Author: विद्या चापागाई

  • प्यारो डायरी

    प्यारो डायरी

    Day – zero
    एउटा शून्य दिन

    प्यारो डायरी ,

    धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो ! 

    केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई ।

    कहाँबाट सुरु गराैं ? 

    सम्झना पनि हराउँदो रहेछ हेर न । तिमीसँग छुटे यता धेरै कुरा छुटेका छन् । 

    गाउँ छुट्यो । आँगन छुट्यो । पैयुँका फूलहरु छुटे । घर छुट्यो । साथीभाई छुटे । आफन्त छुटे । ठूल्धारोको शनिबारको भीड छुट्यो । अरु त अरु, शनिबार सवा दुई बजेको फिल्म पनि छुट्यो । 

    हाम्रो आँगनबाट पर महान्टारसम्म देखिने त्यो फराकिलो ‘महान टार’ छुट्यो । धानका बाला छुटे । गहुँका गर्हा छुटे । मलका डोका छुटे । परालका बिटा छुटे । अनि छुटे आमाका दु:खहरु ।

    छुटेका कुरा भनि साध्य छैन । समग्रमा धेरै यादहरु छुटे । जुत्ता छुटे । खुट्टा छुटे । 

    छुटेका खुट्टाहरु कहाँ कहाँ पुगे । म पनि त कहीँ पुगे । 

    ………………

    आज धेरै वर्षपछि छुटेका केही कुराहरु भेटिएका छन् ।

    उतिबेला मेरो आँगनबाट देखिने क्षितिज कति साँघुरो रहेछ। पर एयरपोर्टमा राति बलेको बत्ति देख्दा मलाई मेरो क्षितिज कति उज्यालो लाग्थ्यो । आजकाल त्यहाँ केही थान बिजुलीहरु थपिएका छन् । केही थान जहाजहरु थपिएका छन् । 

    साँझको सुन्तले आकाशमा सेतो हवाईजहाज कस्तो खुल्थ्याे । मेरो सम्झनाको ग्यालरीमा भएको सबैभन्दा प्रिय तस्वीर । 

    अहिलेको मेरो क्षितिजमा एयरपोर्ट छैन । आकाश त उही छ । उही छ, कि  फेरियो ? जवान छ कि बुढो भयो ? 

     खै  !

    सबै जटिल प्रश्नहरूकाे कति सजिलो उत्तर – खै !

    उबेला यो आकाशमा कत्तिबेला हवाईजहाज उड्ला भनि हेरी बस्थ्याै । हेर्दा हेर्दै जहाज छुटिजान्थ्यो । हामी जिल्ल पर्थ्याै र कल्पन्थ्याै । जहाजमा के उड्ला ? सपना कि सम्झना ! को उड्ला ? मिलन कि विछोड ! हाम्रा चिनजानका कसैले जहाज चढेको थाहा थिएन ।

    त्यतिखेर छुटेको आकाशको त्यो दृष्य अहिले यतिबेला फेला पारेको छु ।आज दिनभरिमा जम्मा दुईवटा ठूला जहाज उडे । एउटा आैषधी र उपचार सामग्री लिन चीन गएको हवाईजहाज र नेपालमा बसेका विदेशीहरु लिन आएको कतार एयरवेज । आखाँबाट आेझेल नपरुन्जेल जहाज पछ्याए । थाहा छैन पर क्षितिजमा बादलभित्र हराउँदै गरेको त्यो जहाज  यो मेरो सम्झनाको प्रिय तस्वीर बन्छ बन्दैन ! 

    ……………

    धेरै धेरै वर्षपछि हिजै साँझ घरको छतमा उभिएर धेरैबेर आकाश हेरे । साँझको काखमा दिन, उसैगरी आरामसँग निदायो । साँझ, रातको न्यानोमा मस्त भयो । जिन्दगीको भागदाैडमा मैले मेराे आकाशै बिर्सेको रहेछु । ताराहरू उस्तै थिए ।  सानआख्ले तारा, तीनआँख्ले तारा । प्रश्नको तारा । सबै उस्तै थिए । चम्किला, धमिला, उज्याला, अध्यारा सबै सबै आकाशमै भेटिए । जून पनि उस्तै थियो । 

    नभेटीएको त म पो रहेछु । फेरिएको त मेरो आँगन पो रहेछ ।  

    ………………….

    दिउँसोको आकाश पनि उबेला झै देखे  । निलो । निख्खर । घाम उसैगरी लागेको थियो । उत्तरतिर टल्केका हिमाल उस्तै थिए । चन्द्रागिरी र फुल्चोकी पनि कत्ति नजिकै । फुत्तै पुगिएला जस्तो ।

    अब यति नै बेला पूर्वतिर हेर्दा चाँगुनारायणको डाँडो अघिल्तिर हेलिकप्टरबाट हरियो छाता (प्यारासुट)समातेर आर्मीहरु  झरेको देखिए ठ्याक्कै हाम्रो पुरानै आकाशमा फर्कने थियाै । 

    तर एक , दुई , तीन  भन्दै सिपाहीहरु झरेका गन्ने नानीहरु भेटीएलान् त अब । 

    हरिया लुगा लगाएर , हरियै झोला , हरियै तुम्लिनको भाँडो बोकेर हाम्रो घर छेउको बाटो हुँदै आउने ती सिपाहीहरु किन त्यसरी हेलिकप्टरबाट झर्थे कुन्नी ! तिनीहरु उबेला झै हाम्रै आँगनको बाटो हुँदै आए भने ! तिनीहरु फर्कदा घर भित्र लुकेर खोपा खोपाबाट चिहाउने स-साना आखाँहरु के गाउँमा होलान् त अब!

    टेलि ईट्टा छापेको आँगनको बाटो अब कहाँ बाँकी छ र गाउँमा ! गाउँका हरेक आँगन अहिले गेटभित्र सरेको छ । पर्खाल लागेको छ शारदा आमाको आँगनमा र चिसै छ आगोको भु‌ङ‌ग्रो लिन जाने फलामे डाडुहरू । पर्खाल लागेको छ सबिताको आँगनमा र रित्तै छन् तरकारी माग्न जाने कचाैराहरु । पर्खाल लागेको छ  सरिता भाउजूको भान्छाबाट आउने बास्नामा अनि पर्खाल लागेको छ चाडबाडमा सुनिने दिदिबहिनीका उन्मुक्त हाँसोमा । र हराएछन् आँगनमा आँखाछोपी खेल्ने सानीहरू ।

    आजकाल गाउँमा पर्खाल लागेको छ । रंगीन पर्खाल सेता, नीला, पहेला, हरिया, राता पर्खाल । पहिले कति सजिव र रंगीन लाग्थ्याे मलाई मेराे गाउँ । यी रंगीन पर्खालहरुले मेरो गाउँको रङ नै उडाएछ र हराएछन् गहुँका बालाहरुसँग आफ्ना उचाई  नाप्ने नानीहरु । विस्तारै आँगन हराएछ । पिढीं हराएछ । भँगेराहरु हराएछन् , परेवाहरु, पुतलीहरु, खेतहरु, धानहरु, गहुँहरु, मकैहरु । एक एक गर्दै सबै हराएछन् । 

    गाउँ कहिल्यै नभेटिने गरी हराइसकेछ । 

    गाउँ हरायो । म पनि त हराए कतै । 

    …………….

    र आजकाल भेटिन्छु हेर्ने कथामा । यस्तैगरी विस्तारै हराउँदै गएका गाउँघर डुलिहिड्छु । खुशी हुँदै हिड्छु । डराउँदै हिड्छु । मेरो गाउँ हराए जस्तै यी गाउँघर पनि हराउने हुन् कि कतै  ! म हराए जस्तै यी गाउँका अन्तरी जन्तरीहरू पनि हराउने हुन् कि कुनै दिन !!

    …………….

    प्रिय डायरी्, 

    यत्तिका वर्षपछि कुनै अवसर पारेर लेखेको हैन । मनमा कुनै भाव छैन । न खुशी न दु:खी । मान्छे भावशून्य पनि हुँदोरहेछ । यस्तो भावलाई के भन्छन् कुन्नि !! लेख्न सुझाउँदा साथी कमलकुमारले भनेका थिए ‘मैले लेखेको कसैले पढ्दैन भन्ने सोचेर लेख्नु है ।’ शायद यस्तै सोचेर लेखे । 

    घरभित्र छु । पर्खाल भित्रै । रहरले हैन । वाध्यताले । लकडाउन डायरीमा कोरोना भाइरसको कतिवटा केस कहाँ फेला पर्यो । कुन देशमा कति संक्रमित भेटिए । दिनमा कतिपल्ट हात धोए । मिचिमिचि धोए कि आफैलाई ढाँटेर धोएजस्तो मात्रै गरे ।  आमासँग भेट नभएको कति दिन भयो ।आमालाई फोन गर्दा क्वारेन्टाईनमा बसाै, कोरोना भाइरसका लकणहरू भन्ने मेसेज पुरै सुने कि आधा मात्रै । लकडाउन थपिन्छ कि सकिन्छ । अझै कति दिन यसरी बस्नुपर्ने हो ! काम नगरी खान नपुग्ने मजदुरले के गरी खालान् । अब संसार के हुने हो । चीनमा भाइरस कसरी रोकथाम भयो होला । अमेरिकामा पनि मास्क पुगेन । हाम्रा डाक्टरले उपचारगर्दा लगाउनैपर्ने लुगा पाएनन्। कोरोना भाइरस देखिएकालाई हेरचाह भएन । सरकार पनि अस्पतालबाट डिस्चार्ज भयो रे । यस्तै केही लेख्नुपर्ने थियो होला । मैले त के पो लेखे गन्थनमन्थन मात्रै।

    आज के बार पो हो साँच्ची ! सोमबारै पनि शनिबार जस्तो बुधबारै पनि शनिबारै जस्तो भएपछि आजपनि शनिबारै भनिदिउँ ! सधैं दिनभरि घरै बस्ने मेरी आमा यस्तै भन्नुहुन्थ्याे । मैले पनि भनिदिए  – दिन बारको हिसाब पनि के गर्नु । 

    शहरभरि मान्छे भएर पनि रित्तिएको यो शहरको के कुरा गर्नु ! घरभरि मान्छे भएर पनि शून्य यो आँगनको के कुरा गर्नु ! बाँच्नैका लागि गरिरहेको यो संघर्षका बेला मृत्युको के कुरा गर्नु ! 

    बरू अलिकति सम्झनाको कुरा गरे । अलिकति बिर्सनाको कुरा गरे । अलिकति मनको कुरा गरे । 

    काम त थुप्रै छन् । तर कामको पनि के कुरा गर्नु । 

    केही दिन अघिसम्म कति भागदाैडको जिन्दगी थियो । भ्याईनभ्याई । खान पनि फुर्सद थिएन कहिले त । दिन यस्सै पनि वित्दो रहेछ । केही नगरी पनि । 

    हतारै गरेर पनि ।हातै बाँधेर पनि । 

    सम्झेर पनि बिर्सेर पनि । 

    सोचिल्याउँदा जसरी पनि चल्दो रहेछ जीवन ।

    भर्खरै एउटा निर्णय गरेका छाैं : अबकाे केही समय हेर्ने कथामा नयाँ कथा नदेखाउने ।

    बाँकी अर्को भेटमा । 

    उही  तिम्रो , 

    म ।

    विद्या चापागाईं

    प्रस्तोता

    Bidhya is one of the co-founders of Herne Katha. She is also the Presenter of the show.


    अरु डायरी:

  • यात्रा पहिलो दिन – काठमाडौं र चितवन

    हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं

    (more…)
  • हरेक मान्छे एउटा कथा

    हरेक मान्छे एउटा कथा – विद्या चापागाई – एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो । सिन्धुपाल्चोक सेलाङका गुरुङबा मरेर गए । गाउँमा विजुली बालेरै छोड्छु भन्थे । आजकाल गाउँ झलमल्ल छ । गुरुङबाको त्यो सपना कत्ति मिठ्ठो । सिराहामा भेटिएकी थिइन् सानी नानी । साउदी पुगेका बाबाले रंगीन टिभी ल्याउँछन् भन्थिन् । त्यो आश कत्ति मिठ्ठो । कथा त कत्ति कत्ति । (more…)

  • जिन्दगीका बाटाहरु – विद्या चापागाई

    जिन्दगीका बाटाहरु – विद्या चापागाई – बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको रस पाएर हुर्केका साग । बुवाले दूध बेचेर र आमाले साग बेचेर हाम्रो घरको गुजारा चल्थ्यो ।

    जग्गा जमीन प्रशस्तै थियो । शहर नजिकै थियो । तर खै किन हो हाम्रो काँठ असाध्यै पछि परेको थियो । मेरो जिन्दगीका आदिम बाटाहरु बुवा दूधको क्यान बोकेर तर्ने वागमतीका घाटहरु थिए । अनि थिए आमाले साग बेच्ने बौद्धका गल्लीहरु । हामी जन्मी हुर्केको एयरपोर्टसँगैको गोठाटार त काठमाण्डूको आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि नक्सामा थिएन ।

