घरजस्तै घर

आज लकडाउनको भएकाे पनि दुई महिना कटिसकेको छ। हाम्रो कलेज त अझ १५ दिन अगाडि देखि नै छुट्टी भएको थियो।सुरुका दिनहरुमा त सामाजिक सञ्जालमा लेखिएका भ्रामक कुराहरुले निकै चिन्तित र ग्रसित भएका थियौँ। त्यसैले यो गरौँ, त्यो गरौँ भन्ने लागेकै थिएन, कसरी चाहिँ दिन कटाउने होला भन्ने मात्रै हुन्थ्यो। तर लकडाउनको तीन–चार दिनपछि भने हामी सबैले छुट्टै दैनिकी नै बनायौँ।

बिहान अबेरसम्म सुत्ने म, सबैजना बिहान ६ बजेदेखि योग गर्ने भन्ने सल्लाह पछि सबेरै उठ्न थालेँ। पहिले कलेजको व्यस्तताका कारणले पनि होला, मामुलाई घरायसी काममा त्यति सहयोग गर्न पाउँदिन थिएँ। तर अचेल भने मामुलाई निकै आनन्द छ। बिहान कान्छी छोरीले (मैले) भान्सा सम्हाल्ने, राति जेठी छोरी (दिज्जुले) हा! हा!

समय अनुकुल नभएकाले कत्ति कुराहरु पूरा गर्नै पाएकी थिइनँ। शनिबार एकदिनकाे छुट्टी त के गर्ने भनेर सोचेरै बित्थ्यो।कोर्सका किताब पढ्नु पर्ने हुँदा बाहिरी किताब पढ्न समय नै दिन सकेकी थिइनँ। कति पुस्तकहरु किनेर दराजमा थन्क्याउने काम मात्र हुन्थ्यो। नजिकबाट हिँड्दा पनि पुस्तकहरुले– ‘के हो! एक पल्ट पल्टाउँदिनस् त हामीलाई’ भनेर जिस्काउँछन् कि झैँ लाग्थ्यो। तर अहिले भने मन लागेका सबै पुस्तकहरु पढ्ने समय पाएकी छु। कृष्ण धरावासीद्वारा लिखित “झोला“ कथा र गुरुप्रसाद मैनालीको “नासो“ कथाको अडियो बुक पनि बनाएकी छु भने अहिले एउटा कथाको अडियो बुक बनाउने तरखरमा छु ।

दिउँसोको खाजा खाने समयमा एक गेम लुडो र क्यारम बोर्ड अनिवार्य जत्तिकै भैसकेको छ। सुरु–सुरुमा भाइ सानै छ, जिताइदिऔँ न भनेर खेल्थ्यौँ। तर अहिले भने उसले साँच्चिकै सबैलाई हराइदिन्छ। मलाई सदा झैँ अहिले पनि दिनको सबैभन्दा मन पर्ने समय साँझ हो। साँझमा सबै छिमेकीहरु छत–छतमा योग गर्ने, कुद्ने, नाच्ने आदि गरेको देख्दा वातावरण नै छुट्टै रमाइलो लाग्छ। सबैले स्वास्थ्यप्रति गरेको विशेष जोड दिएकाे देखेर लकडाउनले राम्रो काम गरेझैँ लाग्छ। साँझमा सधैँ एकछिन साङ्गितिक माहोल बन्छ। भाइ कर्ड मिलाउँदै गितार बजाउँछ भने बाबा चाहिँ यसो थिचेझैँ गरि सबै गीतमा उही पारामा बजाउँदै गाउनु हुन्छ।

लकडाउनले झन् हामी एकअर्कासँग बढी समय घुलमिल हुन पाएका छौँ। पहिले बेलुकी खाना खाइसकेपछि सबै आ–आफ्ना कोठामा गइहाल्थ्यौँ। तर अहिले भने खाना खाइसकेपछि बाबाले आफ्ना बाल्यकालका सम्झनाहरु र गाउँमा हुने विभिन्न रमाइला र दुखद् घटना सुनाउँदा सबैजना चाख मानेर सुन्छौँ। अब त कहिले, कसले, के गर्दा, के भएको थियो भन्ने कुरा पनि कण्ठस्थ भइसक्यो। लक डाउनको आजको दिनसम्म बाबा र मामुको विवाहसम्मको कहानी सुन्यौँ। यसरी नै मेरा दिनहरु बितिरहेका छन्। यस समयमा म आफूलाई सकेसम्म व्यस्त बनाउन खोजिरहेकी छु ।

स्मृति घिमिरे

भक्तपुर

‘तारा’ र मेरी हजुरआमा

विश्वका अधिकांश मुलुकले कोभिड-१९ सॅंग जुध्दनु परेको छ। धेरै मुलुकले यस महामारीको फैलावटलाई न्युन राख्न आफूलाई लकडाउनमा राखेका छन्। हामी नेपाली पनि यस महामारीबाट कहाॅं बच्न सक्छौॅं र? कर्म अनुसारको फल भने जस्तै आज विश्वलाई वातावरणले ठूलो चुनौती दिएको छ। त्यसको स्वरूप हो कोभिड-१९ र यसबाट बच्न अरू मुलुकले जस्तै नेपालले पनि आफूलाई लकडाउनमा राखेको लगभग दुई महिना भइसक्यो। 

लकडाउनको यस समयलाई कसैले आफूलाई कृषिमा व्यस्त राख्नु भएको छ भने कसैले सामाजिक कल्याणकारी कार्य गर्दै आउनु भएको छ। त्यस्तै म एक विद्यार्थी भएका कारणले मैले यस लकडाउनमा आफूलाई विभिन्न काममा व्यस्थ राखेकी छु। लकडाउनका सुरूका दिनमा त मलाई पूरा स्कुलको समयको एक महिने लामो दशै-तिहार बिदा भएको अनुभूति भइरहेको थियो। त्यस ताका मैले खाने, फिल्म हेर्ने, नयाॅं-नयाॅं परिकार पकाउने, सुत्ने यस्तै कार्यमा व्यस्त थिए। लकडाउनको समय जब बढ्दै जान थाल्यो तब संक्रमितको संख्या पनि बढ्दै जान थाल्यो। यस्तो समाचारले मेरो मनमा भय उत्पन्न गरेको थियो।मस्तिष्कमा नकरात्मक सोच बढी आउन थालेका थिए। जस्तै: म पनि यस कोभिड-१९ को संक्रमित हुन्छु कि भन्ने कुराले डर, त्रास उत्पन्न भएको थियो।

समयसॅंग लड्न आफूलाई बढी सिर्जनशील, सकरात्मक राख्नुपर्छ भने ज्ञान ममा बढ्दै गयो। मैले त्यसपछि आफूसॅंग रहेको चित्रकलाको सिपमाथि अझै निखार ल्याउन भगवानहरूको, वातावरणको चित्रहरू धेरै कोरेँ। त्यसै समयमा मैले नेपाली र विदेशी लेखकका क्रमश:”सेतो धर्ती”र “भेरोनिका डिसाइडस टु डाइ” यी दुईवटा पुस्तक पनि पढेँ। त्यस मध्य मलाई सबै भन्दा धेरै मन छोएको पुस्तक अमर न्यौपानेको “सेतो धर्ती” हाे।यस लकडाउनमा अध्ययन गरेको पुस्तक “सेतो धर्ती” मलाई आज सम्म पढेका पुस्तक भन्दा पृथक लाग्यो। यस पुस्तकमा हाम्रो नेपाली समाजमा अझै पनि रहि रहेको बालिववाह र त्यसको नमिठो स्वरूप बालविधवाको दुख, कष्ट र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण प्रति चर्चा गरिएको छ।

यस पुस्तकका हरेक लाइनमा मैले यस पात्रकी बालविधवा तारालाई नियाल्दा मेरी हजुरआमालाई सम्झिरहे। मेरी हजुरआमा पनि सानै उमेरमा विधवा हुनुभएको रे। मेरी हजुरआमाले त्यस समयको सामाजिक कुप्रथालाई सहेर पनि आफ्ना सन्तानहरु, मेरा बुबा,काका ,फूपूलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनु भएको छ। यस पुस्तकको माध्यमबाट मैले मेरी हजुरआमाको दुख, कष्ट र संघर्षलाई अझै नजिकबाट बुझ्ने अवसर पाएकोमा धेरै खुशी लागेको छ। मेरो मनमा यस पुस्तकले गर्दा मेरी हजुरआमा प्रति अझै सम्मान बढेर आएको छ।

कोभिड-१९ यस मानव समुदाय माझबाट कहिले जान्छ भने कुरा अनिश्चित छ र हाम्रो नेपालमा लकडाउन पनि कहिले सम्म हुने हो , कुनै ठेगान भएन। तर कोभिड-१९ जस्तो महामारीबाट बच्न हामीले लकडाउनलाई पूर्ण रूपमा पालना गर्नु बाहेक अरू कुनै उपाय छैन। तर कहिले सम्म भन्ने प्रश्न हामी सबै माझ उठेकाे छ। स्वास्थ्य क्षेत्रका पूर्वाघारको विकास पर्याप्त नभएकाले हामी सजग भएर लकडाउनलाई पूर्ण पालना गरौॅं, आफू पनि बचौॅं र अरूलाई पनि बचाऊॅं। 

सुनिता पौडेल

कपन,काठमाडौॅं

एक गेम हान्दिम न त !

आफ्नै घरको छतमा म एक्लै बसेर आकाशका तारा नियालिरहेको छु, मनसँग मनका कुरा खेलाइरहेको छु। दिन पनि कस्तो आएका हुन्, घर भित्रै कुहिएर बस्न पर्ने। यो लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पनि पाएको छैन, बजार गएर मम, चाउमिन, पिज्जा जस्ता मन पर्ने परिकार खान पनि पाएको छैन । छेउ मै रहेको गोठिकाँडाको डाँडा घुम्न जाने सपना पनि सपनै भयो। ल्यादेंको डाँडा मा कति कति बेला गाडीका हेडलाइटका उज्याला देख्छु। घर अगाडिकै बाटोमा फाट्ट फुट्ट कुँदेका बाइक र ट्याक्टर देख्छु। दुई चार जना पैदल यात्री पनि देख्छु।

हावा पनि कति मिठो लागिरहेको छ, दिमागमा पनि के मात्रै फुर्न सकेको होला यही बेला। तर जे भए पनि एक्लै बसेर मनमा कुरा खेलाउनु र कहानी बुन्नुको मज्जा पनि बेग्लै छ। पहिला हिमान्सु भाइ हुन्थ्यो, उसँग थुप्रै कुरामा बहस हुन्थ्याे। आजभोलि एक्लै छु बहसमा पुग्ने कुरो त भएन, तर आन्तरिक द्वन्द्वमा रमाउन पुग्छु।

हातमा पुरानो सामसुङ मोबाइल छ, एउटा साथीले याे मोबाइललाई ड्राइ पिकनिक मोबाइल निकनेम दिएको छ। किन दियो त्यो उसैलाई थाहा होला, तर मलाई त्यो निकनेम एकदमै मन पर्यो। त्यसैले गर्दा म अहिले मेरो सामसुङ मोबाइललाई ड्राइ पिकनिक मोबाइल भनेर बोलाउने गर्छु। मोबाइलको वालपेपरमा आफ्नो ऊ बेलाको हिरो फोटो राखेको छु। हातले वरिपरि हल्लाउँदा फोटो पनि नाच्ने गर्छ। मलाई आफू झनै चम्किलो भए झै लाग्छ। १५-२० थरीका एप्लिकेसन छन्, तिनीहरुमध्य मैले चलाएको ८-९ वटा मात्रै होलान्। यिनी ८-९ वटा मध्य पनि अझ मैले धेरै हेर्ने भनेको मेसेन्जर र फेसबुक पर्यो।

फेसबुक खोले सिमाना लगायत अन्य कुराहरुको बबाल द्वन्द चलिरहेको थियो। त्यतिकैमा मेसेन्जरमा एउटा ग्रुप बनेको मेसज आयो। कुनै रमाइलो अर्थात सूचना सम्प्रेषण गर्ने मेसेज होला भनेको त लुडो ग्रुप परेछ। मेसेज पनि `ओए इन्भाइट गर,´ `को को हान्ने हो एक लट´ यस्ता यस्ता थियो। यो लकडाउन पछि म ५ ओटा ग्रुपमा सहभागी भैसके, सबैको काम लुडो खेल्ने नै थियो।

एउटा साथीले इन्भाइट गर्यो, मैले पनि प्लेमा क्लिक्क गरेँ। लुडो ओपन हुन लाग्यो। स्वागतको डाइलगले नै म प्रभावित भएँ `just kill and chill´। अरु ठाउँमा मारेपछि जेल गइन्छ, केस लाग्छ तर यसमा मारेपछि चिल भइन्छ। एउटा ठाउँ रहेछ जहाँ मार्नु पनि उपलब्धि हो। म जोइन भएँ। गेम सुरु भयो। ६ ओटा थोप्ला भएको गोटी आएपछि घरबाट गोटि निक्लिने रहेछ। खेल चलिरहेकाे थियो। मैले एउटा साथीलाई नमारी जीवन बक्स दिएँ। तर बदलामा उसले मेरो राउन्ड हानी घर भित्र छिर्न लागेको गोटि उडाइदियो। मन कटक्क खायो, जो साथीलाई आफ्नै सोचेर यस्तो जीवन दान दिएको थिएँ, त्यसले नै मलाई मार्यो। यो संसारमा कसैको बिश्वास हुदैन रहेछ भन्ने कुरा सिकायो। म कच्चा खेलाडी जित्ने कुरा त भएन। तर फाेर्थ आउँदा पनि म दंग परेँ।

अरु भन्दा लुडो खेल मलाई एकदम ठिक लाग्यो। यसमा हारे पनि डाहा नलाग्ने, जिते पनि अर्को गेममा उडिन्छ कि भनि मन बुझाउन सकिने। जित्ने हार्नेलाई एउटै सोचको लेवलमा लिने। लुडो खेल मन पर्याे मलाई। कुन गोटि उडाउने त्यो गोटि उडाउँदा आफूलाई के फाइदा जस्ता कुरा सिकाउने भएकाले यो एउटा राजनीतिक दार्शनिक खेल पनि हो जस्तै लाग्याे। अब मनोरञ्जनको त कुरै छोडौं, काटिदा पनि मनोरञ्जन काट्दा पनि मनोरञ्जन।

फुटबल भएको भए चौरमा गएर खेल्दा पुलिस आएर कुट्लान, कोरोना सर्ला भन्ने डर हुन्थ्यो। तर लुडो खेलमा त्यो डर पनि देखिन। उता कोरोना लागेर मर्नै आँटे पनि यता सर्ने छैन। आत्मियता पनि कति धेरै हुने रहेछ। अझ विशेष लुडो खेल्दा खेल्दा च्याट पनि गरेर ‘ओए यस्को चेक बस´,dont kill´, `well played´´ जस्ता कुरा भन्दा अनि अरुले भनेको पढ्दा पनि रमाइलो हुने रहेछ। यो खेलमा को कति खेर उल्टिन्छ पत्तो नहुने, मिलेर खेल्लान् भन्ने चान्स पनि कम, आखिर सबैलाई जित्नै पर्ने हुन्छ, त्यसैले पाए सम्म काट्ने गर्छन्। यो कुराले यो खेललाई अझ बढी सुन्दरता दिएको छ।

फुटबलमा रोनाल्डो र मेस्सीको नाममा झगडा परेको, बोलिचाली बन्द भएको, फेसबुकका भित्ताहरु रंगिएको, कति पटक लफडा नै भएको दखेको छु। तर लुडोमा त्यस्तो हुन्न। जित्ने मान्छेले ‘दिमाग लगाउनु पर्छ, दिमागकाे खेल हाे’ भनेर जितको महसुस गर्नसक्ने भयो। हारेको मान्छेले ‘भाग्यको खेल हो, गोटि के पर्छ पर्छ, लेखेको कुरा हुन्छ लुडोमा देखेको हुँदैन’ भनेर आत्मशान्ति गर्न सक्ने भयो। अब आफै सोचौं जित्दा र हार्दा पनि कमजोर महसुस हुन नदिने, साथी साथी बिच झगडा पनि नहुने यो खेल कति शान्त र शालीन छ।

जे होस्, यो लकडाउन र लुडो खेलले एक अर्कालाई साथ दिएर, आम मानिसहरुको समय सजिलै कटाइदिएकाे छ। अब यस्तो शान्ति प्रेमी, भातृत्व विकास गर्ने लुडो खेललाई सरकारले पनि बुझेर आगामी ओलम्पिकमा समावेश गरोस्। हरेक गाउँ गाउँ, स्कुल स्कुलमा एक लुडो अफिस बनोस्। यो लुडो हाम्रो लकडाउन संस्कृति भएकाले यसकाे ऐतिहासिक महत्व पनि एक दिन हुने नै छ। एकदिन सबै आमसमुदाय, राजनीतिकर्मी, ठालुहरुले लुडोको महिमालाई बुझ्दै यसको संरक्षणमा नीति नियम निर्माण गर्ने छन् भन्ने मैले आशा राखेको छु।

साँझ पर्यो। छतबाट ओर्लिन लागेको थिएँ, मेसेज आयो “ओए एक गेम हान्दिम् न त” मैले पनि रिप्लाई दिए “इन्भाइट गर”!!!

लाेकेन्द्र न्याैपाने

कालिकाेट