EP136 Story of Nepal Railway

रेलमा मान्छे भेटिन्छन् । मान्छेसँगै कथा । मान्छेका कथा अनि रेलको कथा । 

 

रेलको कथा

 

मान्छे भएनन् भने यो रेल यी स्टेशन कस्तो हुँदो हो !

भिडभाड, ठेलम्ठेल र हल्लाखल्ला रेलयात्राका सुन्दरता हुन् । 

 

खचाखच मुसाफिर बोकेर रातो र निलो रङगको सुन्दर रेलगाडीले जनकपुरधाम हल्ट छाड्छ । अनि दुइ देशका भुगोलका सिमारेखाहरु पार गर्दै दिनमा ३ पटक ओहोरदोहोर गर्छ । 

 

कोही अस्पतालमा विरामी बुबा भेटेर आएका, कोही आमा भेट्न माइती हिँडेका, कोही दिल्लीबाट आएकी हजुरआमालाई लिन हिँडेका, कोही खत्यार्खुत्र्क किनमेल गर्न हिँडेका, कोही सिराहा हिँडेका, कोही घुम्न हिँडेका, कोही उपचार गराउन हिँडेका, कोही व्यापार गर्न हिँडेका ।  

 

‍‍===

जनकपुरदेखि जयनगरको बिचमा सबैभन्दा गुलजार स्टेशन – खजुरी । रेलगाडी यहाँ रोकिएपछि पानी र प्याजी बेच्नेहरुको आवाजले स्टेशन गुन्जिन्छ । त्यहि भिडमा पानी बेचिरहेका आमा-छोरी सुशिला र राधा भेटिन्छन् । 

 

रेलसँगै खजुरी स्टेशनमा केही बेरको लागि बहार आउँछ । सुशिला र राधाहरुको लागि जिविकाको सानो उपहार आउँछ । 

 

रेल हिँडेपछि पानी र प्याजी बेच्नेहरु लाखापाखा लाग्छन् । हेर्दाहेर्दै रेल स्टेशन चकमन्न हुन्छ । 

 

स्टेशन बाहिरको वर्षौं पुरानो खाजा पसलमा चाहिँ चहलपहल देखिन्छ । 

 

‍‍‍===

 

जनकपुुर-जयनगरको बाटोमा रेलको झ्यालबाट टोलाइरहँदा कुहिरोमा लुटपुटिएका दायाँबायाँका बस्ती, फाँट र खोला-खोल्सी मात्र देखिँदैनन् – खजुरी स्टेशन छेवैको महुवा गाउँ देखिन्छ । त्यो गाउँमा देखिन्छन् सानो नातीसँग रमाइरहेका रफिद कवारी । 

खासमा रफिद अहिले भन्दा पहिले प्रष्टसँग देखिन्थे – जब देहातका परपरका गाउँसम्म सुनिने गरी रेलले तीखो सिठ्ठी फुक्थ्यो । धुवाँको मुस्लो फाल्थ्यो । कोइला दन्काएर छुकछुक गुड्ने रेलको डाइभर सिटमा हुन्थे रफिद  कवारी । 

 

रफिदका बाजे पनि रेलका डाइभर, बुबा पनि रेलका डाइभर । 

 

आफूले हाँक्ने गरेको रेलको इन्जिन छेउ लागेपछि रफिद पनि छेउ लागेका छन् । संक्रमणको एउटा संघातमा हराएका रफिद आजकल घर आउने पाहनाहरुलाई फ्रेमभित्र कैद गरिएको सम्झना देखाउँछन् । 

 

===

 

खजुरीमा रेल बनाउने ठूलो वर्कशप थियो, कामदारहरु धेरै थिए, विश्वकर्मा पूजामा रमाइलो हुन्थ्यो, फुटबल र भलिबलको म्याच हुन्थ्यो, अनुभवको इन्जिनियरिङले खारिएकाहरु इँगल्यान्ड र नेदरल्यान्ड्समा बनेका स्टिम इन्जिनका पाट पूर्जा खोलखाल पार्थे, नट बोल्ट समेत यहिँ बन्थ्यो –  यी कुराहरु त अब केवल धनपत ठाकुरको दिलमा – सम्झनाका रिलमा मात्र छन् । 

 

खिया लागेका पुराना इन्जिनहरु यसै मिल्काइएको छ । भत्केका भित्तामा लेउ लागेका छन् अनि धनपत हरु छेउ लागेका छन्  ।

 

—– 

 

१९९४ सालमा ब्रिटिश शासित भारतमा नेपालका काठ ओसार्न सुरु गरिएको रेलले बिस्तारै मान्छे बोक्न थाल्यो । रेलगाडीलाई कहिले स्टिम इन्जिनले ताने, कहिले डिजेल इन्जिनले । ७१ सालमा बन्द भएको रेलसेवा, नयाँ ‘ब्रोड गेज’ ट्रयाकसहित ७८ सालमा नयाँ रुपरङ लिएर फेरि सुरु भयो । 

 

यतिखेर रेलको प्रविधि पुरै फेरियो । हवाइजहाजका ककपिट जस्ता डिजिटल ड्यासबोर्ड भएका रेलगाडी आए, ट्रयाकमा गुड्ने गाडीका नियन्त्रण कम्प्युटरले गर्न थाल्यो । अनि पाखा लागे पुराना जमानाका रफिद र धनपतहरु । जमानामा रेल कुदाउने र रेल बनाउनेहरु आजकल पटरी सम्याइरहेका भेटिन्छन् ।

 

खल्तीमा रेल चालकको परिचयपत्र बोकेर रफिद कवारी बैदही स्टेशनको एउटा रजिस्टरमा रेल आएको र गएको समय टिपिरहन्छन् । 

 

अबकाश हुन ११ महिना मात्र बाँकि छ । रफिदलाई एक पटक मात्र भए पनि फेरि रेल कुदाउने धोको छ । 

 

‍‍==

 

रेलका डाइबरहरु सबै भारतीय छन् । हिजो साँझ उनीहरु अन्तिम स्टेशन बिजलपुरा आएर बसेका । 

 

विहानै कुहिरो छिचोल्दै बिजलपुराबाट  रेलगाडी गुड्न थाल्छ ।

 

====

 

नन्दकिशोर राय पहिले रेल गुड्ने ट्रयाकसम्बन्धी काम गर्थे । आजकल उनी रेलमा डिजेल हाल्ने काम गर्छन् ।  

 

==

कुर्था स्टेशनमा दिनमा दुई पटक मात्र रेल आइपुग्छ । विहान पहिलो लटमा अनि राति बास बस्न जाने बेलामा । दिनभरि चाहिँ जनकपुरसम्म मात्र आएर त्यहिँबाट फर्किन्छ । 

 

कल्पना मिश्र ३ वर्षअघिसम्म निजि विद्यालयकी मास्टर थिइन् । अहिले यो स्टेशनको मास्टर । जनकपुरबाट आइरहेको रेललाई बाटो लगाइदेपछि उनको आजको जागिर सकिन्छ । 

 

-===

 

रेलको आजको ड्युटी लगभग सकियो । 

 

रेल मान्छे हुँदो हो त थाक्यो होला । एउटै बाटो दिनमा ३ पटक ओहोरदोहोर गर्दा पट्यार लाग्यो होला । दिनभरि भेटिने यतिधेरै मान्छेका कथा सुन्दा सुन्दा रेलको मन ढुङ्गा भइसक्यो होला । 

 

थाकेको रेल बिस्तारै अँध्यारोमा बिलायो । केही बेरमा बिजलपुरा पुगेर रेल मिठो निद्रा सुत्नेछ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *