लकडाउन कि लभडाउन

आज म घर आएको ५७ दिन हो। कलेज पढ्न काठमाडौँ छिरेदेखिको मेरो सबैभन्दा लामो घरबसाइ हो यो। कोरोनाको असर दिनदिनै चुलीचुली हुँदैछ। स्थिति अस्सनिस्स छ।

पढाइको चक्कर, जागिरको रुटिन अनि साथीहरुको रमझममा भुल्ने मेरा दिनरातहरु अचेल घरकै यात्रु हुन पुगेका छन्। लकडाउनको सुरुवातमा यति लामो बसाइ होला भनेर सायदै कसैले सोचेको थियो। पाल्पाको कुनै क्याफेमा साथीहरु बसेर गफिरहेका थियौं ‘१५-२० दिन त होला’ मेरो प्रिय साथी सुरेश हेर्दै हँसिलो र हिस्स परेको छ। रित्तिदै गरेको बियरको ग्लास ओठमा च्याप्दै हाँस्दै उसले मलाई हेरेर भनेको थियो “बिजोग होला जस्तो छ यार!”

जब १० क्लास सकेर कलेजमा प्लस टु सुरु गरे ,दिनहरु यस्ता पनि थिए, म मेरा स्कुलका साथीहरुलाई खुब सम्झिन्थे। आज दिउँसो मोबाइलमै डाटा प्रयोग गरेर साथीहरुसँग बोलियो। तुल्सिपुर हाम्रो घरबाट नजिकै छ। अक्सर मान्छेहरुको भिड त्यहाँ देखिदैन। मैले ड्याडि मम्मीलाई सम्झाइरहन्छु, “यो महामारीको सुरुवात मात्र हो है” मम्मीले बेला बेला झर्को मान्दै भन्नुहुन्छ, “खानु त पर्यो नि केटा” मैले हरबार एउटै उत्तर दिन्छु “बाँच्नु त पर्यो नि मम्मी!”

हाम्रो घरमा सानो तिनो कस्मेटिक पसल र फलफूल पसल छ। केही दिन अघिसम्म सामाजिक दुरी कायम गरि सामानहरु बेच्थ्यौं, अहिले त्यो पनि बन्द छ। घरमा चारवटा बाख्रा छन्। बाख्रा चराउन जाँदा सानोमा साथीहरुसँग खेलेको लुकामारी याद आउँछ। ती गाउँले साथीहरु अहिले पनि भैंसी, गाइ-गोरु वा बाख्राहरु वरिपरि चराइरहेका हुन्छन्। मनलाग्दा लाग्दै म एउटा वाक्य मुखमै रोक्छु “केटा हो लुकामारी खेलौन”। हजुरबुवाले भन्नुहुन्थ्यो “रहरलाई केहीले रोक्दैन नाति।” हजुरबुवा अहिले ज्युँदै भएको भए म भन्थे “उमेरले रोक्दोरहेछ बा”

तर लकडाउनको यो सन्नाटामा हाम्रो पारिवारिक समय भने बढो सुनौलो हुँदै छ। मेरी बहिनीको ८ क्लासको नतिजा अस्ति भर्खर आयो। हामी सबै खुसी भयौ। म उसका गतिविधिहरु नजिकैबाट नियाल्न पाइरहेको छु। म उसलाई पढ्पढ् भनेर किचकिच गर्दिन र मम्मी ड्याडिलाई पनि सम्झाइरहन्छु। विश्व मानसिकता नै धुलाम्मे भएको बेला बच्चाहरुलाई दबाब दिराख्न सायद त्यति उचित पनि हुदैन। मैले उसलाई टिभि हेर्दैगर्दा डिस्कोभरी र जियोग्राफि च्यानल हेर्न सल्लाह दिन्छु। उसलाई योगा खुब मन पर्छ , मेरो ढिला उठ्ने बानी उसलाई मन पर्दैन। हरेक बिहान “दाइ दाइ “भन्न पुगिहाल्छे अनि उक्साउँछे “दाइ म तपाईलाई योगा सिकाउँछु।” 

घरपछाडि सानो बारी छ। दिनको एकफेर सकेसम्म म बारीमा छिर्छु र केही समय त्यतै बिताउँछु। मेरो ड्याडिलाई अचेल कौसी खेतीमा खुबै रुचि बढेको छ। लकडाउनको समयमा फाटेका बोराहरु, पेन्टका भाडाहरु प्रयोग गरि हामीले भिंडी, खुर्सानी र धनियाँहरु लगाएका छाैं।

लकडाउन अघिको रमझम सम्झेर म बेला बेला घोरिन्छु। मम्मीले मलाई देखेर भन्नुहुन्छ “लकडाउन त छोरालाई लभडाउन भएजस्तो छ”  म मुस्कुराउँछु मात्र।

हरेक दिन खाना खाएपछि हामी १-३ घण्टा केही खेल्छौ। कलब्रेक मलाई‌ मनपर्ने र आउने तासको खेल हो।अस्ति २-३ घण्टा लगाएर घरमा सबैलाई यो खेल सिकाए। दिक्क लाग्दा रमाइलोको लागि परिवार बसेर तास, लुडो, ब्याडमिन्टन, टेनिस, फुटबलजस्ता खेल खेल्दा रमाइलो पनि  हुने, समय पनि सजिलै बित्ने।मैंले आज दिउसो परिवारलाई होममेड मिन्ट लेमोनेड बनाएर चखाए।  मम्मीलाई एक ग्लास दिएपछि मम्मीको प्रतिक्रिया थियो “लेमाेनेड भन्या त पुदिनाको झोल त रहेछ” म मुस्कुराएँ।

लकडाउनको बेला कम्युनिकेसन ग्याप सबैको हुन्छ अझ अनिश्चित लकडाउन।मम्मीले मेरो अनुहार धमिलो हुने बितिकै चोरलाई पुलिसले समाते जसरी समाइ हाल्नुहुन्छ। मैले यस्तो अनिश्चित समयमा केही स्मार्ट तरिकाहरु प्रयोग गरिरहेको छु जस्तै धेरै लेख्ने, फोन च्याटमा समय मिलाएर बोल्ने, एकअर्कालाई निरुत्साहित हुनबाट बचाउने। फेसबुक र इन्स्टाग्राम सँगै लिङ्कडिन र टि्वटर चलाउन सुझाव दिन्छु।

आज बिहानै उनले मेसेज गरिन् “फोन बिग्रिएर राम्ररी टाइप गर्न पनि गाह्राे भइराछ ” मैंले फ्लर्टि रिप्लाइ दिए “मन चाहिँ बचाइ राख, अरु जेजे बिग्रिए पनि मिलेर सम्हालाैंला!” उनले मायाले सङ्गालेर एउटा शब्द मात्र उत्तरमा पठाइन् “आलु”

म हरदिन लकडाउन कति बढ्ला भनेर आत्तिन छोडिसकेको छु। बरु हरेक दिन विशेष कसरी बनाउने सोच्दै छु। हिजो बेलुका बहिनीले भनेकि थिइ “दाइ भोलि बेलुका तपाईंले सयचोटि डोरी खेल्नु पर्छ है”

अब म किप्याडबाट आँखा हटाएर स्टोर रुममा स्किपिङ डोरी खोज्न जान्छु।

Profile Image

सुरज आखिर 

दाङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *