श्रमजिवीको कथा – मजदुर दिवसको दिन थियो, बेलुकीको खाना खाएर एकछिन आराम गर्नु पर्यो भनेर बेडमा गए। टेबलबाट मोबाईल तानेर खोले। वी-च्याटमा कसैको म्यासेज आएको छ की भनेर चेक गरे, नयाँ म्यासेज आएको थिएन। मोमेन्ट बक्समा गए, साथीहरूले पोष्ट गरेका स्टाटस, फोटो र भिडियोहरू हेरे। वी-च्याटमा धेरै जसो चाइनिज साथीहरू भएकाले उनीहरूले राखेका स्टाटस र भिडियोहरू धेरै जसो बुझिन। किनकी मेरो चाइनिज भाषा त्यति राम्रो छैन। यसरी नबुझिने सामग्रीहरू धेरै भएर होला वी-च्याट हेर्न झ्याउ लाग्यो र बन्द गरे। त्यसपछि भिपिएन कनेक्ट गरे र युटुबको एप्समा गएर नयाँ भिडियोहरू मोबाईलको स्क्रिनमा स्क्रोल गर्न थाले। यसै क्रममा मेरो आँखा विध्या दिदिले भर्खरै अपलोड गर्नु भएको हेर्ने कथाको नयाँ इपिसोड, भाग ५ ‘बाटोको कथा’ नामक भिडियोमा गयो। सामान्यतय म विध्या दिदिले चलाउनु भएका कार्यक्रमहरू नछुटाइकन हेर्ने गर्छु।
विध्या दिदिको कार्यक्रम प्रस्तुत गर्ने शैलिबाट म एकदमै प्रभावित छु। एकताका ‘दिशा निर्देश’ कार्यक्रम प्रस्तुत गर्नुहुने आदरणिय दाई बिजयकुमार पाण्डेको कार्यक्रम प्रस्तुत गर्ने तरिका, अतिथिहरूसँग बोल्ने शैली र व्यक्तित्वबाट एकदमै प्रभावित थिए र अझै पनि छु। बिबिसीद्वारा सञ्चालित ‘साझा सवाल’ नामक कार्यक्रमबाट प्रस्तोताको रूपमा उदाउनु भएकी र हाल भर्खरैबाट आफ्नै उत्पादनमा ‘हेर्ने कथा’ नामक कार्यक्रम सञ्चालन गरिरहनु भएकी दिदि विध्याको बोल्ने, कथा भन्ने र विषयवस्तु र परिस्थितिको संवेदनशिलता बुझ्ने शैलीले मलाई तानिरहेको छ। उहाँका हरेक कार्यक्रमहरूमा विषयवस्तुहरूलाई मिहिन ढङ्गले गहन रूपमा सबैले बुझ्ने सरल तरिकाले प्रस्तुत गरिएका हुन्छन्। यो नै उहाँको कार्यक्रममा भएको मुख्य विशेषता र पृथकता हो जस्तो लाग्छ।
भिडियो अन गरे, भिडियो करिब २६ मिनेट जतिको रहेछ। झट्ट हेर्दा भिडियोको शिर्षक बाल किताबहरूमा पाईने लोक कथाका शिर्षक जस्तो देखिएकोले यो भिडियो हेर्नलाई एकदमै कौतुहलता जागेर आयो। यस भिडियोमा दाङ तुल्सीपुर नगरपालिका अन्तर्गत पर्ने साततल्ले खमारी भन्ने ठाउँको एक निम्न वर्गका ७२ बर्षीय चन्द्रवीर ओलीको परिवारको कथा समेटिएको रहेछ। युवा अवस्थाको हुदाँ काम खोज्ने सिलसिलामा छिमेकी मुलुक भारत छिरेर दुई दशक भन्दा लामो समय उतै बिताइ उमेर ढल्किदै गएको अवस्थामा आफ्नो गाउँ फर्की आफु भन्दा आधै उमेर कान्छी एक दृष्टिबिहिन युवतीसँग बिबाह गरेर जीवन निर्वाह गरिरहेका ११ जना परिवार, जस मध्ये ९ जना दृष्टिविहिनहरूको कथालाई प्रस्तुत गरिएको थियो।
