आर. जे. उमेश

जिन्दगीले पनि नसोचिकन अनौठो कोल्टे फेर्छ। सानै देखि एउटा असल अनि कुशल सञ्चारकर्मी हुने धोको यो मनको कुनामा खोपिएको थियो। आफ्नो लगाव र मेहनतले एस एल सि दिएको ३ महिने छुट्टीमा म सञ्चार माध्यममा काम गर्ने भैसकेको थिए। ११-१२ पत्रकारिता पढ्दै काम गर्दै गरेँ। रमाइलो थियो त्यो पल जब घरको जिम्मेवारी म माथि थिएन। तर जब जब पढाइ र उमेर उकालो लाग्दै गयो, तब  म प्रतिको परिवारको आश पलाउँदै गयो। अनि म झसङ्ग भए। अब मेरो सपनाले मेरो जिम्मेवारी पूरा नगर्ने भयो।

मैले बाेल्ने त्यो माइक, मेरा औलाले चलाउन मन पराउने ती फेडर र मेरा कानले हर दिन आनन्दसँग सुन्न खोज्ने त्यो हेडफोन र सबै भन्दा प्यारा अनि प्रिय मेरा श्रोताहरुसँगको सुमधुर सम्बन्ध तोडेर, घर भन्दा पर नबसेको म परिवार छोडेर आँसुका ढिक्का झार्दै कहिले कल्पना नगरेको भारतको नयाँ दिल्ली प्रस्थान हुनु पर्यो। अहिले बिश्वमा फैलिएको महामारीको कारण न काम छ न परिवार, कोठामा बस्दा अनौठो कुरा मनमा खेलाउँदा, परिवार सम्झिदा अनि बिगत सम्झिदा आँखाबाट आँसु बग्छन्। फेरि पनि मन भुलाउन हेर्ने कथा हेर्छु र लाग्छ म भन्दा धेरै दुखी पनि छन् अनि चित्त बुझाउँछु। साँच्चै सोचे जस्तो नहुने रहेछ जीवन। मन बुझाउनु र परिस्थितिसँग अंकमाल गर्नु रहेछ जीवनमा।

म दिल्लीमा रहेको तिब्बती क्याम्पमा बस्छु।याे क्याम्प तिब्बती र नेपाली कलाले सजिएको छ। एक रुपले पर्यटकिय क्षेत्र पनि हाे।यसलाई नियाल्न र मनोरञ्जन लिन धेरै भारतीय र पर्यटकहरु आउने गर्छन। तर यो विषम परिस्थितिकाे कारण सधैँ चहलपहल र होहल्ला मच्चिने साघुँरो गल्ली पनि फराकिलो र सुनसान छन्। नजिकैको यमुना नदि शान्त र सुस्त आफ्नै गतिमा बगिरहेको छ। सधैँ ग्राहकलाई स्वागत गर्ने साना पसलहरु बन्द छन, पानीपुरी बेच्ने दाइ जहाँ सधै भिड लाग्थ्यो, त्यो ठाँउ पनि सुन्सान छ। हेर्दा लाग्छ साँच्चै त्यही ठाँउ नै हो कि होइन जस्तो!

चारकुनाको कोठामा बन्द रहेर सोच्न बाध्य हुन्छु, के अब दिनहरु फेरि फर्केलान? के उस्तै होलान् ? होलान् त कैले? के ती देखेका सपनाहरू पूरा होलान? के आफ्ना परिवार भेट्न र खुसी सात्न पाइएला त? ?? यसरी नै मनमा र दिमागमा अनेकौं प्रश्नका कुन्ठाहरु खेलाउँदै दिनहरु धिमा गतिमा पाइला चालिरहेका छन, फेरि उठ्ने कोसिस गरिरहेका छन्।

Profile Image

उमेश बस्याल

नयाँ दिल्ली

Leave a Comment

Your email address will not be published. Required fields are marked *