सिराहा सदरमुकाम माडर छेवैमा बग्ने कमला नदीले धनुषा र सिराहालाई छुट्याएको छ । भर्खरै बनेको झोलुङ्गे पुलले दुई जिल्ललाई जोडेको छ । दुबैतर्फ नदी किनारामा गाउँहरु छन् । गाउँका मान्छेहरुलाई नदीले जीवन दिन्छ ।
बर्खाको उर्लेको भेलमा कमलाका दायाँ बायाँ परपरसम्म पानी पानी देखिन्छ । पहाडका मलिला माटो थुपार्दै कमलाले हरेक साल आफ्नो नयाँ स्वरुव सिर्जना गर्छ ।
——-
बर्खा रोकिएपछि कमलाका दायाँबायाँ काँस र खरका झाडीहरु बढ्न थाल्छन् । कति ठाउँमा चाहिँ बालुवै बालुवाका फराकिला मैदान बन्छन् । यही बालुवाका थुप्रोहरुमा यहाँका मुखिया र मुसहरहरु श्रमको बिउ रोप्छन् ।
बगरको कथा
कार्तिक शुक्ल पुर्णिमामा कमलामा मेला लाग्छ । श्रद्धालुहरुले जीवनदायिनी कमलालाई पुजा गर्छन् । कमलाको चिसो पानीमा स्नान गर्छन् ।
कार्तिक पुर्णिमाको १५ दिनपछि सुरु हुन्छ बालुवामा खेती ।
१० जनवरी, २०२५
२६ पुस, २०८१
पुसको अन्तिम साताको एउटा साँझ हामी खत्रु मुखिया र शिवकुमार मुखियासँग कमला तर्दै थियौं ।
पारि बगरमा श्रम र पसिनाको उत्सव थियो ।
एक महिनाअघि रोपेका तरबुजाका विरुवाहरुले जरा समातेका छन् । यी कलिला मन्जरीहरुलाई पर्याप्त पानी र पोषण दिने बेला हो यो ।
राजेश मुखिया श्रीमती र छोरासहित वालुवामा खटेका छन् ।
१ अप्रिल, २०२५
१९ चैत, २०८१
३ महिनापछि त्यस्तै एउटा साँझमा फेरि पुग्यौं हामी कमला । गर्मी बढेको थियो । बालुवा तातेका थियो ।
बगरभरि खोपडी भनिने ससाना झुपडीहरु बनेछन् । किसानहरुको सपरिवार बगरको बास ।
कमलाधारका वालुवामा यसपालि हरियाली छाएको थियो । किसानका सपनाहरु फुल्ने र फक्रिने समय हो यो ।
तर यसपालिको खेतीमा निराशाकाो बादल छाएछ । बगरमा भेटिएका किसानहरुले रोग र किराका कष्ट सुनाए । महिनौंको श्रम र पसिना खेर जाने डर रहेछ ।
बालुवामा सुन फलाउने प्रयासमा किसानहरु पानी र औषधी हालेको हाल्यै थिए ।
भोलिपल्ट खेतमा पानी लगाउँदै गरेका परीक्षण सदा र उनकी छोरी बिनेखा भेटिए ।
तरबुजा खेतीमा लागेका रोग किरा ठीक पार्न भन्दै भारतदेखि औषधी बेच्नेहरु खेतखेतै आउँदा रहेछन् ।
रोगले इन्तुनचिन्तु भएका किसानहरुलाई भेटेर उनीहरुका कुरा सुनिदिन हामीले सरकारी मान्छे गुहार्यौं । बाली संरक्षण प्रयोगशाला सिराहाका मोहन महतो भोलिपल्ट बगरमा आइदिने भए ।
परपर स्याल कराएका आवाजहरु सुन्दै हामीले परिक्षण सदाको खोपडीमा रात बितायौं ।
हामीले फोन गरेर बोलाएका बाली संरक्षण प्रयोगशालाका मोहन महतो बेलैमा आइपुगे ।
२५ अप्रिल, २०२५
१२ वैशाख, २०८२
एक महिनापछि हामीले फेरि कमला तर्यौं । यो तेस्रोपटक थियो ।
नयाँ साल लागिसक्यो । कमलाको बगरमा तातो वसन्ती हावा चल्न थालेको छ ।
किसानहरुलाई तरबुजा टिप्ने र बेच्ने चटारो छ ।
पर्वहरुले किसानका पात्रोहरु निर्धारण गर्छन् । कार्तिक पुर्णिमापछि सुरु भएको खेतीको फसल वैशाख १ गते जुडशीतल पर्व मनाएपछि मात्र टिप्न पाइन्छ ।
टाढा कमलापारि धनुषामा ठूलो मेला लागेको छ । परीक्षण सदा र राजेश मुखिया आज साइकल ठेलेर मेला जाँदैछन् । मेलामा बेच्दा दुई चार पैसा बढि पाइन्छ ।
भोलिपल्ट विहानै खेतमा ब्यापारी आइपुग्छन् । कमीला जस्ता यी कर्मजिवीहरु खेतबाट तरबुजा ओसार्छन् र ब्यापारीको जिम्मा लाउँछन् ।
—
यसरी पटेहर्वाका किसानहरुको कमला धारमा श्रम र पसिनाका ६ महिना बित्छन् ।