नेपालमा गाउँले जिवन; ठाउँ र समुदाय अनुसार केहि फरक पाइएता पनि जिउने शैली र सोचमा सामान्यतय सामानता पाईन्छ। तर यहाँ वृध्द अवस्थाका चन्द्रवीरको परिवारमा भने अलिक फरक कथा पाउन सकिन्छ। सुरूमा भिडियो हेर्न थाल्दा सामान्य लागेको थियो। तर भिडियो हेर्दै जादाँ एउटा जटिल पारिवारिक अवस्थालाई चिर्दै अगडी बढेका वृध्द चन्द्रवीरको कथा विध्या दिदिले जसरी गहन तर अत्यन्तै सरल ढङ्गले बगाउन थाल्नु भएको थियो, त्यो बगाइसँगै कुन बेला म आफु पनि कथासँगै बग्न थाले भेउ नै पाउन सकिन। अर्को तरिकाले भन्दा कथामा भएका बृध्द चन्द्रवीरलाई प्रतिस्थापन गरि म आफै चन्द्रवीर बनिसकेको रहेछु र चन्द्रवीरले गर्ने प्रत्येक क्रियाकलापमा म आफुलाई देखिरहेको थिए।
भौगोलिक विकटता, आर्थिक विपन्नता त्यहि माथि जिवन सङ्गिनी सहित अधिकांश सन्तानहरू दृष्टिविहिन हुदाँहुदै पनि कति पनि नडग्मगाइ, हरेस नखाई, धृण आत्म विस्वासका साथ जति पनि दुख र पिडाका पहाडहरू पन्छाइ परिवारको सुगमता, सहजता र सुखको लागि आफ्नो सम्पुर्ण जिवन समर्पण गरिरहेका चन्द्रवीर साँझ-बिहान, घाम-पानी केहिको पर्वाह नगरि अहोरात्र खटेरा आफ्नो परिवार हिड्नलाई बाटो खनिरहे। यसरी एकहोरो बीच जङ्गलबाट बाटो खनिरहदा अनेक बाधा, अड्चनहरू आए, गाउँलेहरूले कुरा काटे, कहिले बन फडानी गर्यो भनेर पक्राउ परे, त कहिले बिरामी परे तर कहिलै हरेस खाएनन्।
उनले न कसैलाई सहयोग मागे, न त राखे सहयोगको आशा नै। कसैको सहयोग बिनै आखिर बाटो खनिछाडे। पहिले रूखका बुट्यान, झाडी र साघुँरो बाटोका भित्ताहरू समाउदै हिडिरहेका दृष्टिविहिन परिवारलाई गाउँसम्म जोडिने चौडा बाटो खोलि छाडे। उनले बाटो मात्रै खोलेनन्, सबै भन्दा ठुलो कुरा उनलाई पहिले नपत्याएका, कुरा काट्ने दुनियाको आँखाको पर्दा पनि खोलिदिए। यसरी झट्ट हेर्दा कुनै बनिबनाउ काल्पनिक चलचित्रको कहानी जस्तो लाग्ने चन्द्रवीरको पारिवारिक कथा, मात्र कोरा काल्पनिक चलचित्रको कथा नभएर कुनै दुर्गम गाउँमा असामान्य जिवन जिइरहेको एउटा निम्न वर्गिय परिवारको दर्दनीय वास्तविक कथा थियो। यसरी चन्द्रवीरका ऐठानीला परिस्थिति र आदम्य साहसहरूले कति चोटी म टुटेँ, कति चोटी रोकिए, हेर्दा हेर्दै कहिले सोच मग्न बने त कहिले साहसी बने र गर्भले छाती फुलाए।
चन्द्रवीरको जिवन, भारतको बिहारमा जन्मिएका दशरथ माझीले एक्लै बाटो बनाउनका लागि पहाड फोड्न गरेको सङ्घर्ष भन्दा कम छैन। त्यसैले विध्या दिदिले चन्द्रवीरको कथा भनिरहदा तथा बीच बीचमा उनीसँग जिवनका अन्तरङ्गहरू कोट्याई रहदाँ तिनै दशरथ माझीको जिवनमा आधारित नवाजुद्दीन सिद्दीकी द्वारा अभिनित बलिउड बायोपिक फिल्म ‘माझी- द माउन्टेन मैन’ को झल्झलि याद आइरह्यो। न कुनै लोप, न कुनै पाप, न कुनै गुनासो, न त कुनै आसा नै। सिर्फ परिवारको लागि बाटो खनिरहे। अनेक दुख र अभावका बीच खनिएको बाटोमा दृष्टिविहिन परिवार निर्धक्क रूपमा हिडेको देख्दा, त्यस्तै गाउँ छरछिमेक साथै यातायातका साधन गाडी, भेन र मोटर साइकलहरू निर्बाध ढङ्गले हिडेको, गुडेको देख्दा सबै दुखहरू भुल्छन्, अनि त्यसैमा रमाउछन्।
यता देशका नेतृत्व वर्ग तथा उपल्ला वर्गहरू भने देश विकासका नाममा अनेक तिक्डम होहल्ला गर्छन्। विकासका नाममा छुट्टाइएका रकमको दुरपयोग गर्न प्रतिस्पर्धा गर्छन्। उनीहरूलाई के थाहा दुर दराजका गाउँले जनताहरूको कथा, ब्यथा र समस्याहरू। मात्र कागजी स्रेस्तामा विकास गर्न पल्किएकाहरू आफ्नो स्वार्थ पुरा गर्न मै मस्त छन्। यसको ठिक विपरित चन्द्रवीर जस्ता पात्रहरू नेपालका हरेक दुर्गम बस्तीहरूमा आफ्नो हाड्डी घोटिरहेका छन्, हत्केलाका रेखीहरू मेटाइरहेका छन्। उनीहरूलाई सरकार के हो भन्ने सम्म थाहा छैन। बाटो, घाटो, पुल, पुलेसो, विध्यालय, शिक्षा, स्वास्थ्य जस्ता कुराहरूमा सरकारले अनुदान दिन्छ भन्ने कुराको जानकारी त परै जाओस। यी कुराहरू आफ्नै बरबुदा र मेहनतले मात्र आउछन् भन्ने छाप बसेको छ उनीहरूमा। त्यहि भएर उनीहरू सकुञ्जेल पसिना बगाउछन्, मेहनत गर्छन्। ताकी सहर बजारमा जस्तो आफ्नो आगन बनाउनलाई पनि सरकारी ढुकुटीको बाटो ताक्छन्।
चन्द्रवीरको बाहिरी आवरणबाटै उ भित्रका दुख, पिडा र दरिद्रता छर्लङ्ग देखिन्थ्यो। यद्यपी विध्या दिदिले उनको जिवन सङ्घर्षका अप्ठ्यारिला तिता पाटाहरू सोधिरहनु हुदाँ, कति पनि मनमा दुख नदेखाइ ढुङ्गा माटोसँग पैठाजोरी खेल्दा खेल्दै ध्वाजा फाटेका हत्केलाहरूले कुराको हाउभाउ देखाउदै हाँसिलो मुहारमा गाउँले लवाजमा जवाफहरू फर्काइरहेका थिए। कहिले आफ्नो अर्धाङ्गिनी तिर हेर्दै त कहिले आफ्ना सन्तानहरू तिर हेर्दै समयको बसन्त हरेक बर्ष पत्रिएसँगै बाक्लिदै गएका निधार तथा गालाका रेखाहरू हातले सुम्सुमाउदै अनुभवका पत्रहरू उप्क्याउदै थिए। लाग्थ्यो कि उनलाई केहि भएको छैन, उसको जिवन राजकिय सुखशैयल ढङ्गले वितिरहेको छ जस्तो। जिवनमा खुसी भएकाहरूको गणना गर्ने हो भने सबै भन्दा पहिलो उनकै नाम लिदा फरक नपर्ने खालको उसको प्रस्तुति थियो।
कुराकानी कै क्रममा उनी थप्दै थिए, “खुसी पाइन्न, खुसी हुनुपर्छ।” यसो सोच्दा हो पनि, खुसी साँच्चै खोजेर पाइने चीज होइन। यदि खुसी खोजेर पाइने थियो भने त्यतिका सम्भ्रान्त परिवारहरूमा किन बिखण्डन आउथ्यो होला र? खुसी खोज्ने नाउँमा पैसाको खोला बगाएका उदाहरणहरू धेरै भेटिन्छन्। तथापि खुसी भेटियो भन्ने उत्तर अहिले सम्म सुन्न पाईएको छैन। भलै चन्द्रवीर औठा छाप छन्। तर उनले बोलेका यी कुराहरू अनुभवबाट माझिएर आएका छन् र अकाट्य जस्तै लाग्छन्।
खुसी मान्छेको मनसँग सम्बन्धित कुरा हो। त्यसैले खुसी हुनाका लागि ठुला ठुला कुरा र भौतिक सम्पत्तिले मात्र पाईने होइन। साना साना कुराहरूबाटै खुसी पाउन सकिन्छ भन्ने सन्देश चन्द्रवीरको जिवनबाट पाउन सकिन्छ। त्यस्तै जिउन दुख हुदैमा मनमा दुख हुने होइन र सुखी जिवन जिउदैमा मनमा खुसी मिल्ने पनि होइन। यसको ज्वालन्त उदाहरण चन्द्रवीरलाई नै लिन सकिन्छ। उनको परिवार एक त सङ्ख्याको हिसाबले ठुलो परिवार हो। अर्को तर्फ कान्छो छोरो बाहेक आफ्नो धर्म पत्नी सहित सबै परिवारका सदस्यहरू दृष्टिविहिन छन्। कसैको आम्दनी छैन। साँझ बिहान छाक टार्न मै धौधौ पर्छ। घर धन्दा सहित खेतीपाती, गाईबस्तु सबै आफैले हेर्नु पर्छ। त्यहि माथि परिवारका सदस्यहरू हिड्ने बाटो पनि आफै खन्दैछन् ।
हेर्दा लाग्छ की दुखका पहाड जति सबै चन्द्रवीर माथि खनिएका छन्। सामान्यतय यस्तो जिवन मान्छेहरूले कल्पना गर्दैनन्। तर उनीसँग अर्को बिकल्प पनि त छैन। उनले यही आफ्नो जिवन सहर्ष स्वीकारेका छन् र त्यही जिवन भित्र हरदम खुसी खोजिरहेका छन्। उनी एक कुशल सिल्पकार जस्तै लाग्छन्, जसको हातमा एउटा फगत गोलो ढुङ्गा पाउदाँ पनि त्यस ढुङ्गालाई सुन्दर मुर्ति बनाउन उद्धत हुन्छ। उनले आफ्नो जिवनको रफ्तर एकनासले हुइकाइरहेका छन्, मानौ की थकान भन्ने शब्द उनको शब्दकोशमा नै छैन। त्यसैले होला साना तिना समस्या, थकान र अवरोधहरूमा उनी रोकिएनन्, रोकिएका छैनन् र टुटेका छैनन्। अझ धृण विश्वासका साथ भन्छन् मृत्यू पर्यन्त मात्र आराम लिन्छु। लाग्छ की उनी धातुबाट निर्मित मेसिन हुन्, जुन आफ्नो समय अवधि रहुन्जेल अनवरत रूपमा काम गरिरहन्छ। उनका यी साहसीला कुराहरू सुनिरहदा उनको सम्मानमा यो शीर झुकाइरहन मन लाग्छ। यसरी मजदुर दिवसको दिन चन्द्रवीर जस्ता कर्मठसिल श्रम जिवी किसान मजदुरको कथा सुन्न र हेर्न पाउदाँ मन प्रफुल्लित बनाईरह्यो तर सँगसँगै चन्द्रवीरको कथाको भाव र दृष्यहरूले मन मस्तिष्कलाई नराम्ररी गिजोलिरहेको थियो। जे भएपनि दुर दराजमा दिन-रात, घाम-पानी केही नभनि अहोरात्र श्रम गरिरहने वास्तविक एक साहसी श्रमजिवि किसानको कथा हेर्न पाउने अवसर जुटाइ दिनु हुने विध्या दिदि र उहाँको टीमलाई नमन गर्न चाहान्छु।
सहर बजारमा मजदुर दिवसका दिन विभिन्न ब्यानर सहित मजदुरहरूको हक अधिकारको बारेमा ठुल्ठुला स्वरमा र्याली निकाल्छन्, कार्यक्रम गर्छन्। विभिन्न राजनैतिक पार्टीसँग आबध्द मजदुर सङ्घ सङ्गठनका व्यक्तिहरूले अनेकौ भाषण गर्छन्। यस्ता गतिबिधीहरूले शक्ति, भक्ति र पहुँच वाला मजदुरहरूको जिवनमा बहार त ल्याउला तर वास्तविक श्रमिक मजदुरहरूको पिडा भने जहिको त्यही हुन्छ। यसरी एक थरी मजदुरहरूले आफ्नो तलब सुबिधा, बीमा, भत्ता देखि लिएर आवास सुबिधा सम्मका कुराहरू गरिरहदा दुर दराजका चन्द्रवीरहरूलाई मजदुर दिवस न थाहा छ, न त श्रमिक मजदुरहरूको हक अधिकार कै कुरा। जे भए पनि सरकारले अब सहर बजारका मजदुरहरूका मात्र कुरा नसुनेर सबै गाउँ बस्तीहरूमा रहेका श्रमिक किसान मजदुरहरूको आवाज पनि सुन्न सकोस। ढिलाइ भए पनि सम्पुर्ण श्रमिक किसान मजदुर दाजुभाई दिदिबहीनीहरूमा मजदुर दिवसको हार्दिक शुभकामना।
जय राई (लोहोरूङ) चीनको साङ्घाईस्थित तोङ्जी विश्वविद्यालयमा राजनीतिक दर्शनमा विद्यावारिधि गर्दैछन् । नेपालमा उनको ठेगाना खाँदबारी नगरपालिक ४ पाङ्मा, सङ्खुवासभा हो ।
2 Responses
Sarai ramro lagyo bidya Didi hajurko you kam pani best of luck Didi
Thank you very much to all the entire team. Journalist 🙏🏻🙏🏻