EP 135 The Land Beyond the Clouds

यो मेघालय हो । अर्थात् बादलको घर । 

 

उदयपुरका भिमबहादुर मगर कुनै दिन बादलजस्तै उडेर पुगेका थिए मेघालय – कोइला खानीका सुरुङमा सुख खोज्दै । 

 

१० वर्षअघि यहाँका कोइला खानीहरु बन्द भएपछि त्यहाँ काम गर्ने नेपालीहरु सनैसनै लाखापाखा लागे । कोही नेपाल फर्किए । 

 

जिन्दगीको यात्रामा यतै छुटेका नेपालीहरु अझै पनि मेघालयका फुस्रा डाँडाकाँडा रुङेर बसेका भेटिन्छन् । 

 

बादल पारिको देशमा

 

संसारको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर चिनिएको चेरापुन्जीमा पानीकै दुःख छ । कहिलेकाहिँ पानी लिन तल रिङ्से खोला नै पुग्नुपर्छ । 

 

हिउँदको चिसोमा कठ्याङ्ग्रिरहेको यो धुमिल पहाडमाथि खर र टिनले छाएका  १०-१२ झुपडी छन् । यही हो नेपालीको बस्ति । ठाउँको नाम – नौथुमाइ अर्थात् नयाँ बस्ति । 

 

नयाँ बस्तिमा पुराना कथाहरु छन् । दुःखेका कथाहरु, छुटेका कथाहरु अनि बिर्सिएका कथाहरु । कोही यतै जन्मेका, कोही आमाबुबाको पछि लाएर आएका । कोही – मन नभएर नेपाल नफर्केका, कोही धन नभएर नफर्केका । 

 

प्रशासनको आँखा छलेर अझै पनि कतैकतै कोइला खोस्रिने काम हुन्छ । केही दिन अघि कोइला खन्दा भिमबहादुर घाइते भए । 

 

खासी हिल भनेर चिनिने यो भेगमा खासी आदिवासी धेरै छन् । खासीहरुका कोइलाखानीमा काम गर्ने चाहिँ नेपाली । कोइलाले वर्षौंदेखि सम्बन्ध जोडिदिएको छ । कोइला खानीका सुरुङमा कति नेपालीहरुको खासीहरुसँग मन साटियो अनि मायाप्रिति गाँसियो । नजिकै लाइरुङ गाउँसँग यो नेपाली बस्तीले भाषा, रितिरिवाज र वैवाहिक सम्बन्धहरु साटेको छ । 

 

भारतका ट्राइबल कानुनहरुले सुरक्षित गरेका यी भेगहरुमा बाहिरी मान्छेहरु घर घडेर किनेर बस्न पाउँदैनन् । कुनै समय लाइरुङ गाउँका हेडम्यान अर्थात गाउँ बुडाले यो डाँडोमा नेपालीहरुलाई बस्न दिएका रे ! बस्तिमा अझै पनि विजुली पुगेको छैन । 

 

माया मगरलाई छरछिमेकहरु काइँली आमा भनेर बोलाउँछन् । बालखैमा आमाबुबा गुमाएर एक्लीएकी काइँली आमा बुढेसकालमा पनि एक्लो छिन् । 

 

खासीहरु मातृवंशीय  हुन् । अर्थात् छोरीले बिहे गरेर घरमा ज्वाइँ भित्यार्उने । छोराहरुलाई बिहे गरेर अर्कैको घर पठाइदिने । छोराछोरीले आमाको थर लिने ।अनि बाउआमाको सम्पत्तीमा कान्छी छोरीको हक लाग्ने । 

 यहाँका नेपालीहरु यो चलनसँग सजिलै भिजेका छन् । 

 

ओखलढुङ्गाका भिमबहादुर मारापाचे पनि सुखै खोज्न मेची तरेर आइपुगेका थिए मेघालय । कोइलाखानीमै उनले खोटाङबाट आएकी जीवनसङ्गिनी भेटे । जीवन यतै यतै बित्यो, यसै यसै बित्यो ।

 

भिमबहादुरको नेपाल सम्बन्ध चटक्क छुटेको पनि छैन । यहाँ चटक्क छाडेर नेपाल जान पनि सकेका छैनन् । एकातिर जन्मभूमिले बोलाउँछ, अर्कातिर कर्मभूमिले बाँधेको छ ।  दुई मन छन् भिमबहादूर । 

 

 

बिरामी परेका भिमबहादुरलाई भेट्न साँझपख माथि लाइरङ गाउँबाट एरमिङ्टन बुसान आइपुगेका छन् । एरमिङटनको बोलाउने नाम ‘पालित’ हो । 

 

कोइलाखानीका अवशेषमाथिको यो अस्थायी ठेगानामा फेरि अर्को विहान घाम झुल्कन्छ । हरेक सूर्योदयले यो बस्तिमा लिएर आउँछ अर्को दिनको भोक, तिर्खा र संघर्ष । 

झुल्केघामसँगै कोइला ओसार्न जान लागेकी छोरीको चुँडिएको चप्पल गाँस्न खोज्दैछिन् कुमारी मगर । 

 

दूर नेपालबाट झम्के साँझमा अचानक पुगेका हामीले काइँली आमाको शान्त मनमा ढुङ्गा हानेछौं कि क्या हो । रातभरि काइँली आमाले के के सोचिन् । भोलिपल्ट विहानै हामी छेउ आइन् र वर्षौंअघि नेपाल गएर सम्पर्कविहीन भएकी छोरीलाई सम्झिइन् । 

 

हामी पालितसँगै नजिकैको लाइरुङ गाउँतिर उकालो लाग्यौं । खासीहरुको बस्ती । 

 

ट्रेल नामरुङको कोइलाखानीमा थुप्रो नेपालीहरु काम गर्न आउँथे । सानैदेखि नेपालीसँग उठबसले उनलाई प्रष्ट नेपाली बोल्न आउँछ । 

 

यहाँबाट १० किलोमिटर जति टाढा अर्को खासी गाउँमा भेटिए शुकबहादुर राई । नेपाली बोल्न पनि लगभग बिर्सिसकेका राईसँग विगतका असाध्यै धमिला सम्झना मात्र छन् । 

 

शुकबहादुरको ठूलो परिवार यो भेगकै सबैभन्दा शिक्षित परिवार रहेछ । शुकबहादुरले नै ‘पढ्नुपर्छ’ भनी सबै छोराछोरीलाई स्कुल पठाएका रे । 

 

मेघालयका पहाडहरुमा भेटेका – छुटेका र बिर्सिएका कथाहरुलाई त्यतै छाडेर हामी विदा भयौं ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *