र थकानलाई नजिकको मित्र बनाएकाे। मैले जीवनमा एउटै मात्र लक्ष्य राखेकी थिएँ कि म मेहनत गर्छु र सफल हुन्छु यद्यपि मलाई सफलताको परिभाषा पनि थाहा थिएन । मलाई वश गरिबीसँग नाता तोड्नु थियो र दासत्वबाट मुक्त हुनु थियो।
आखिर भयो पनि। अरुको गुलामी हुनुबाट स्वतन्त्र भए।देश विदेशको डिग्री पनि हासिल गरेँ। थाइल्याण्डको समुन्द्रदेखि अमेरिकाको ह्वाइट हाउसकाे छेउमा दुई चार फोटो खिच्ने मौका पनि पाएँ। तर मेहनत गरेको दुई दशक बित्न लाग्दा पनि मनमा अझै कहीँ पुग्नुछ, केही गर्न बाँकी नै छ भनि सधैँ दौडिरहेँ। किनकि मलाई गरिबी र दासत्वबाट धेरै टाढा जानु थियो, धेरै टाढा।
आज बल्ल लकडाउनको बेला जीवनकाे याे भागदाैडमा ब्रेक लाग्यो र सोच्दैछु , – छ्या म त अझै पनि दासत्वमै पो रहेछु । म त काम र गरिबीको डरको दास पो भएछु । कतै थकाइ मारेँ भने गरिबीले मलाई भेट्टाउने हो कि भन्दै भाग्दा भाग्दा थकित पो भइसकेछु । अहिले साह्रा विश्व स्थिर भएको अवस्थामा जिन्दगीमा पहिलो पटक आफैँसँग समय बिताउन पाएँ।
विगतका पानाहरु पल्टाउँदै जाँदा आफैँलाई स्याबासी दिन मन लाग्यो। आठ बर्षको उमेरमा एक जोर कपडा र खाली खुट्टामा घर छोडेकी त्याे सानी केटी, आज केही नभए पनि मसँग सुःख दुःखको अनगिन्ति अनुभवहरु छन् । र यत्ति धेरै बर्षसम्म मैले गरेका संघर्ष, धैर्यता, अरुलाई गरेकाे सहयाेगको निम्ति गर्व गर्ने ठाउँ पनि भेटे।
मैले मनमनै निर्णय गरेँ, अब म भाग्दिनँ। म काम र गरिबीको डरको बन्धनदेखि आफैँलाई मुक्त गर्छु र स्वतन्त्र जीवन जिउँछु। हिजोसम्म म आराम गर्दा आफैँलाई काम चोर लाग्थ्याे, आजदेखि मैले बिना लाज र दोष आराम गर्ने निर्णय गरेकी छु। अबदेखि म कामको दास होइन, काम मेरो दास हुनेछ।