एटलान्टिक पारिको अमेरिका र रुकुमका विकट गाउँहरुलाई के ले जोडेको छ होला ? सपनाले !
सपना अमेरिका
पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको स्याँला भन्ने कुनाको गाउँ जान अझै पनि डोजरले बाटो खन्दैछ । भर्खरै खुलेको ट्य्राकबाट तन्नेरीहरु अमेरिका गइरहेछन् तल्लो बाटो ।
कति घरहरु ताला लागेका छन् । गाउँमा भेटिन्छन् केही जागिरे शिक्षक अनि बुढाबुढीहरु ।
पारिलो घाम लागेको छ । काले बुढाथोकी घर मास्तिर हिउँ झैं कपाल फुलेकी दिदी दहीसरी कुसारीको आँगनीको डिलमा भेटिन्छन् । यी दुई धीत मरुन्जेल तमाखु तानिरहन्छन् । पर परका डाँडाकाँडा र रित्तिएका गाउँहरु हेर्दे टोलाउँछन् ।
यी दुईबिच बोल्ने कुरा खासै हुँदैन । गाउँ चकमन्न छ । दिदीभाइकै छोराछोरी अमेरिका छन् ।
रुकुमका गाउँघरमा अवैधबाटो अमेरिका जाने चलन भाइरस जसरी फैलिएको छ । अपवादलाई छाडेर यो गाउँमा मात्रै एक घर एक अमेरिका ।
पहिले पहिले गाउँका मान्छेहरु कमाउन भारत जान्थे । अहिले दलाललाई चर्को पैसा बुझाएर तल्लो बाटो हुँदै अमेरिका । काले बुढाथोकी छोरा अमेरिका जाँदाको ऋण तिर्न अहिले पनि ज्याला मजदुरी गर्छन् ।
दहीसरी आमाको घरमास्तिर तुलबहादुर कुसारीको घर छ । उनी गाउँकै स्कुलका हेडसर हुन् ।
हेडसरी पत्नी गितालाई छोराहरुले काम नगर्नु भनेका छन् रे ।
२-३ कक्षामा पढ्ने साना नानीहरु भविष्यमा के बन्ने भन्दा अमेरिका जाने भन्छन् रे ।
अमेरिकाबाट छोरा आउँदा किनिदिएको बुलेट बाइकमा भर्खर ट्य्राक खुलेको बाटोमा धुलो उडाउँदै प्राथमिक विद्यालय पढाउन जान्छन् । उनी विद्यालयतिर लागेपछि हामी गाउँकै अर्का हेडसर दलबहादुर कुसारीसँग गाउँ डुल्यौं । दलबहादुर सरको घरको कथा पनि उस्तै । छोरा भाई भतिज ज्वाई सबै अमेरिका ।
अमेरिका जानेहरूको परिवारले गाउँ छोड्ने चलन पनि नौलो हैन रहेछ ।
दलबहादुर सरकै विद्यालयमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ रे ।
अमेरिका जाने अक्करे बाटोको महिनौं लाग्ने कहाली लाग्दा कथा सुनाउनेहरु भेटिन्छन् । बाफिकोट झुलाका सिताराम केसी छिन्खेतमा भेटिए ।
सुन्दर स्यार्पुतालमा नेपाने गाउँको छायाँ देखिन्छ । यो पनि घरैपिच्छे अमेरिका जानेको गाउँको । कमला बोहोराका जेठा छोरा रूपक अमेरिका जाँदा जाँदै बाटोमै बिते । दाइको सपना पुरा गर्छु भन्दै दाइ बितेको ३ महिनामै भाइ पनि लागे तल्लो बाटो अमेरिका ।
