‘पागल’सित मलाई प्रेम जो छ!

 “विना कोसेली रित्तै हात आउँछ मेरो दिन

विना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन”

भैरव अर्याल “हुरीको पतकर” कविताका यी हरफले केही दिन अघि मलाई झल्याँस्स बिउँझाए। कोसेली त धेरै बोकेर आउँथे मेरा दिनहरु। कानूनका किताबहरु, साहित्यका किताबहरु, मेरो ‘अन्लाईन कक्षा’,  संगीत र धेरै फुर्सदिलो समय बोकेर आएका मेरा दिनहरुलाई मैले रित्तो हात र निस्तो मुख नै पठाइदिन्थेँ।

घरभन्दा डेढ घण्टा पर भएको मेरो कलेज आउजाउ गरिरहन पर्दा मलाई केही गर्ने फुर्सद हुँदैथ्यो। मैले मेरा कलेजका साथी बाहेक अरु साथीहरूसँगको सम्पर्क बन्द गरिसकेको थिएँ। मैले मेरो कविता, साहित्य, संगीतप्रतिको लगाव सबै बिर्सिन आँटिसकेको थिएँ। अर्यालका दुई हरफले मलाई एक्कासी केही ठूलो घटनाले मन्छेलाई बिउँझाउने जसरी नै बिउँझाए। 

मैले पुनः संगीत सिक्न थालेँ। केही दिनमै म “किबोर्ड”मा ४/५ ओटा नयाँ गीत र केही “कर्ड्स” बजाउन जान्ने भएकी छु। बजाउँदा बजाउँदै मिलेन भने झनक्क रिस उठ्छ। तर नयाँ सिकाइहरुका क्रममा रिस-नियन्त्रण र धैर्य पनि सिकुँ भन्ने सोचेको छु। सकेसम्म आफूलाई सम्झाइहाल्छु। छिमेकीले बिहानै हारमोनियम बजाउँदै राग गाउँदा, त्यस्तै राम्रो गाउन पाए कस्तो हुन्थ्यो होला भनेर सोच्ने गर्छु। औँलाहरू किबोर्डमा बिहान-बेलुका अलिक बढी नै रमाउन थालेकाे पाउँछु।  

६ महिना अघिबाट सिक्न थालेको स्प्यानिस भाषा केही दिन सिक्ने, फेरि केही दिन चटक्कै छोड्ने गरिरहेकी थिएँ। यो बिदाले फेरि मलाई स्प्यानिस भाषा सिक्ने समय दिएको छ। एउटा शब्द पनि नजान्ने म अहिले एउटा नयाँ भाषामा धेरै वाक्य बनाउन सक्ने भएकी छु। आफैसित अलिअलि वार्तालाप गर्न सक्ने भएकी छु। 

मेरा सबै भन्दा प्यारो मित्र देवकोटा पनि मैले माया मारेँ अरे भनेर रिसाएका रहेछन्, धेरै समयदेखि। देवकोटालाई फेरि मैले फकाएरै छोडेँ। “पागल”सित मलाई प्रेम जो छ।  मसँग ठुस्केर बसेका भूपी शेरचन र मलाई व्यङ्ग्य हान्न ठिक्क परेका भैरव अर्याललाई पनि मैले फकाएरै छाडेँ। “मैनबत्तीका शिखा” हरूले केही रात उजेलिए। केही दिन “भुँडी”का “जय” नि सुनिए। मैले यो “लकडाउन”मा ‘रामलाल जोशी’, ‘शारदा शर्मा’, ‘निलम कार्की निहारिका’ जस्ता धेरै साथी बनाइसकेँ। यो लकडाउन पछि त म मेरा साथीहरूले इशारा मात्र गरेपनि भेट्नेछु भन्ने सोचेको छु। “जय भोलि” भन्दै समयसित फेरि समय माग्न थाल्छु कि भन्ने डर पनि छँदैछ।

धेरै समयपछि डायरीमा लेख्न थालेको भएर होला, मनमा अनेकन कुरा खेलिरहे पनि अक्षरले कोर्न र पानामा पोख्न भने सजिलैसँग सकेकी छैन। मनभित्रका बादल बर्सिहाल्न नसकेपनि यो लकडाउनमा आकाश धेरै दिन निर्धक्क बर्षियो। आकाश त्यसरी दिनहुँ भक्कान्निएर रुँदा पनि मेरो मन भने यसपाली किन हो कहिल्यै रोएन। आकाश जति रुन्छ,  माटोमा त्यतिनै आशाका त्यान्द्राहरु देख्छु। माटोमा अल्झिएका आशाका त्यान्द्राहरुले मलाई पनि जिन्दगीप्रति एक मुठी आशा दिएर जान्छन्। आखिर जिन्दगीलाई चाहिने पनि यहीँ झिनु आशा त रहेछ नि है? झरिपछिको आकाशको रंग कत्ति मिठो हुन्छ नि! 

Profile Image

स्मृति खनाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *