परिश्रम गर्नेको पिठो पनि बिक्छ

लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो ।

“लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ”

लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै भए पनि आफूले उत्पादन गरेका सामान वोकेर बजार चाहारिन् । घरघर पुगिन् ।

विनाले घरेलु उद्योग संचालन गरेको धेरै भएको छैन, ७४ फागुनबाट हो । यिनको साथमा  १८ सय रुपैंया थियो । त्यही रकमले एकमन मकै र २० किलो कोदो किनेर ल्याइन् । धोइपखाली गरेर सुकाइन् । मिलमा गएर कुटेर ल्याइन् र घरमै प्याकेजिङ गरेर बजार पुर्याइन् ।

१८ सयबाट सुरु गरेकी यिनले अहिले मासिक ८, १० लाखको कारोवार गर्छिन् । तीन जना महिला ज्यालादारी कामदार समेत राखेकी छन् । ‘खर्च सर्च कटाएर मासिक ४०,५० हजार आम्दानि भइरहेको छ’, उनले सगौरव सुनाइन् ।

एस.के.डी.फुड्स झापा सप्लायर्स नामको कम्पनी दर्ता गरेर लेवलिङसहित उनी उत्पादित सामग्री बजारमा विक्री गर्छिन् । अर्ग्यानिक फापर, कोदो, मकै, सिस्नोको धुलो, टिमुर, तोरीको तेल झापाका धेरैजसो सपिङ कम्प्लेक्समा विक्री हुन्छन् ।

‘झापाको बजारमा मागको २५ प्रतिशत मात्रै उत्पादन दिन सकेकी छु’, उनी भन्छिन्,‘एउटा मात्रै मेसिन छ, कुटानी पिसानीमा समस्या हुन्छ ।’ 

इलामको दानाबारी, रोङ गाउँपालिका, मोरङको मधुमल्ला, पाँचथर, भोजपुर, झापाकै गरामनी, हल्दिबारी, सालमारा लगायतका ठाउँबाट कच्चा पदार्थ ल्याएर उनी फापर र कोदाको पिठो, तोरीको तेल, सिस्नोको ढुटो, बेसार, तिलको छोप, टिमुर लगायतका सामग्री तयार पार्छिन् ।

जनशक्ति, लगानी र समयको अभावका कारण माग  बमोजिमको सामान  पुर्याउन नसकेको उनी बताउँछिन् ।

२०६३ सालमा समिर दाससंग विहे गरिन् । एउटा छोरा छ । २०७३ चैतमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि विनालाई जीवन निर्वाह गर्न गाह्रो भयो । अनि घरेलु उद्योग संचालनको योजना वुनिन् । 

छोरालाई अटिजम रोग लागेको छ । २४ सै घन्टा छोराकै साथमा बस्नु पर्ने वाध्यता छ । यसका वावजुद पनि उनले हरेश खाइनन् । निरन्तर मेहनत गरिन् । उद्योगमा दिनरात आफैं खट्छिन् । अन्न सुकाउने, धुने र पिस्ने सम्मको काममा आफैं अगाडि वढ्छिन् । भविष्यमा उद्योगलाई अलि वृहत ढंगले अघि वढाउने विना योजना छ । तर, पूँजि भने छैन । ‘सरकारले ऋण सहयोग गरे पनि उद्योगलाई बढाउन सक्ने थिएँ । सरकारले म जस्ता एकल महिलालाई उद्यम गर्न अनुदान पनि दिन्छ रे भन्नु सुनेकी छु, तर कसरी पाउने थाहा छैन ।’

भिडियो – विना दाहालको कर्मको कथा

Leave a Comment

Your email address will not be published. Required fields are marked *