    (more…)
  • ‘चौकिनीको कथा’को कथा – विद्या चापागाई

    ‘चौकिनीको कथा’को कथा – विद्या चापागाई – अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा थियौं ।

    बोवाङ

    ढोरपाटन जाँदा हामी बोवाङमा बास बस्यौं । बाक्लो बस्ति थियो । अँध्यारो हुनै लाग्दा पुगेका थियौं हामी । होटलहरु बिरलै रहेछन् ।

    ‘यहाँ होटलको समस्या छ । एउटा घरमा खाने बस्ने व्यवस्था मिलाएका छौं’
    वडा अध्यक्ष दीपक थापाले सहयोग गरे । एउटा घरमा पुर्याएर हामीलाई छोडिदए ।

    अँगेना वरिपरि एक आमा र दुई छोरी बसेका थिए । आफूहरुको लागि बेलुकाको खाना पकाइसकेका उनीहरुलाई हामीले बोझ थपिदियौंको भनेर अफ्ठ्यारो लाग्यो । उनीहरुले अफ्ठ्यारोलाई छिनभरमै दूर गरिदिए ।

    ११ पढ्ने जेठी छोरी प्रमिला । १० मा पढ्ने शर्मिला र ८ मा पढ्ने कान्छो छोरो । कान्छो भर्खर किताब कापी च्यापेर ट्युशनबाट फर्केको थियो । भान्छाको गुन्द्री ओछ्याइएको खाटमा किताब थन्क्याएर उ आमा र दिदीहरुलाई सघाउन भिड्यो ।

    प्रमिला चाहिँ शिकार आरक्षभित्र काम पनि गर्दिरहिछन् । उनी कार्यलयमै बस्छिन् । छुट्टि पारेर आमा भेट्न आएकी । भोलि उनको फर्कने दिन रहेछ । भोलि विहानै ढोरपाटन तिर उकालो लाग्दा उनी हाम्री सहयात्री हुने भइन् । हामी दङ्ग पर्यौं ।

    आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।

    हामी जस्ता पाहुनाहरु बेला बेला आइरहँदा रहेछन् । प्राय अचानक यस्तै साँझमा आइपुग्ने पाउनाहरुलाई बस्ने खाने सप्पै व्यवस्था यी ८ कक्षामा र १० कक्षामा पढ्ने दिदी भाइले गर्दा रहेछन् ।
    भाइ भित्र बाहिर गरिरहन्थ्यो । कहिले गाग्रीभरि पानी बोकेर ल्याउँथ्यो । कहिले जुठा भाँडा उठाएर बाहिर लगिहाल्थ्यो । आमा छोराछोरीलाई यसो गर उसो गर भनिरहन्थिन् । मैले शहरतिर देखिने भेटिने उही उमेरका केटाकेटीहरुलाई मनमनै सम्झिएँ र उही उमेरका आमाहरुलाई पनि सम्झिएँ ।

    यी केटकेटी सानै हुँदा बुबाले हेला गरेर अर्को बिहे गरेर पाखा लागेछन् । बुबाको माया विरानो भयो । आमाले दुःख जिलो गरेर तीन जना केटकेटी हुर्काइन् । यसै पनि बिरानो भइसकेका बुबा एकदिन बितेछन् । उनीहरुले खबर मात्र पाए । तर खम्बा झैं आमाको स्कूलिङ पाएका उनीहरु विचलित भएनन् ।

    भोलिपल्ट विहानै आमा छोराले मकै भुटेर फिक्का चिया पकाइसकेछन् । हामीले त्यो खायौं र हिँड्ने सुरसार गर्यौं ।

    बोवाङमा बिस्तारै न्याना दिनहरु आउने बेला भएको थियो । अब बोइलर हुर्किन्छन् । माइली छोरी विहानै बोइलरको चल्ला लिन बुर्तिबाङ जाने सल्लाह अघिल्लो साँझ नै भएको थियो ।

    ‘यो लुगा लाएर जाँदा हुन्छ?’
    शर्मिलाले दिदी प्रमिलालाई सोधिन् ।

    ‘जाडो होला ज्याकेट पनि लगा कान्छी’

    कान्छीले ज्याकेट लगाएर आइन् । आमाले बोइलरका चल्ला किन्ने पैसा दिँदै छोरीलाई सम्झाइन्:
    ‘हिसाबकिताब राम्ररी गर्नु’
    ‘राम्रा चल्ला छान्नु ठूला टाउका भएका’
    ‘ध्यान दिनु’
    ‘धेरै अबेर नगर्नु’

    आमाका सल्लाह सुनेर माइली ३ घन्टा टाढाको बुर्तिबाङतिर पैदलै ओरालो लागिन् । हामी मोटर चढेर ढोरपाटनतिर उकालो लाग्यौं ।

    ढोरपाटन


    थुप्रै डाँडा काँडा काटियो । कहिले खोला कहिले जंगल । कुहिरो लागेको धमिलो मौसम थियो बाटोभरि । अचानक देउरालीबाट ढोरपाटन देखियो । ओहो कति सफा आकाश । कति राम्रा जंगल । हामीलाई के गरौं कसो गरौं भयो । न धुँवा धुलो । न हल्लाखल्ला । जाडोले खाएका ढोरपाटनका फाँटहरु पराल जस्तो देखिएका थिए । पाटनको बिचबाट सानो खोला बगेका थियो । ठाउँठाउँमा घरहरु थिए । पर पर घोडाहरु चरिरहेका थिए ।

    हामी केही दिन अघि परेका हिउँ कुल्चँदं पाटन झरेर ढोरका गाउँ छिर्यौं । गाउँमा त कोही पनि छैन । प्राय घर ताल्चा लागेका । हामीले थाहा पाइसकेका थियौं । ढोरपाटन जाडोभरि बोवाङ झर्छ र न्यानो लागेपछि फेरि यतै फर्किन्छ भनेर ।

    ‘गाउँ रेखदेख चाहिँ कसले गर्छ?’

    फाट्फुट्ट भेटिएका गाउँलेले सुनाए ‘चौकिनीले’

    अनि हाम्रो कथाको विषय तिनै चौकिनी बने ।

    उनीहरुको जीवनकालमै ढोरपाटन ७० पटक औलमा झरिसक्यो । उनीहरु यहिँका सुख्खा माटोमै रमाएर बसेका रहेछन् ।

    कलिमा बिक र उनकी सौता अहिले चौकिनी रहेछन् । विहान बेलुकी सारा गाउँ डुलेर रेखदेख गर्ने उनीहरु नै ।

    दाँतहरु झरेर एक दुइटा मात्र बाँकि थिए कलिमाका तर उनको जति हक्की आवाज मैले बिरलै सुनेकी थिएँ । गालाहरु चाउरी परेर ढोरपाटनका फाँटहरु जस्तै भइसकेका थिए । तर उनको जस्तो मीठो मुस्कान बिरलै देखेकी थिएँ मैले ।

    ओहो यी बुढी आमैहरु सारा बलियाहरुलाई बेँसी पठाएर गाउँ कुरेर बसेका रहेछन् । चोर आयो भने समातेर लठ्ठीले हान्छु भन्छन् ।

    ओहो यी बुढी आमैहरु कति एक्ला छन् । साथमा परिवार पनि छैन गाउँले पनि छैनन् । तर यहाँका खोला नाला र वन जंगलसँग कस्तो प्रेम उनीहरुको । जिन्दगी प्रति कुनै गुनासो नि छैन । अधिकार र मागका कुरा पनि छैनन् । राज्यले यो दिएन र त्यो दिएन भन्न सिकाउन पनि कोही आएको छैन ।उनीहरु सुखी हुन् कि दुःखी ? शायद यो प्रश्न उनीहरुको मनमा कहिले नि आउँदैन।

    चौकिनीहरुलाई भेट्दा त एउटा ध्यान शिविरमा गएर आएजस्तै भयो । साँच्चै आनन्द लाग्यो मनभित्र ।

    फेरि बोवाङ

    साँझ अबेर आएर शर्मिलाकै घरमा बास बस्यौं । भोलिपल्ट विहान उठेर हिँड्ने बेला कलिलो घाम लागिसकेको थियो । शर्मिला हिजो बुर्तिबाङबाट ल्याएका चल्लालाई घाम तपाउँदै थिइन् ।

  • ‘एउटा स्कूलको कथा’ को कथा

    कपिलवस्तुका  पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।”

    सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?”  मैले सोधेकी थिएँ ।

    “प्रयास गरौं” – उनले भने ।

    यो कुराकानीको झन्डै एक सातापछि हामी पुगेका थियौं कपिलवस्तुको भैंसकुण्डा ।

    (more…)